२६ मंसिर, मण्डनदेउपुर (काभ्रे) । मण्डनदेउपुर नगरपालिका–६, काभ्रेका विदुर ढकाल (५०) को मोबाइलमा गएको १३ मंसिरमा रुसबाट छोरा सिद्धार्थको अडियो म्यासेज आयो, ‘बुबा, म आजबाट उता वार (युद्ध) मा जाँदैछु, ८/१० दिन टावर हुँदैन । कुरा नहुन पनि सक्छ ।’
छोरा विदेश गएपछि किनेको एन्ड्रोइड फोन विदुरले राम्रोसँग चलाउन जान्दैनन् । ‘पल्लो घरका छोरीहरुलाई बोलाएर छोराले पठाएको म्यासेज सुनें’ उनी भन्छन्, ‘दुई तीन वटा अडियो रहेछ ।’
नजिकै रहेको स्कुलमा वाईफाई छ, उनी इन्टरनेट चलाउन त्यहीं जान्छन् । त्यही सुनेको अर्को अडियोमा सिद्धार्थले उनलाई आजभोलि सपना राम्रो नदेखेको बताउँदै आमालाई पूजा गर्न लगाउन भनेका छन् ।
‘सपना पनि नराम्रो नराम्रो देखिरहेको छु, बिहानै उठेर पूजा गर्न लगाउनु है । बेलुकी सुत्दा पनि पूजा गरेर सुते हुन्छ’, मोबाइलमा सेभ भएर बसेको अडियो उनी अहिले पनि सुनिरहन्छन्, ‘म त्यहाँ जाने बस्ने दुई दिन मात्रै हो, गाडीहरु पाएन भने कुर्नुपर्छ, नभए चाँडै कुरा हुन्छ ।’
अर्को अडियोमा ‘टेन्सन लिनु पर्दैन’ भनेका सिद्धार्थको फोन त्यसपछि दुई दिनसम्म लागेन । विदुरले पटकपटक फोन लगाउने प्रयास गरिरहे । आफूले नजानेर पो हो कि भनेर फेरि पल्लोघरबाट छोरीहरुलाई बोलाएर फोन गर्न लगाए ।
तर, सिद्धार्थ अनलाइन थिएनन्, बुबाले एकोहोरो फोन हानिरहन भने छाडेनन् । ‘राति ९ बजेपछि फोन गर्ने गरेको थियो, त्यस्तै केहीमा पर्यो होला भन्दाभन्दै त्यो दिन बित्यो’ आमा गंगा ढकाल (४२) सम्झिन्छिन्, ‘अर्को दिन पनि केही खबर नआउँदा एकदमै पीर परेको थियो, तर उहाँ (श्रीमान्) लाई पनि भन्न सकिनँ ।’
राम्रोसँग बोल्न नसक्ने सिद्धार्थका बुबा विदुरको मनमा पनि चिसो पसिसकेको थियो । उनी पनि मनमा चलिरहेको अनेक तर्कना श्रीमतीसँग भन्न सकिरहेका थिएनन् ।
त्यत्तिकैमा शुक्रबार साँझ उनलाई खोज्दै छिमेकी आएपछि उनी झन् अलमलमा परे ।
‘छोरालाई युक्रेनी सेनाले क्याप्चर गरेछ, फेसबुकभरि जताजतै सिद्धार्थको भिडियो छ’, उनलाई छिमेकीले भनेका थिए । त्यतिञ्जेल सामाजिक सञ्जालमा युक्रेनको डिफेन्स फोर्सले सार्वजनिक गरेको सिद्धार्थको भिडियो भाइरल भइसकेको थियो ।
भिडियोमा छोराले भनिरहेका थिए, ‘रेडजोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो, मेरा धेरै साथीहरु मारिएका छन् । पछि के हुन्छ, थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर खबर सुनाइदिनुहोला ।’
भिडियो देखेर उनी केही बोल्न सकेनन्, के गर्ने कसो गर्ने उनलाई केही थाहा थिएन ।
घरमा आएर श्रीमतीलाई सुनाए । उनी पनि बोल्न सकिनन् । आँशु मात्र खसाइरहिन् । डाक्टरी पढ्न भन्दै घरबाट हिंडेको छोरो युक्रेनमा बन्धक बनेको खबरले परिवारमा सन्नाटा ल्यायो ।
भैंसी बेचेर किस्ता
सिद्धार्थकी आमा गंगाले त्यो दिन भिडियो हेर्न सकिनन् । ‘पल्लाघरमा जेठानी–देउरानी कहाँ आउँछ, त्यहीं गएर भोलिपल्ट (शनिबार) मात्रै पूरै भिडियो हेरें’, उनले सुनाइन्, ‘त्यो हेरेर केही बोल्न पनि सकिनँ ।’
