• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»कांग्रेसमा कोइराला परिवारको कमब्याक कति सम्भव ?
    Politics

    कांग्रेसमा कोइराला परिवारको कमब्याक कति सम्भव ?

    गौरव पोखरेलBy गौरव पोखरेलJuly 18, 2021Updated:January 29, 2022No Comments10 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वंश परम्परा धान्ने कोइराला परिवारको नालीबेली

    सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ । पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।

    कांग्रेसमा दुई तरिकाबाट नेतृत्व तय हुने गरेको छ, वंश परम्परा र वरिष्ठता । लामो समयसम्म कांग्रेसमा कोइराला वंश नेतृत्वमा रह्यो ।

    कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए । यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे ।

    सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले वरिष्ठताका आधारमा नेतृत्व गरे । सुवर्णसमशेरले दुई र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरे । भट्टराईले १९ वर्ष कार्यवाहक सभापति भएर पार्टी हाँके ।

    सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत फेरि फर्किएला कि नफर्किएला ? कांग्रेसभित्र यसबारे बहस हुँदै आएको छ ।

    इतिहासमै शर्मनाक चुनावी हार बेहोर्दै गर्दा वरिष्ठताका आधारमा आएको हालको नेतृत्वमाथि प्रश्नचिन्ह खडा भएको छ । र, धेरै नेता/कार्यकर्ताको नजर फेरि कोइराला वंश परम्परातिर सोझिन थालेको छ ।

    नजर कोइराला परिवारतिर

    वि.सं. २०१५ सालमा बीपी कोइराला र भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बायाँबाट क्रमशः तारिणी, ज्योति, सुरेश, निरञ्जन, शेखर, सुष्मा, प्रकाश र रोशा ।

    नेतृत्वका सम्भावित आकांक्षी तथा वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य बन्न नसकेपछि उनका लागि पनि कांग्रेसको नेतृत्व गर्नु सहज देखिँदैन । पौडेलमाथि प्रश्न उठेसँगै कतिपय कांग्रेस नेता कार्यकर्ताहरुको नजर कोइराला परिवारतिर पर्न खोजेको हो ।

    पार्टी राजनीतिमा सक्रिय रहेका डा. शेखर, सुजाता र महामन्त्री शशांक कोइरालातिर कतिपय नेता/कार्यकर्ताको नजर परेको पाइन्छ । डा. शेखर मोरङ-६ बाट पराजित भएका छन् । सुजाता समानुपातिकबाट सांसद बन्ने लाइनमा छिन् । डा. शशांक बहालवाला महामन्त्री पदमा कार्यरत छन् ।

    यी तीनै नेताहरु राजनीतिमा रहेको कोइराला परिवारका तेस्रो पुस्ताका हुन् । राणा शासनविरोधी आन्दोलनमा व्यापारिक पृष्ठभूमिका बावजुद कृष्णप्रसाद कोइरालाको योगदान थियो । र, उनीबाटै प्रेरणा पाएर मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका थिए ।

    केशवप्रसाद र तारिणीबाहेकका तीनैजना मुलुकको प्रधानमन्त्री पनि बने । हाल कांग्रेस राजनीतिमा रहेका डा. शेखर कृष्णप्रसाद कोइरालाका साइला पुत्र केशवप्रसादका कान्छा छोरा हुन् । गिरिजाप्रसादकी छोरी हुन्, सुजाता । विश्वेश्वरप्रसादका कान्छा छोरा हुन्, डा. शशांक ।

    तेस्रो पुस्ताः अधिकांश राजनीतिसँग नजिक

    कृष्णप्रसाद कोइरालाका दुई पत्नी थिए, मोहनकुमारी र दिव्या । दिव्यातर्फका सन्तान बढी राजनीतिमा देखिन्छन् । बीपी, केशवप्रसाद, तारिणी र गिरिजाप्रसाद दिव्यातर्फका छोराहरु हुन् ।

    विश्वेश्वरप्रसादका जेठा छोरा हुन्, प्रकाश । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी कांग्रेसको राजनीति हुँदै अहिले राष्ट्रवादी कांग्रेस पार्टी खोलेर त्यसको अध्यक्ष छन् । उनी ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा बनेको सरकारमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

