• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»‘अझै सचेत नभए कोभिडले विष्फोटको रुप लिनसक्छ’
    Miscellaneous

    ‘अझै सचेत नभए कोभिडले विष्फोटको रुप लिनसक्छ’

    गौरव पोखरेलBy गौरव पोखरेलMay 18, 2021Updated:June 14, 2021No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो ।

    त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको क्षेत्रमा निषेधाज्ञाको विकल्प नरहेको सीसीएमसीको निचोड थियो ।

    निषेधाज्ञाले मात्रै चेन ब्रेक गर्न सक्छ त ? जनस्वास्थ्यविद्हरूका अनुसार ‘मोबिलिटी’ बन्द गरेर मात्र चेन ब्रेक गर्न सम्भव हुँदैन ।

    ‘समुदायमा संक्रमण फैलिरहेको दर कम हुन्छ भन्ने उद्देश्यले निषेधाज्ञा गरिने हो’, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘निषेधाज्ञा गरेर हात बाँधेर बस्नु चाहिं गम्भीर गल्ती हुन्छ ।’

    उनका अनुसार निषेधाज्ञाको अवधिमा परीक्षणलाई व्यापक बनाउनुपर्छ, कन्ट्याक्ट ट्रेसिङमा जोड दिनुपर्छ । त्योसँगै स्वास्थ्य मन्त्रालय, प्रशासन, स्थानीय निकाय र नागरिकले खेल्ने भूमिकाले संक्रमणको चक्रलाई रोक्ने डा. सुवेदी बताउँछन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गरेर सम्भावित संक्रमितको पहिचान गर्दै परीक्षण बढाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको जाँचलाई मात्र व्यापक बनायौं भने पनि संक्रमण फैलिने दर कम हुन्छ ।’

    जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित पनि अहिले जुन रफ्तारमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ, त्यसलाई निषेधाज्ञाले मात्र रोक्न नसक्ने बताउँछन् । ‘मुख्य कुरा मानिसको भेटघाट रोक्नुपर्छ, सामाजिक दूरी बढाउनुपर्छ’ उनी भन्छन्, ‘हरेक नागरिकले अनिवार्य रूपमा मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।’

    लकडाउनबाट सिक्नुपर्छ पाठ

    गत वर्ष लकडाउनको वेला मुख्य चोक र राजमार्ग सुनसान हुने तर भित्री बाटोमा भिडभाड देखिने गरेको थियो । छरछिमेकमै भेटघाट गर्ने, भेला भएर बस्ने, एम्बुलेन्समा सर्वसाधारण ओसार्ने, उच्च पदस्थ र सरकारी कर्मचारीहरू विना काम ओहोरदोहोर गर्ने प्रवृत्ति पनि देखिएको थियो । नेता र सरकारी हाकिमहरूको सिफारिसमा काठमाडौं छिर्नेहरू पनि त्यतिकै थिए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन त्यस्तै गल्ती दोहोरिए जति निषेधाज्ञा थपे पनि पार नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘त्यस्तो वातावरण बने निषेधाज्ञा अन्त्य भएको वेला संक्रमणले विस्फोटको रूप लिन सक्छ ।’

    सामाजिक–आर्थिक समस्याका कारण निषेधाज्ञा पनि लामो समय लागू गर्न गाह्रो हुने विगतको अनुभवले देखाएको छ । त्यसैले हप्तैपिच्छे निषेधाज्ञा थपिराख्नुभन्दा अहिले पाएको समयको सदुपयोग गर्नुपर्ने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘यो अवधिमा व्यक्तिगत व्यवहार परिवर्तनदेखि क्वारेन्टिन र आइसोलेसन सेन्टर बढाउनेसम्मका काममा जोड दिनुपर्छ ।’

    अहिले काठमाडौं उपत्यकाभरिमा कीर्तिपुरमा मात्र ५० बेडको सामुदायिक आइसोलेसन छ । भक्तपुर र ललितपुरमा पुरानो आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीहरू बताउँछन् ।

    कोरोनाभाइरसको ट्रिपल म्युटेन्ट नेपालमा पनि फैलिएको आशंका छ, तर परीक्षण भएको छैन

    ‘नियन्त्रणमा ढिला भइसकेको थियो’

    सीसीएमसी स्रोतका अनुसार गत वर्ष लकडाउन अन्त्य भएपछि पनि स्वास्थ्य मापदण्ड पालना भएको स्थितिमा एक संक्रमितबाट सरदर ०.६ जनामा संक्रमण फैलिएको रेकर्ड छ । अहिले स्वास्थ्य मापदण्ड पालना नहुँदा एक संक्रमितबाट सरदर २.३ जना सम्ममा संक्रमण फैलिरहेको सीसीएससीको विश्लेषण छ ।