छिमेकी दुर्गा ढकालका अनुसार, कक्षा १२ सकेपछि सिद्धार्थले विदेश जाने रहर गर्न थालेका थिए । गाउँका अरु तीन भाइ पनि रुस पढ्न जान लागेका थिए । ‘आमाले चाहिं एक्लो छोरा सकभर नगइ दिए हुन्थ्यो भनिरहनुहुन्थ्यो’ उनले भनिन्, ‘बुबाले चाहिं जाओस् न त भनेको सुन्थें।’
बुबा विदुरका अनुसार, सिद्धार्थले कुन्तावेसीस्थित डेडीथुम्का माध्यमिक विद्यालयबाट विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका थिए । ‘त्यसपछि डाक्टरी पढ्छु भन्दै जान खोजेको थियो, ठूलो भएको छोराले जान्छु जान्छु भन्दा मैले रोक्ने कुरै आएन’ उनले सुनाए, ‘म चाहिं सधैं यहीं भकारो सोरिरहनु भनेर सोध्थ्यो, राम्रो हुन्छ भने लौ न त भनें ।’
आमा गंगा पनि आफूले छोरालाई विदेश नजान धेरै कर गरेको सम्झिँदै टोलाइरहन्छिन् ।
‘अर्काको देश जाने भनेपछि मेरो जीउ त्यत्तिकै कामिराख्थ्यो’, भोगेटारस्थित घरगोठबाट उनले अनलाइनखबरसँग सुनाइन्, ‘यत्रो दुःख गरेर एउटा घर जोडेका थियौं, गुजारा भइरहेकै थियो । अर्काको देशमा गएर कमाएर धेरै ल्याए हुन्थ्यो भन्ने पनि मलाई थिएन, अब जानु पर्दैन बाबु भनेको थिएँ ।’
‘सधैं यो गाउँमा कति बस्नु जाने भनेर धुमधाम गर्यो, त्यसपछि केही सीप लागेन’ गंगाले थपिन्, ‘त्यसपछि उसका बाबु पैसा खोज्नतिर लाग्नुभयो ।’
स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनीहरुले धेरथोर पैसा बचत गर्ने गरेका थिए । ३० हजारजति जम्मा भएको रहेछ, त्यही सहकारीमा जग्गा राखेर १० लाख निकाल्न कुरा गरे ।
विदेश जाने भनेपछि ऋण निकाल्न पनि गाह्रो भएन, छोराले आफन्त समेत रहेका छिमेकी सुगम ढकालसँगै रुस जाने तयारी थाले ।
ढकालले काठमाडौंस्थित टेक्सास इन्टरनेसनल कलेजमा पढ्दाका एक जना साथी रुसमा थिए । उनीमार्फत नै श्याम ढकाल र अजय भट्टराईसहित गाउँका ४ जना रुस जाने तयारीमा थिए ।
आमा गंगाका अनुसार, तयारी गर्ने भनेर सुरुमा छोराका साथी सुगमको खातामा १ लाख रुपैयाँ पठाएका थिए । पछि पटकपटक गरेर २५ हजार र ५० हजार रुपैयाँ पनि दिइएको थियो ।
‘सुरुमा २५ भदौमा उड्ने खबर आयो, गाउँबाट नभ्याएला कि भनेर २४ गते बेलुकी नै पठायौं’, आमा गंगाले भनिन्, ‘छोरा त्यहाँ पुग्दा उनीहरुसँग कागजपत्र मिलेको थिएन रे, एयरपोर्टबाटै फर्किएछन् ।’
त्यसबेला फेरि आमाले ‘छोरालाई नपठाउने’ भनेकी थिइन् । तर, साथीभाइ हुँदै गाउँमा ‘दलालीले पैसा खाए दिएनन् भनेर हल्ला चलेको’ गंगा बताउँछिन् । त्यसपछि फेरि प्रयास गर्ने भन्ने भयो ।
३० भदौमा चारै जना काठमाडौंबाट रुसका लागि उडे । दुबईमा ६, ७ घन्टाको ट्रान्जिटपछि उनीहरु रुस पुगेका थिए ।
‘चारै जना स्टुडेन्ट भिसामा गएका थियौं, सिद्धार्थ र हाम्रो कलेज नै फरक थियो’, रुसको मस्कोबाट सुगमले अनलाइनखबरसँग भने, ‘एयरपोर्टबाट आएपछि दुई दिनसम्मसँगै बसेका थियौं, त्यसपछि ऊ आफ्नो कलेजतिर गयो ।’