    २०४६ सालको आन्दोलनमा पनि परिवर्तनविरोधी अभिव्यक्ति दिएका कारण प्रकाश कांग्रेस राजनीतिमा जम्न सकेनन् । ०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनप्रति पनि उनको विरोध रह्यो । उनी ज्ञानेन्द्रको मन्त्रिमण्डलमै सहभागी भए । अहिले प्रकाशको भूमिका असान्दर्भिक बन्न पुगेको छ ।

    विश्वेश्वरप्रसादका माइला पुत्र श्रीहर्ष कांग्रेस समर्थक भए पनि राजनीतिज्ञका रुपमा उनको चर्चा हुँदैन । राजनीतिमा उनको परिचय बीपी पुत्रका रुपमा मात्रै सीमित छ ।

    कान्छा छोरा शशांक कांग्रेस महामन्त्री हुन् । उनी आँखाका चिकित्सकसमेत हुन् । ०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि उनी पूर्णकालीन राजनीतिमा छन् । ०६४ र ०७० सालका संविधानसभा निर्वाचनमा उनी नवलपरासीबाट निर्वाचित भएका थिए । २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पनि उनी नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

    कांग्रेस नेता/कार्यकर्ताले भविष्यको कांग्रेसको नेतृत्व गर्ने व्यक्तिका रुपमा उनलाई हेरेको पाइन्छ । तथापि, पार्टीले बेहोरेको अहिलेको हारमा शेरबहादुर देउवालाई जति दोष दिने ठाउँ छ, पार्टीको जिम्मेवार तहमा रहेका शशांकमाथि पनि नैतिक प्रश्न उठेको छ ।

    सिन्धुलीको दुम्जास्थित कृष्णप्रसाद कोइरालाको पुख्यौली घर । तस्वीरः देवशंकर पौडेल

    केशवप्रसाद कोइराला कृष्णप्रसादका माइला छोरा हुन् । जीवनकालमा उनी राजनीतिक कम, पारिवारिक व्यवस्थापनमा बढी सक्रिय थिए । उनका जेठा छोरा निरञ्जनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी ०४८ सालतिर काका गिरिजाप्रसादसँग नजिक थिए । तर, त्यो निकटता धेरै समय टिकेन । पत्नी सन्तोषको ललितपुर भट्टेडाँडामा भएको विमान दुर्घटनामा निधन भएपछि उनी विरक्तिए र राजनीतिबाट टाढा हुन पुगे ।

    त्यसपछि निरञ्जनले भारतीय औद्योगिक घरानाकी इला डालमियासँग विवाह गरे । र, नयाँदिल्लीतिरै उनको बसोवास बढी हुने गरेको छ ।

    केशवप्रसादका कान्छा छोरा डा. शेखर कांग्रेसका केन्द्रीय सदस्य छन् । उनले चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसमेत भएका उनी विराटनगरलाई आधार बनाएर राजनीतिमा सक्रिय छन् । मोरङ-६ मा उनी एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका छन्, यसपालि ।

    विमलका माइला भाइ कमल कोइराला परिवारका एकमात्र त्यस्ता व्यक्तित्व हुन्, जसले ०११ साल अघिदेखि नै वामपन्थी राजनीति गरे

    कृष्णप्रसादका काइँला छोरा तथा बीपीका साइँला भाइ तारिणीप्रसाद कोइराला प्रजातान्त्रिक रेडियो नेपालका संस्थापक मानिन्थे । पञ्चायत कालमा उनी सञ्चारकर्मी र प्रेस व्यवसायीको भूमिकामा थिए । कोइराला परिवारको राजनीतिक यात्रामा उनको योगदान कमजोर छैन । उनै तारिणीका एक मात्र छोरा हुन्, ज्योति कोइराला ।

    तारिणीप्रसादकी पत्नी रोशाले पञ्चायती व्यवस्था कठिन समय र प्रजातान्त्रिक आन्दोलनका बेला कांग्रेस नेताहरुलाई गरेको सहयोग अतुलनीय रहेको बीपीको जेल जर्नल र आत्मवृत्तान्तमा उल्लेख छ । रोशा र ज्योतिको सहयोगकै कारण बीपी जेलबाट निस्किएको र चाबहिलस्थित उनीहरुको निवासमा बस्न थालेको जेल जर्नलमा उल्लेख छ ।

    लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका ज्योति काका गिरिजाप्रसादको व्यवहारका कारण विरक्तिए । ०४८ सालको आम निर्वाचनपछि गठित सरकारमा गिरिजाप्रसादका निकट सहयोगी रहेका उनी एकाएक पर धकेलिए र राजनीतिबाट गुमनामजस्तै बने ।

    शायद त्यही निराशाको कारण हुन सक्छ, संविधानसभाको पहिलो निर्वाचन अगाडि उनी मधेशी जनअधिकार फोरमसँग नजिकिए । तर, त्यहाँ पनि लामो समय बसेनन्, ०६५ सालमा पुनः कांग्रेसमा फर्किए । अहिले उनी कांग्रेसको क्रियाशील सदस्य छन् ।

    बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला चार पटकसम्म प्रधानमन्त्री बनेका थिए । उनका एक छोरा र एक छोरी छन् । छोरा सुरेश कोइराला छापाखाना व्यवसाय गर्थे । हृदयाघातका कारण उनको मृत्यु भइसकेको छ ।


    छोरी सुजाता अहिले कांग्रेसको केन्द्रीय सदस्य छिन् । उनी पूर्वउपप्रधान तथा पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । अहिले कांग्रेसको समानुपातिक सूचीमा रहेकी सुजाताले पनि पार्टीको नेतृत्व आफूले लिने बेलाबखत दाबी गर्दै आएकी छन् ।

    कृष्णप्रसादकी जेठी पत्नी मोहनकुमारीबाट जन्मिएका एक मात्र छोरा हुन्, मातृकाप्रसाद कोइराला । उनी नेपालका १८ औं प्रधानमन्त्रीसमेत बनेका थिए ।

    मातृकाका जेठा छोरा विमल कांग्रेसको मुलधारको राजनीतिमा नआए पनि नेपाल शिक्षक संघको नेतृत्व तहसम्म पुगेका थिए । उनको मधुमेह रोगका कारण निधन भइसकेको छ ।

    विमलका माइला भाइ कमल कोइराला परिवारका एकमात्र त्यस्ता व्यक्तित्व हुन्, जसले ०११ साल अघिदेखि नै वामपन्थी राजनीति गरे । उनी दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत हुन् । अहिले उनी नेकपा एमालेमा छन् ।

    एमालेकाे सक्रिय राजनीतिमा छउञ्जेल उनी सिद्धान्त र निष्ठाका कारण उदाहरणीय पात्रको रुपमा चिनिएका कमल अहिले बानेश्वरको थापागाउँमा बस्दै आएका छन् । उनी आत्मकथा लेख्दैछन् ।

    मात्रिकाका साइँला छोरा अजयले एमबीबीएस गरेका थिए । उनको निधन भइसकेको छ । भाइका बारेमा कमल कोइराला यसरी सम्झन्छन्- ‘अजय विराटनगरमा बसेको थियो । चिसो मौसम । बिहानै उठेर अखबर लिन जाने सोख थियो । त्यो समयमा राम्रो लुगा पनि लगाएको थिएन । कोल्डस्ट्रोक भएछ क्यारे ! घर आएर कफी बनाएर ल्याइदेउ भनेछ, काम गर्ने मान्छेलाई । खाने बेलामा मात्र उठाउनु भनेको थियो । तर, सुतेकै ठाउँमा मृत्यु भयो ।’

    मातृकाका काइँला छोरा विजय ललितपुरको ग्वार्कोमा बस्छन् । उनी पनि राजनीतिमा सक्रिय छैनन् । कान्छा सञ्जय नेपाल विद्यार्थी संघमा आवद्ध थिए । तर, मानसिक तनावका कारण आत्महत्या गरेको पारिवारिक स्रोत बताउँछ ।

    चौथो पुस्ताः राजनीतिबाट टाढा


    बीपीका जेठा छोरा प्रकाशका छोरा सिद्धार्थ र छोरी मनिषा दुईजना छन् । सिद्धार्थ सुनसरीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनले केही समय दिदीको सहयोगमा बलिउडमा समेत काम गरे तर त्यति जम्न सकेनन् । अनि, नेपालै फर्किएर सुनसरीलाई केन्द्र बनाई राजनीतिक यात्रा थालेका छन् ।

