• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»जेलभित्रको त्यो गोलीकाण्ड, जसले लम्ब्याउने छ विकिनी किलरको बन्दी जीवन
    Features

    जेलभित्रको त्यो गोलीकाण्ड, जसले लम्ब्याउने छ विकिनी किलरको बन्दी जीवन

    गौरव पोखरेलBy गौरव पोखरेलSeptember 18, 2022Updated:October 13, 2022No Comments9 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालमा दुई विदेशी नागरिकको हत्या गरेका सिरियल किलर चार्ल्स शोभराजले २०८० मा जन्मकैदको २० वर्षे जेल सजाय पूरा गर्नेछन् । यद्यपि, उनी तत्काल थुनामुक्त भने हुँदैनन् । किन ?

    सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका सिरियल किलर चार्ल्स शोभराज गुरुमुखले साउन अन्तिम साता आफूलाई भेट्न आएका एक जनालाई भनेका थिए, ‘अब दुईदेखि तीन सातामा थुनामुक्त हुँदैछु ।’

    आगन्तुकलाई मात्र होइन, निरीक्षणका लागि कारागारभित्र छिर्ने सुरक्षा अधिकारीलाई पनि ७८ वर्षका शोभराजले उही कुरा सुनाउने गरेका छन् । अधिकृतहरुका अनुसार शोभराजको आफ्नो कुरामा यति विश्वस्त सुनिन्छन् कि उनको स्वभाव थाहा नहुनेले सहजै उनलाई पत्याइदिन्छन् ।

    कारागारभित्रको पनि कारागार भनिने गोलघरभित्र रहेका उनले २०७७ चैतको तेस्रो साता त्यहीँबाट बेलायती सञ्चारमाध्यम मिरर र डेलिमेललाई उस्तै दाबीसहित अन्तर्वार्ता दिएर सनसनी मच्चाइदिएका थिए ।

    टेलिफोन अन्तर्वार्तामा शोभराजले ‘तीनदेखि चार हप्ताभित्र छुट्न लागेको’ जिकिर मात्र गरेनन्, आफूलाई नेपाली जेलमा अवैध रुपमा राखिएको भन्दै एक अर्ब नेपाली रुपैयाँ क्षतिपूर्ति दाबी गर्ने पनि बयान दिए । शोभराजलाई जान्नेहरु भन्छन्, ‘उनको विशेषता नै यही हो, जेलभित्र हुँदा होस् या बाहिर कहिल्यै ओझेलमा हुँदैनन् ।’

    शोभराजले पछिल्लो समय आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका छन्, जसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्छन् ।

    विशेष गरी संविधान दिवस (असोज ३), प्रजातन्त्र दिवस (फागुन ६) र गणतन्त्र दिवस (जेठ १५) आसपास उनले कानून व्यवसायीमार्फत यस्ता निवेदनहरु पठाउने गरेको देखिन्छ ।

    ‘ती समयमा कैद छुट र राष्ट्रपतिबाट आपमाफी दिने चलन भएकाले उनले त्यही छेकोमा छुटिहालिन्छ कि भनेर प्रयास गर्ने गरेका हुन्’ कारागार व्यवस्थापन विभागका एक अधिकारी भन्छन् ।

    शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

    २८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि मारिएका क्यानडिन नागरिक क्यारियरे लरेन्ट । यिनै दुईको हत्या अभियोगमा अहिले चार्ल्स शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका छन् । तस्वीरः लाइफ एण्ड क्राइम अफ चार्ल्स नामक पुस्तकबाट ।

    शोभराजको जन्मकैद अर्थात् २० वर्षको जेल सजाय २०८० मा पूरा हुँदैछ । यसलाई उल्लेख गर्दै उनले नेपाली कानून अनुसार पाउनुपर्ने सुविधाभन्दा बढी थुनामा राखिएको भन्दै अदालतमा रिट दिने गरेका हुन् ।

    तर उनका हरेक मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ । कैदछुट नपाएपनि २०८० सम्ममा आफू छुट्ने शोभराजले बताउने गरेका छन् । हालसम्म कारागारका अधिकारीहरुले पनि उनको कैद सजाय एक वर्ष पछि पूरा हुने बताउँदै आएका छन् ।

    तर अनलाइनखबरलाई प्राप्त एक विवरणले शोभराज जन्मकैदको सजाय पूरा भइसकेपछि पनि थप पाँच वर्ष कारागारमा बस्नुपर्ने देखाउँछ । कारण – उनी जेलभित्रै रहँदा संलग्न रहेको अर्को एउटा अपराध हो, जुन घटनालाई अहिले धेरैले बिर्सिसके ।

    एकजना भारतीय कन्ट्र्याक्ट किलरको योजनामा भएको यो घटनामा कारागारमा रहेका सिरियल किलर शोभराज र सिरियल किडन्यापर अमर टण्डन पनि जोडिएका छन् । र, यसको टार्गेट बनेका छन् फेक करेन्सी किङका रुपमा चिनिएका युनुस अन्सारी ।

    अपहरणकारी अमर टण्डन र भारतबाट आएका कन्ट्रयाक्ट किलर जगजित सिंह भाटिया ।

    नक्कली नोटका नाइकेसँग जोडिएको घटना

    शोभराजलाई किन थप पाँच वर्ष जेल सजाय भयो ? यसबारे थाहा पाउन एक दशक अघितिर फर्किनुपर्छ ।

    केन्द्रिय कारागार सुन्धाराको सार्वजनिक भेटघाट कक्षमा २६ फागुन २०६७ मा जाली नोट कारोबारी युनुस अन्सारी ‘च्यानल नेशनल टेलिभिजन’का कर्मचारीसँग गफिइरहेका थिए । म्यानेजिङ डाइरेक्टर सुमेशर कुशवाहा र मुकेश नामका मार्केटिङ प्रमुखसँग भेटपछि उनी त्यहीँ भाइबुहारीसँग गफिन थाले ।

    आधा घन्टासम्म कुराकानी भएपछि विदा हुन भाइ अमिनसँग हात मात्रै के मिलाउँदै थिए, एक्कासी आफूतिर एकजनाले रिभल्वर ताकिरहेको देखे ।

    ‘एक्कासी ग्रिलको प्वालबाट हात छिराएर रिभल्वरले ३/४ पटक फायर गर्ने कोशिश गरेको देखे, तर सुरुमा पड्किएन’ अन्सारीले त्यसबेला गठित छानविन समितिलाई बयान दिँदै भनेका छन्, ‘मलाई नै मार्न खोजेको हो भन्ने भएपछि भाग्न खोजेँ, दौडिँदा दाहिने पट्टी हातको पातामुनितिर गोली लाग्यो ।’

    २४ सै घन्टा कडा सुरक्षा व्यवस्था रहनुपर्ने केन्द्रिय कारागारभित्रै अन्सारी ढले, तत्काल उपचाररार्थ नर्भिक अस्पतालमा भर्ना गरियो । यही घटनामा शोभराज पनि जोडिएको त्यसबारे गठित छानविन समितिको प्रतिवेदनले देखाउँछ ।

    यही घटनाको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा दायर ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा शोभराज प्रतिवादी छन् र उनलाई अदालतले २६ माघ २०७० मा थप पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

    त्यसबेला अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार कैदीबन्दीलाई भेट्न आउने बहानामा कारागारभित्र छिरेका जसजित सिंह भाटियाले रिभल्वरबाट गोली हानेका थिए ।

    अनलाइनखबरलाई प्राप्त छानविन प्रतिवेदन अनुसार अन्सारीलाई गोली हान्ने योजनासहित भारतबाट आएका कन्ट्र्याक्ट किलर भाटिया अरु कुनै बन्दी नभइ कारागारमा रहेका सिरियल किलर शोभराजलाई भेट्न भनेर प्रवेश गरेका भारतीय नागरिक थिए ।

    शोभराजलाई भेट्न भन्दै कारागार प्रवेश गरेका उनलाई रिभल्बरले साथ नदिएपछि अन्सारी बचेका थिए । ‘सुरुमा हानेको गोली मिस–फायर नभएको भए उनको त्यहीँ मृत्यु हुन्थ्यो’ एक अनुसन्धान अधिकृतले सुनाए, ‘तर समयमा रिभल्वर नचलेपछि उनी घाइते मात्र भए ।’

    गोली चलेको थाहा पाएपछि तत्काल ड्यूटीमा खटिएका प्रहरी जवान प्रमोद चौरसियाले भाटियालाई नियन्त्रणमा लिए । त्यसबेला नेपाल प्रहरीका निरीक्षक प्रकाशराज शर्माको प्रतिवेदन अनुसार भाटियाको साथबाट बरामद रिभल्वरमा ६ राउण्ड गोली लोड गरिएको थियो ।

    ७ करोड ७६ लाख रुपैयाँ बराबरको भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि १० जेठ २०७६ मा युनुस अन्सारी ।

    अन्सारीले समितिसमक्ष दिएको बयान अनुसार भाटिया यसअघि कारागारमा रहेका अपहरण तथा शरीर बन्धक मुद्दाका अमर टण्डन र कर्तव्य ज्यान मुद्दाका ‘सिरियल किलर’ फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई भेट्न पटकपटक कारागार आउने गरेका थिए ।