सुगमको दाबीमा सिद्धार्थको बैंक खाता नभएकाले उनकोमा पैसा जम्मा गर्नुपरेको थियो । ‘रुसमा एयरपोर्टमा पुगेर बंगलादेशी नागरिकलाई ३ हजार अमेरिकी डलर र नेपाली एक लाख रुपैयाँ बुझाएका थियौं’, उनले भने, ‘उसले होस्टल छाडेर गएपछि खासै कुरा भएको थिएन ।’
सिद्धार्थका बुबा विदुरका अनुसार, पुगेपछि फेरि ७ लाख ७५ हजार रुपैयाँ गरेर जम्मा साढे ९ लाख रुपैयाँ तिर्नुपरेको थियो । तर, पुगेको केही दिनपछि फोन गरेर छोराले ‘ममी, मसँग पैसा भएन, पठाएको पनि साथीहरु दिएनन् । आजसम्म खाएको छैन’ भनेको गंगा बताउँछिन् । ‘जग्गा राखेर पठाएको त्यत्रो पैसा छोराले छैन भन्छ’, उनले सुनाइन्, ‘साह्रै चित्त दुख्यो, कत्ति रुनु रुनु ।’
त्यसपछि नै उनले अरुतिर काम खोज्न थालेको आमा गंगा बताउँछिन् । ‘केही सीप नलागेपछि बाध्य भएर त्यहीँको नेपालीमार्फत सेनामा लागेछ’ उनले भनिन्, ‘कलेजमा पैसा नतिरेपछि कहाँको कहाँको मान्छे राख्ने कुरा भएन, त्यसपछि उनले पैसा छैन, अर्थोकै काम गर्छु भन्यो ।’
खान बस्न पैसा लाग्दैन, कोठा पनि बस्नु पर्दैन भन्दै छोरा सेनातिर भर्ना भएको उनी बताउँछिन् । सेनामा भर्ती भएको डेढ महिना नाघे पनि उनले तलब पाएका थिएनन् । सहकारीमा किस्ता तिर्न ढिलाइ गर्दा जरिवाना थपिने स्थिति थियो ।
‘तलब साहुले दिने होइन रहेछ, पैसा दिएको भए पठाइदिन्थे’, छोराले सेनामा भर्ती भएको एक महिनापछि भनेको थियो, ‘त्यत्रो ऋण छ, युद्धमा गएर आएपछि के कति पैसा हुन्छ, दिनुपर्छ पिर नगर्नु है ।’
त्यतिञ्जेलमा घरमा सहकारीको किस्ता तिर्न भैंसी बेच्ने तयारी भइसकेको थियो । ‘सहकारीबाट १६ प्रतिशत ब्याजमा पैसा लिएका थियौं, भैंसी बेचेर ब्याज मात्र ६४ हजार तिर्यौं’ गंगा भन्छिन्, ‘मंसिरसम्मको तिर्यौं, अब अरु कसरी तिर्ने थाहा छैन ।’
‘पाप गरेका छैनौं, छोरो आउँछ’
गएको बिहीबार मण्डनदेउपुर–६ स्थित घरमा सिद्धार्थका बुबा विदुर भैंसी दुहुँदै थिए । आमा गंगा बाख्रा र भैंसीका लागि खोले तयार गर्दै थिइन् ।
गोठबाट निस्किएपछि बुबा विदुरले मोबाइलमा ‘अफलाइन सेभ’ भएको छोराको त्यही भिडियो देखाए । ‘साथीहरुको लहैलहैमा लाग्यो, एउटा छोरा एक मन चामल पकाउन पनि लगाएको थिइनँ’, आमा गंगा रुन थालिन्, ‘अहिले खान पनि पाएको छ कि छैन, सबैले छिटोभन्दा छिटो निकाल्न सहयोग गरिदिए हुन्थ्यो ।’
विदुरले श्रीमतीलाई सम्झाउन थाले, ‘नरो, यहाँ रोएर छोरो आउने हो र !’ गंगाले टाउको घोप्टो पारिन्, अनि भनिरहिन्, ‘त्यही एउटा थियो, राम्रोसँग छोरा बाँचेर आए हुन्थ्यो, अरु केही चाहिन्नथ्यो ।’ त्यति भन्दा गंगालाई सम्झाइरहेका विदुरका पनि आँखा रसाइसकेका थिए ।
छिमेकी मीना न्यौपाने पनि त्यही बेला रुँदै बोलिन्, ‘तिमीहरु दुवै जनाले पाप गरेका छैनौं, देख्नेजति सबै रोएका छन् । चिन्ता नगर छोरा आउँछ ।’
घर अगाडिको खेत देखाउँदै मीनाले विदुर र गंगाले त्यहीं माटोमा लोटिएर छोरा हुर्काएको बताउँदै भनिन्, ‘कहिल्यै सुखले गरेका छैनन्, दाजुभाइ ५ जना थिए । आफ्नो भागमा परेको एउटा घर पनि भूकम्पले भत्काएको थियो ।’