    उनकी दिदी मनिषा बलिउडमै रमाइरहेकी छन् । समय-समयमा उनी राजनीतिमा आउने चर्चासमेत चल्ने गर्छ । उनका निकटस्थहरु भने मनिषाको राजनीतिमा आउने सम्भावना नभएको बताउँछन् ।

    क्यान्सरको सफल उपचार गराएकी मनिषा पछिल्लो समय अक्सर धर्मकर्ममा बढी तल्लीन देखिन्छिन् । अहिले हरिद्वारस्थित धर्मगुरुको आश्रममा बढी समय बिताउने गर्छिन् । हिन्दी चलचित्र ‘सौदागर’ बाट बलिउड ‘डेब्यु’ गरेकी उनले दुई नेपाली चलचित्र ‘फेरि भेटौंला’ र ‘धर्मा’मा समेत अभिनय गरेकी छन् ।

    बीपीका माइला छोरा श्रीहर्ष-पुत्र श्रेयसले बेलायतबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनी अहिले राजधानीमा आफ्नै फाइनान्स कम्पनी चलाएर बसेका छन् । श्रेयसकी बहिनी आवन्तीले नयाँदिल्लीबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी अहिले बेलायतमा इन्टर्न गरिरहेकी छन् ।

    शशांक-पुत्री सुप्रिया दन्त रोग विशेषज्ञ हुन् । अहिले उनी अमेरिकामा काम गरिरहेकी छन् ।

    केशवप्रसादका जेठा छोरा निरञ्जनका दुई छोरा छन्, हिमांशु र भाष्कर हुन् । जेठा हिमांशुले भारतका उद्योगपति सुरिन्तर कपुरकी छोरी मन्दिरासँग विवाह गरेका छन् । उनी भारतमै उद्योग/व्यवसायमा जमेका छन् ।

    कान्छा छोरा भाष्कर भने कोइराला परिवारमा सबैभन्दा बढी शिक्षा आर्जन गरेको सदस्यका रुपमा चिनिन्छन् । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेका छन् ।

    पेकिङ विश्वविद्यालयबाट परराष्ट्र मामिलामा विद्यावारिधि गर्दैछन् । र, नेपाल इन्ष्टिच्यूट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिज नामक संस्था पनि चलाउँछन् ।

    उनी राजनीति र कूटनीतिक मामिलाका जानकार हुन् । राजनीतिशास्त्रका बिद्यार्थी भएकाले उनी राजनीतिमा आउने सम्भावना औंल्याइने गरेको छ । उनी आफैं भने राजनीतिमा आउने सम्भावना तत्कालै नभएको बताउँछन् ।

    ललितपुरको पुलचोक र काठमाडौंको ठमेलमा खोलेको दूधजन्य पेय पदार्थको पसलमा उनी बढी सक्रिय देखिन्छन्, आजकाल । तर, सभा, गोष्ठीमा भाग लिन भारत र चीन आउजाउ गरिरहन्छन् ।

    ‘अहिल्यै राजनीतिमा आउनेबारे त सोचेको छैन,’ उनी भन्छन्, ‘तर, अवसर पाएको खण्डमा राजनीति गर्न तयार छु । राजनीति नै गर्दिनँ भन्ने होइन ।’

    भाष्करका काका शेखरकी पुत्री नेहाले नयाँदिल्लीबाट स्नातकोत्तर गरेकी छन् । उनी अहिले काठमाडौंमै गैरसरकारी संस्थाका काममा व्यस्त छिन् ।

    तारिणीपुत्र ज्योतिका दुई छोरी छन्, मेघा र पूजा । जेठी मेघाले एमडी गरेकी छन् । उनी एनेस्थेसियोलोजिस्ट हुन् । र, त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन् । कान्छी छोरी पूजा सामाजिक कार्यमा सक्रिय छिन् । उनले एमबीएसम्म अध्ययन गरेकी छन् ।

    गिरिजाका नातिहरु अर्थात पुत्र सुरेशका दुई छोरा छन्, परितोष र अभिषेक । जेठा परितोषले भारतको जयपुरबाट इन्जिनियरिङ गरेका छन् । हाल उनी काठमाडौंमै छन् । कान्छो अभिषेकले अर्थशास्त्रमा स्नातक गरेका छन् ।