    नयाँ भेरियन्ट पुष्टि भइसकेपछि १–११ वैशाखमा संक्रमणको फैलावट ह्वात्तै बढेको सीसीएमसीको विश्लेषण छ । संक्रमित संख्यासँगै मृत्युदर पनि बढिरहेको छ । पीसीआर जाँच गरिएकामध्ये १२.५ प्रतिशतमा संक्रमण देखिएको छ भने पोजेटिभमध्ये एक प्रतिशतको मृत्यु हुने गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा मात्रै ७ हजार ९६६, ललितपुरमा १ हजार ५९५ र भक्तपुरमा ७३० जना सक्रिय संक्रमित छन् । उपत्यकाका अस्पतालहरूमा अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव छ ।

    भारतका विभिन्न ठाउँमा देखिएको कोरोनाभाइरसको ट्रिपल म्युटेन्ट नेपालमा पनि फैलिएको आशंका छ, तर परीक्षण भएको छैन । ‘चैत पहिलो हप्तादेखि नै गम्भीर कदमहरू चाल्नुपथ्र्यो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘तर, अन्तिम समयमा मात्रै हाम्रा निकायहरू तातेका छन्, विगतको गल्ती दोहोरिन शुरू भइसकेको छ ।’

    अवस्थालाई जटिल हुन नदिन सामूहिक प्रयासको खाँचो रहेको उनी बताउँछन् । स्वास्थ्य मन्त्रालयले अक्सिजन र आईसीयू बेड बढाउनेमा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘ठाउँठाउँमा स्वास्थ्यकर्मी राखेर ज्वरो नाप्नुपर्‍यो, शंकास्पदको नमूना तत्कालै जाँचमा पठाउनुपर्‍यो’ डा. मरासिनी भन्छन्, ‘बढी संक्रमित देखिएको स्थानमा समुदायमा गएर पनि जाँच गर्नुपर्‍यो ।’

    ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल भने कोरोना संक्रमितहरूका लागि अस्पतालमा बेड बढाउने प्रयास भइरहेको बताउँछन् । ‘वीर, किस्ट मेडिकल कलेज, दुवाकोटको काठमाडौं मेडिकल कलेज लगायतलाई विकल्प सोचिएको छ’ उनले भने, ‘बेडको अन्यत्र पनि म्यापिङ भइरहेको छ ।’

    उल्लंघन गर्नेलाई कडा कारबाही

    कोरोनाको संक्रमण दर बढ्दै जाँदा सरकारले ६ वैशाखमा सार्वजनिक स्थलमा भीडभाड नगर्ने, २५ जनाभन्दा बढी भेला नहुने, सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालना गर्ने लगायत ३१ बुँदे मापदण्ड लागू गर्न आदेश जारी गरेको थियो ।

    त्यसको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रमहरूमा देखिए । मूर्ति स्थापना गर्न भव्य कार्यक्रम आयोजना गरेर मन्त्रीहरू सहभागी भए । नागरिकस्तरबाट पनि स्वास्थ्य मापदण्ड पालना भएन । ती कारणले अहिले निषेधाज्ञासम्म पुग्नु परेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    निषेधाज्ञा कार्यान्वयन भए/नभएकोबारे अनुगमन गर्नु उत्तिकै जरूरी रहेको विज्ञहरू बताउँछन् । सोमबार स्थानीय प्रशासन ऐन, २०२८ अनुसार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले यातायातसहित एक हप्तासम्म खाद्य सामग्री, औषधि तथा खाद्य सामग्रीका पसलबाहेक सबै व्यवसाय बन्द गर्ने भनेका छन् ।

    उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, खेल स्थल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयको आदेश नेपाल प्रहरीले कार्यान्वयन गर्छ । अनावश्यक हिंडडुल गर्न नदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई ‘होल्ड’ गराउने प्रहरीको तयारी छ ।

    ‘यसमा प्रहरीको प्रयासले मात्र पनि हुँदैन’ प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘नागरिक पनि उत्तिकै सचेत हुनुपर्छ ।’

    जनस्वास्थ्यविद् डा. मरासिनी मापदण्ड पालनामा कडाइ हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संक्रामक रोग नियन्त्रण ऐन, २०२० पनि संशोधन गरेर कडा कारबाहीको प्रावधान राख्नु जरूरी छ ।’

    Published at onlinekhabar.com

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    Opinion | How Did the Ceremonial President Become a ‘Power Centre’ in Nepal?

    March 25, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.