आमा गंगा घरमा आउनेजतिलाई ‘अब के होला’ भन्दै प्रश्न गरिरहन्छिन् । ‘त्यही एउटा छोरा छ भनेर बोलेर हाँसेर हिंडिरहेको थिएँ, अब त्यही पनि भएन’, उनले भनिन्, ‘ममी भन्थ्यो, हातमा घाउ आउँदा कपाल कोर्दिन्थ्यो, पटुका बाँधिदिन्थ्यो । अहिले फेरि मेरो औंलो अररो भएको छ, छोरा साथमा छैन ।’
मण्डनदेउपुर–६ का वडाध्यक्ष सोमप्रसाद ढकाल सिद्धार्थलाई छुटाउन पहल गरिदिन सरकारलाई आग्रह गरिरहेको बताउँछन् । ‘आफन्त देवराज ढकाल सहित गएर परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्नुभएको छ, मन्त्रालयमा उद्धारका लागि निवेदन पनि दिनुभएको छ’, उनले भने, ‘अरु च्यानलबाट पनि सरकारलाई सकेसम्म दबाब दिने प्रयास गरिरहेका छौं ।’
युक्रेनको पक्षमा मुख्य साझेदारका रुपमा अमेरिका समेत रहेकाले रिहाइका लागि अमेरिकाको तर्फबाट पनि सहजीकरण होस् भनेर प्रधानमन्त्रीज्यूले आग्रह गर्नुभएको छ । नेपाल हेर्ने भारतस्थित युक्रेनका राजदूत र जर्मनस्थित युक्रेनी राजदूतसँग पनि यस विषयमा कुरा भएको छ
प्रधानमन्त्रीको सचिवालय
परराष्ट्र मन्त्रालयका निवेदन दिएका सिद्धार्थका ठूलोबुबाका छोरा देवराज ढकालका अनुसार, परराष्ट्र मन्त्री र सचिवसँग भेटपछि उद्धारका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पनि भेट्ने कुरा भइरहेको उनले बताए । ‘त्यहाँ गएका मध्ये ६ जना बितिसके, सिद्धार्थसहित अरु बन्धक छन्’ उनले भने, ‘जतिसक्दो चाँडो उद्धार गरिदिनु पर्यो भनेका छौं ।’
सरकारी पहल
प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै युक्रेनमा नेपाली दूतावास नभएकाले जर्मनीस्थित दूतावास मार्फत ढकालसहित ३ नेपालीको उद्धारका लागि पहल भइरहेको बताए ।
‘द्वन्द्वरत पक्षको राजनीतिक नेतृत्वसँग उद्दारका लागि सीधै कुरा गर्न अहिलेको स्थितिमा सम्भव छैन’ उनले भने, ‘त्यसैले जर्मनीस्थित नेपाली दूतावास मार्फत त्यहाँका युक्रेनी राजदूतसँग पनि कुरा भएको छ, जर्मनको विदेश मन्त्रालयसँग पनि समन्वय भएको छ ।’
हालै भएको दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरको भ्रमणका क्रममा सहयोगका लागि प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ ।
‘युक्रेनको पक्षमा मुख्य साझेदारका रुपमा अमेरिका समेत रहेकाले रिहाइका लागि अमेरिकाको तर्फबाट पनि सहजीकरण होस् भनेर प्रधानमन्त्रीज्यूले आग्रह गर्नुभएको छ’ सचिवालय स्रोतले भन्यो, ‘नेपाल हेर्ने भारतस्थित युक्रेनका राजदूतसँग पनि यस विषयमा कुरा भएको छ ।’
यहीबीच भारत र बेलायतमा अपवादबाहेक अन्य मुलुकको सेनामा भर्ती हुने मुलुकको नीति नभएको भन्दै यसको सम्मान गरिदिन परराष्ट्र मन्त्रालयले रुसलाई ‘कूटनीतिक नोट’ समेत पठाएको छ ।
(काभ्रेबाट कपिल कोइरालाको सहयोगमा)
तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर