१८ चैत, काठमाडौं । सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैतसम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्यो र बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ ।
झोला बोकेका मानिसहरु ओहोर–दोहोर गरिरहेका थिए । उनीहरू बस चढ्नका लागि दौडादौड गरिरहेका थिए ।
तरकारी पुर्याएर फर्किएका गाडी आयो कि मानिसहरु ज्यानको परवाह नगरी दौडिएर झुण्डिन पुग्थे । त्यही दौडधुपमा थिए रौतहट सदरमुकाम गौरका ४१ वर्षीय रामागन साह । उनी दैनिक ज्यालामा कोटेश्वरमा निर्माणसम्बन्धी काम गर्थे ।
सात दिनसम्म जसोतसो काटिएला भन्ने सोचेँ । सरकारले फेरि बन्द बढाएको थाहा पाएपछि हामी समस्यामा पर्यौं ।
रामागन शाह, मजदूर
कामका सिलसिलामा साथीभाइबाट कोरोना भाइरस (कोभिड–१९) बाट सुनेका थिए । तर, सरकारले घोषणा गरेको लकडाउनको पत्तै पाएनन् ।
ठेकदारले बिदा दिएन । तर, जब लकडाउनमा कडाइ हुन थाल्यो, ठेकदारले ‘भोलिबाट काममा नआउनू’ भन्यो । काम गर्न नपाएपछि दैनिक ज्याला आउने कुरै भएन । ‘सात दिनसम्म जसोतसो काटिएला भन्ने सोचेँ’, शाहले भने, ‘सरकारले फेरि बन्द बढाएको थाहा पाएपछि हामी समस्यामा पर्यौं ।’
सरकारी अधिकारी र मन्त्रीहरूले कोही पनि भाेकै मर्दैन, गरीब र मजदुरलाई खानेकुरा दिएका छाैं भनिरहँदा मजदुरहरूकाे पीडा सडकमा छताछुल्ल पोखिएकाे देखियो ।
न घर जान सक्ने, न काठमाडौंमै बस्ने सक्ने अवस्थामा पुगे उनी । हुन त सरकारले आइतबार राहत दिने भनेको छ। तर, अहिले नै भोकै हुने अवस्थामा पुगेका उनीहरुलाई सरकारको राहत ‘लगनपछिको पोते’ जस्तै लाग्यो ।
भोकै भौतारिरहँदा एकजना साथीले हरेक रात तरकारी बोक्ने गाडीले मानिसहरु ओसारिरहेको सुनाए । र, रामागन त्यही गाडीको आशामा बल्खु आइपुगेका हुन् ।
तरकारीको गाडी भन्दै मजदुर ओसार्दै
रामागनसँग कुरा गरेको केहीबेरमा तरकारी बोक्ने पिकअप भ्यान आइपुग्यो । गाडीको अगाडिपट्टि सिसामा ‘तरकारी तथा फलफूल ढुवानी’ भनेर ठूलो अक्षरमा प्रिन्ट गरिएको कागज पनि टाँसिएको थियो ।
तर, पछाडि भने महिला, बालबालिकासहित ३०-३२ जना थिए । रामागन पनि गाडी आयो भन्दै दौडिए । तर, पहिले नै धेरै मानिस रहेको चन्दै चालकले उनलाई भने चढाउन मानेनन् ।
त्यही बेला अनलाइनखबरले सोध्दा चालकले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिएरै गाडी चलाएको बताए । थप कुराकानी गर्न खोज्दा डराए । र, यात्रु पछाडि झुण्डिन खोज्दाखोज्दै गाडी कुदाए ।
गाडी अगाडि बढेपछि मानिसहरु पछिपछि दौडिए । तिनैमध्येका एक थिए, रौतहटका परमानन्द शर्मा । नेपालटारमा फर्निचरमा काम गरिरहेका उनले पनि ठेकदार भागेपछि बिचल्लीमा परेको सुनाए । ‘काम पनि बन्द छ, ठेकदार पनि भाग्यो’, शर्माले सुनाए, ‘यहाँ बसेर खान पाइएन ।’