    सुरेशकी बहिनी सुजाता कोइराला हुन् । सुजाताकी छोरी मेलानीको बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाह भएको छ । छोरा एन्डि्रयास अहिले नेपाली नागरिक विवाह गरेर यहीँ बस्दै आएका छन् । उनी बाबु नोबर्ट जोस्टसँग भेट्न जर्मनी आउजाउ गरिरहन्छन् ।

    मातृकाप्रसादतिर जेठा छोरा विमलका दुई सन्तान छन् । जेठा विकासले भारतबाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेका छन् । उनी केही वर्षयता न्युजिल्यान्ड बस्दै आएका छन् । विमलको निधन भएपछि उनकी पत्नी पनि जेठा छोरा विकाससँगै न्युजिल्यान्ड बस्दै आएकी छन् । कान्छा आशिष काठमाडौं मैतिदेवीमा बस्छन् । उनको योगा, ध्यानलगायत क्षेत्रमा रुचि छ । उनी फोटोग्राफी व्यवसायमा समेत संलग्न थिए, एक समयमा ।

    विमलका माइला भाइ कमलका एक छोरा र एक छोरी छन् । छोरा कञ्चन चिकित्सक हुन् र अमेरिका बस्छन् । छोरी ऋचा अहिले बुवासँगै काठमाडौंमा छिन् ।

    मातृकाका साइँला भाइ अजयका एक मात्र छोरा हुन्, अमित कोइराला । उनी अहिले अमेरिकामा छन् । उनले स्टान्डर्ड चार्टर बैंकमा समेत काम गरेका थिए, केही समय ।

    काइँला विजयकी पुत्री हुन्, अंशुमाली, जो अमेरिकामा बस्छिन् । उनी कम्प्युटर इन्जिनियर हुन् । विमलका कान्छा भाइ सञ्जयका छोरा दिपंकर पनि अमेरिकामै छन् ।

    कसले थाम्ला कोइरालाको बिँडो ?


    दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंश परम्परा । भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, नेपालमा वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ ।

    कोइराला परिवारको चौथो पुस्ताका २१ सदस्यमध्ये तीनजनाको मात्र राजनीतिमा आउने सम्भावना अनलाइनखबरले गरेको अध्ययनबाट देखिएको छ । उनीहरु हुन्, प्रकाशका छोराछोरी मनिषा र सिद्धार्थ तथा निरञ्जनका कान्छा छोरा भाष्कर ।

    चौथो पुस्ताका अन्य सदस्य अधिकांश देशबाहिर देखिन्छन् । र, स्वदेशमा भएकाहरु पनि राजनीतिबाट टाढा छन् । मनिषाको राजनीतिक पदार्पण असम्भव रहेको बुझाइ बाक्लो देखिँदा सिद्धार्थ र भाष्करको मात्र सम्भावना देखिन्छ ।

    तेस्रो पुस्ताका सदस्य डा. शेखर, सुजाता र डा. शशांकले दुई पटकसम्म एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक गरेर कांग्रेसमा वंश परम्पराबाट नेतृत्व छानिने सम्भावना टाढा नभएको सन्देश दिइसकेका छन् ।

    केही समयअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा डा. शेखरले जनताले जसलाई रुचाउँछन्, उसैले कोइराला परिवारका तर्फबाट कांग्रेसको नेतृत्व गर्ने बताएका थिए । त्यसको अर्थ हो, महामन्त्री शशांकको सम्भावना ।

    शालीन, सभ्य र सुसंस्कृत व्यवहारका कारण उनी कांग्रेस कार्यकर्तामाझ लोकप्रिय पनि छन् । र, उनलाई चौथो पुस्ताबाट सिद्धार्थ र भाष्करको साथ रहने आकलन गर्न सकिन्छ । तेस्रो पुस्ताका डा. शेखर र सुजाता पनि सक्रिय राजनीतिमै छन् ।

    २०७४ पुष ५ गते २०:०० मा अनलाइनखबर डटकममा प्रकाशित

    कोइराला परिवार नेपाली कांग्रेस पपुलर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202559 Views

    Politics Behind The Bar

    August 17, 202258 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.