    ‘झण्डै तीन चार महिनादेखि उनी कारागारमा आउने गरेका थिए र मलाई पनि त्यही क्रममा भेटघाट गरेर हेलो हाई भन्दै हिन्दी भाषामा कुरा गरेका थिए’ अन्सारीले बयानमा भनेका छन्, ‘त्यो दिन मलाई पेस्तोल तेस्र्याउने व्यक्ति तिनै थिए ।’

    तत्कालीन जेलर क्षेत्रबहादुर भण्डारीले पनि शोभराजलाई भेट्न भनेर अनुमति लिएका व्यक्तिले गोली चलाएको बयान दिएका छन् । उनको बयानपछि प्रहरीले विस्तृत अनुसन्धानका क्रममा भाटिया बस्ने भक्तपुरको ठिमी–२, बोडेस्थित कोठामा पुग्यो, जहाँ चार्ल्स शोभराजको मुद्दाको फाइल भएको ब्याग भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

    यही घटनामा चार्ल्स र टण्डनसहित संलग्न सबैलाई अनुसन्धान गरी कारबाही गर्न भन्दै उनले कागज गरिदिएका थिए । अनुसन्धानका क्रममा जेलबाट भगाउने सर्तमा शोभराजले अन्सारी हत्या योजनामा सहयोग गरेको देखिएको एक अधिकृत बताउँछन् ।

    भारतबाट आएको थियो सुपारी

    भाटियाको बयान अनुसार उनले अन्सारीको हत्याका लागि २४ लाख नेपाली रुपैयाँ सुपारी पाएका थिए ।

    ‘१९ डिसेम्बर २०१० मा दुबईबाट बोलेको भन्दै मलाई फोन आएको थियो’ उनले छानविन समितिसमक्ष बयान दिएका छन्, ‘भारु १५ लाख रुपैयाँ दिन्छु नेपालको काठमाडौंमा युनुस अन्सारी नामक व्यक्तिलाई मार्नु भनेको थियो ।’

    अन्सारी आईएसआई (पाकिस्तानी गुप्तचर एजेन्सी) को एजेन्ट भएको जिकिरसहित आफ्नो देशमा नक्कली नोट पठाएर बर्बाद परेको भनिएको भाटियाको बयान छ ।

    ‘अन्सारीलाई मार्ने प्रस्ताव आएपछि मैले सुरुमा त्यतिमा काम गर्दिन कम्तिमा २५ लाख चाहिन्छ भनेको थिएँ’ भाटियाले भनेका छन्, ‘भोलिपल्ट फेरि फोन गरेर मलाई त्यतिमै गर्ने भए गर्न भनेपछि मैले अन्तिममा मानेँ ।’

    फोनमै भनिएअनुसार भाटिया भारतको लखनउमा एसएसबीको कार्यालय नजिक रहेको घुम्तीमा पुगेका थिए । त्यहाँ सुरेश र रामु दुवेदी नामक व्यक्तिले भेटेर अन्सारीको फोटो र भारु १० हजार रुपैयाँ दिएर नेपाल पठाएको उनको बयान छ ।

    छानविन समितिको प्रतिवेदन अनुसार भाटियालाई त्यसबेला काठमाडौंको होटल ह्वाइट लोटसमा बस्न भनिएको थियो । अफर आएको तीन दिनपछि उनी र रामु सोही होटलमा बसेको पाइएको थियो ।

    योजना अनुसार हत्याको तारतम्य मिलाउन काठमाडौंस्थित केन्द्रीय कारागारमा गएका बेला भाटियालाई अमर टण्डनसँग परिचय गराइएको थियो । त्यहीबेला रामुले इसारा गरेर युनुस अन्सारीलाई चिनाएको अनुसन्धानका क्रममा खुलेको थियो ।

    तीन चार दिनसम्म होटलमा बसेर उनी भारततिर फर्किएका थिए र पछि फेरि दुवैजना काठमाडौं आएर गौशालाको होटल कान्सीमा बसेका थिए । त्यतिबेला लखनउमा भेट भएका सुरेश पनि उनीहरुलाई भेट्न पटकपटक होटलमा आएका थिए ।

    केन्द्रीय कारागार ।

    ‘कारागारमा पटकपटक गएका बेला दुईजनाले कारागारको सुरक्षा व्यवस्था, भेटघाटका प्रबन्ध, भाग्ने बाटो, हतियार लान सकिने नसकिने जस्ता विषयमा राम्ररी रेकी गर्नु भनेका थिए’ भाटियाले पनि भनेका छन्, ‘त्यही क्रममा अन्सारीसँग सामान्य हाई हेल्लो पनि भएको थियो, भारत जाने आउने भइरहेको थियो ।’

    त्यसबेला कारागारमा टण्डन र शोभराज एकै ठाउँ राखिएका थिए । उनीहरुबीच खटपट भएपछि टण्डनलाई कारागार प्रशासनले त्यही बीच भद्रबन्दी गृहमा सा¥यो । त्यसबारे थाहा पाएपछि भाटियाले टण्डनलाई भेट्न छाडे ।