उनी पनि राति गाडी पाइन्छ भन्ने सुनेर बल्खुसम्म आएका रहेछन् । तर, पेट्रोल पम्प पुग्दापनि गाडी पाएका थिएनन् । उनी भन्दै थिए, ‘यस्तो बेला घर जान पाउने भएपछि पैसाको कुरै भएन । जसरी पनि घर पुग्नै पर्यो ।’
कोटेश्वरमा पनि यात्रुको भिड
बल्खुको जस्तै अवस्था कोटेश्वरमा पनि थियो । ९ बज्नै लाग्दा बा ३ ख २५२१ नम्बर बस कोटेश्वरको आकाशे पुलमुनि रोकिराखेको थियो । दोलखासम्म जान लागेको बसका सिटहरु भरिएका थिए ।
गाडी भएको ठाउँमा बेलाबेला ट्राफिक प्रहरी जवान पनि हिँडिराख्थे । उनीहरुमध्ये एकले चालकलाई सोधे, ‘पास बनाएको छ नि ? बसका चालकले मुन्टो हल्लाउँदै पास बनाएको बताए । त्यसपछि ती ट्राफिक प्रहरी उनलाई सिटभन्दा बढी यात्रु नचढाउन चेतावनी दिँदै अघि बढे ।
तर, केहीबेरमै थप मानिस चढे । साथै यात्रुको सूची हेर्दै गरेका एक जना भन्दै थिए, ‘अझै बाटोबाट चढाउनुछ ।’
यो सबै नियालिरहेका दीपेन्द्र सापकोटाले आफूलाई पनि जिरीसम्म लैजान सह–चालकसँग आग्रह गरे । काठमाडौंमा रंग लगाउने काम गरिरहेका उनले अनलाइनखबरसँग सुनाए, ‘ममी कोठामा हुनुहुन्छ, काम पनि बन्द भइहाल्यो । त्यसैले घर जान पाए हुन्थ्यो भनेको हो ।’
यो बसले त उनलाई लगेन । तर, घर जाने आशा मारेनन् उनले । ‘भोलि चाहिँ पहिल्यै बुक गर्नुपर्ला’, सापकोटाले सुनाए, ‘म एक्लै भए त उभिएरै जान्थेँ । ममी पनि हुनुहुन्छ । त्यसैले सिट बुक नगरी हुँदैन ।’
उनका अनुसार अरु बेला पाँच सय रुपैयाँमा घर पुगिने भए पनि अहिले दोब्बरभन्दा बढी भाडा लिने गरिएको छ ।
उनले मोटरसाइकलमा जानको लागि अनुमति पाइन्छ कि भनेर सोध्न कोटेश्वर प्रहरी चौकी जान चाहेका थिए । तर, प्रहरीले चोकसम्म पनि जान नदिएको गुनासो गरे ।
‘पासको लागि सीडीओ कार्यालयसम्म पनि जानसक्ने अवस्था भएन’, उनी भन्छन्, ‘बाहिर निस्कियो कि लाठी देखाएर कुटौंला जस्तो गर्छन् । आमालाई कुट्छन् कि भन्ने डर भएर दिउँसो पनि फर्कियौं ।’
ओखलढुंगाको भाडा दुई हजार
आकाशे पुलमुनि ना ५ ख ७४७५ नम्बरको मिनी बस पनि राखिएको थियो । सह–चालकले गाडी ओलखढुंगासम्म जान लागेको सुनाए । तर, भाडा दुई हजार रुपैयाँ लाग्ने बताएपछि यात्रुहरु हच्किए ।
‘प्रकोपको बेला भाडा पनि कति बढाउन सकेको ?’ एक जना भन्दै थिए, ‘न घर जान सक्ने अवस्था छ, न काठमाडौंमै बस्ने ।’
त्यहीँ भेटिएका अर्का एक युवक, जो धरान जान चाहन्छन् । ‘इटहरीसम्म गाडी जाँदो रहेछ, त्यहाँ पुगियो भने हिँडेरै पनि पुगिन्छ भनेर हो’, उनले सुनाए, ‘बिहान ढिलो पुर्यायो भने चाहिँ हिँड्न नदेला कि ?’
इटहरीमा चेकिङ हुने सुनेको भन्दै उनले भने, ‘नभए दिनभरि बसेर राति भएपनि घर पुग्ने हो ।’
दुई जना साथीलाई घरतिर पठाउन सडकमा निस्किएका कोटेश्वर स्थित पशुपति टेलर्समा काम गर्ने परवेज आलम पनि यस्तै अवस्थामा भेटिए । उनी पनि गाडी कुरिहेका थिए ।‘हामीले पिसको दरमा काम गर्ने हो’, उनले सुनाए, ‘सबै बन्द भएपछि काम पनि ठप्प छ । त्यसैले सबै घरतिर फर्किँदैछौं ।’
मजदुरहरु भोक सहन नसकेर घर फर्कन बाध्य छन् भने यातायात व्यवसायीहरुलाई चाहिँ यो संकटमा दशैं आएजस्तो भएको छ । मौका यही हो भनेर उनीहरुले महंगो भाडा असुलेका छन् । लकडाउनको कुनै पर्वाह नगरी कतिपय यातायात व्यवसायीले सडकमा ठूला बसहरु समेत उतारेका छन् । देशमा सरकारै नभएजस्तो अवस्था देखिएको छ ।
संक्रमणको जोखिम
विदेशबाट आएका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिए लगतै सरकारले लकडाउन घोषणा गर्नुको मुख्य उद्देश्य हो, सामाजिक दुरी कायम होस् र संक्रमण नफैलियोस् भन्नु ।
तर, साँझपख सडकमा भेटिएकाहरुलाई यसकोभन्दा धेरै चिन्ता घर जान पाइन्छ कि पाइन्न भन्ने देखिन्थ्यो ।
जनस्वास्थ्यविद् समीरमणि दीक्षित भने यसरी आवत-जावत गर्न दिने हो भने लकडाउनको अर्थ नहुने बताउँछन् । उनी भन्छन्, ‘यसरी सानो गाडीमा खाँदेर लाने हो भने सार्वजनिक यातायात नै खोल्दिए भइहाल्यो नि !’
यसरी सवारीसाधनमा हिँड्दा संक्रमणको जोखिम हुने मात्र नभई भोलिका दिनमा कसैलाई संक्रमण भइहाल्यो भने ‘कन्ट्याक ट्रेसिङ’ गर्न गाह्रो हुने दीक्षित बताउँछन् ।
गृह मन्त्रायलका प्रवक्ता केदारनाथ शर्मा भने निर्माण कार्य बन्द भएर अलपत्र परेको नेपालीहरुको सन्दर्भमा हिँड्न पाउने भनिएको भए पनि अहिले त्यसमा समेत रोक लगाइसकिएको दाबी गर्छन् ।
‘स्थानीय तहमा विवरण राखेर त्यस्ता मजदुरलाई पठाउने भनेका थियौं । सोमबारदेखि त्यो पनि बन्द भइसकेको छ,’ सहसचिव शर्माले अनलाइनखबरसँग भने ।
तर, मानिसहरु बस नै चढेर गइरहेका छन् नि भन्ने प्रश्नमा शर्माले थप विषय प्रमुख जिल्ला अधिकारीलाई सोध्न सुझाए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई सोध्दा उनले पनि सोमबार बिहान १० देखि ११ बजेसम्म अलपत्र कामदारलाई घर जान दिने भनिए पनि अहिले रोक लगाइसकिएको दाबी गरे । पाण्डेयले यसाे भनिरहँदा राजधानीमा नाकाहरूमा भिडभाड नै थियो ।
काठमाडौंका सीडीओ जनकराज दाहालले भने राति भएकाले हाेला, फोन उठाएनन् ।
तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
अनलाइनखबरमा २०७६ चैत १८ गते ९:१२ मा प्रकाशित