    केही महिनापछि भाटिया बसेको होटल कान्तीमा एकजना बंगाली मानिस सम्पर्कमा आए । उनले चाल्स शोभराजलाई भेटेको बताए र अन्सारीबारे बुझ्न र उनको ‘सफाया’का लागि कारागारभित्र जान सबैभन्दा सजिलो माध्यम शोभराज हुन सक्ने बताए ।

    केन्द्रिय कारागारमा युनुस अन्सारीमाथि गोली प्रहार भएको घटनाको पृष्ठभूमि भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) सँग जोडिने आशंका गरिन्छ । भारतविरुद्ध गतिविधि गरेको आरोपमा नेपालमा नागरिकहरु मारिएको लामो श्रृंखला रहेकाले पनि यसमा विश्वास गर्न सक्ने आधारहरु छन् ।

    ‘त्यतिबेला मलाई दिपक मेस्सीको मेसेन्जर हुँ भनेर कारागार जान खबर आएको थियो’ भाटियाले भनेका छन्, ‘त्यसपछि मैले करिब १३/१४ पटक चार्ल्स शोभराजसँग कारागारमा गइ भेटघाट गरेँ ।’

    शोभराजले नै अन्सारी निस्किने समयको जानकरारी दिएपछि २५ फागुन २०६७ मा हत्याको अन्तिम योजना बनेको उनले भनेका छन् । त्यसबेला गठित छानविन समितिका एक सदस्यका अनुसार शोभराजलाई भेटेर सुन्धारा नजिक दुवेदीद्वयलाई भेटेर भाटियाले हतियारको व्यवस्था गरिदिन भनेका थिए ।

    योजना अनुसार २६ फागुन २०६७ मा कारागार नजिक रहेको जुस पसल छेउको शौचालायभित्र रामुले लोडेड रिभल्वर भाटियालाई दिएका थिए । उनले त्यसलाई भित्री वस्त्रभित्र लुकाएर कारागार प्रवेश गरेको अनुसन्धानबाट खुलेको थियो ।

    शोभराज भेट्न अनुमति लिएर कारागार छिरेका उनी कैदीबन्दी भेटघाट कक्षमा पुग्दा शोभराज आएका थिएनन् । बरु अन्सारी पहिल्यै अन्य व्यक्तिहरुसँग कुराकानी गरिरहेका थिए, त्यही मौकामा भाटियाले अन्सारीमाथि गोली चलाएका थिए । योजनाबद्ध रुपमै त्यो दिन शोभराज भेट्न नआएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

    छानविन समितिले भाटियालाई सुपारी दिने व्यक्ति भने पत्ता लगाउन सकेन । यद्यपि, हालसम्म घटनाको पृष्ठभूमि भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) सँग जोडिने आशंका गरिन्छ । भारतविरुद्ध गतिविधि गरेको आरोपमा नेपालमा नागरिकहरु मारिएको लामो श्रृंखला रहेकाले पनि यो आशंकामा विश्वास गर्न सक्ने आधारहरु छन् ।

    शोभराज भन्छन् : भाटियाले तपाईंको फ्यान हुँ भन्थे

    भाटियाले शोभराज र टण्डनलाई घटनाबारे थाहा भएको बताएका छन् । तर दुवैले चाहिँ इन्कारी बयान दिएका थिए । शोभराजले भाटियालाई ‘माया’ नामबाट चिन्ने गरेको भनेका थिए ।

    १३ पटक भेट हुँदा उनले उनले आफ्नो खास नाम मुस्ताक भएको र बैंग्लोरमा रियल इस्टेटको व्यापार गर्ने भनेको शोभराजको बयान छ । उनले मायाले आफूलाई ‘तपाईंको फ्यान हुँ भनेर भन्ने गरेको’ बताएका थिए । शोभराजका कानून व्यवसायी शकुन्तला थापासँग पनि भाटियाले भेट गरेको अनुसन्धान प्रतिवेदनबाट खुल्छ ।

    ‘मसँग माइक नामले उनले परिचय गराएका थिए, सुन्धारामै भेट भएको थियो’ थापा भन्छिन्, ‘त्यतिबेला उनले मलाई अमेरिकन पत्रकार हुँ भनेका थिए, ज्वाइँले मसँग सम्बन्धित आईसीसीपीआरको कागजात दिनु भनेका थिए, त्यो मैले दिएको थिएँ ।’

    अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार शोभराजलाई सहयोग गरे जेलबाट भगाउन साथ दिने प्रलोभन देखाइएको थियो ।

    अन्तरदेशीय अपराध चार्ल्स शोभराज
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202261 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202560 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.