• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»राजनीतिमा संस्कार सिकाएर विदा भए उज्वल
    Don't miss it!

    राजनीतिमा संस्कार सिकाएर विदा भए उज्वल

    गौरव पोखरेलBy गौरव पोखरेलJune 8, 2021Updated:June 4, 2022No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् ।

    उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे । उस्तै धारको साझा पार्टीसँग एकता गरे र पार्टीले एउटा उँचाइ लिंदै गर्दा सहज रूपमा नेतृत्व हस्तान्तरण गरे ।

    वैकल्पिक राजनीतिक धारका अभियन्ता समेत रहेका थापाको मंगलबार ४४ वर्षको अल्पायुमै निधन भएको छ ।

    कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ आइसके पनि स्वास्थ्यमा सुधार भएन र, मेडिसिटी अस्पतालमा ‘एक्मो’ प्रविधिबाट उपचार गर्दागर्दै उनको निधन भयो ।

    राजनीतिमा नयाँ ‘ट्रेण्डसेटर

    राजनीतिक अस्थिरताका कारण कुनै न कुनै समूह वा पार्टीले नेपाल बन्द गर्नु सामान्य जस्तै बनेको थियो । लगातार बन्द भइरहँदा आजित बने पनि त्यसको प्रतिवाद गर्नेहरू कोही थिएनन् । २०६६ सालतिर थापा आफू जस्तै सोचाइ राख्ने युवाको समूह बनाएर ‘नेपाल बन्द सदाका लागि अन्त्य गरौं’ भन्दै सडकमा आए ।

    यो दृश्य शुरूमा धेरैलाई अनौठो लाग्यो । तर विस्तारै नेपाल बन्द सदाका लागि बन्द गर्नुपर्छ भन्ने जनमत बन्न थाल्यो । ‘नेपाल खुला छ’ अभियान चल्न थाल्यो । ‘त्यतिवेला आमहड्तालको विकल्प छ भनेर सोचिएकै थिएन’ वागमती प्रदेशसभा सदस्य बनेका रमेश पौड्याल सम्झन्छन्, ‘उहाँले राजनीतिक असहमति हुनसक्छन्, तर त्यसले कसैको रोजीरोटीमा असर गर्नुहुँदैन भनेर गरिखान देऊ जस्ता अभियान चलाएर फरक मत स्थापित गराउनुभयो ।’

    बन्द विरोधी अभियान चलाइरहेकै वेला थापाले ‘परिवर्तनका लागि हामी नेपाली एक’ नामक अभियान शुरू गरे । विद्यार्थी, विभिन्न पेशाकर्मी, अधिकारकर्मी लगायत जोडिए, जसको उद्देश्य समयमै संविधान निर्माणका लागि दबाब दिनु थियो । अभियानको नारा दियो, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ।’

    पहिलो संविधानसभा १५ जेठ २०६९ मा विघटन भयो, चार वर्ष व्यर्थ गएपछि थापाले सोचे, ‘राजनीतिको फोहोरलाई सुधार्न त्यही पोखरीमा हामफाल्नुपर्छ ।’ त्यसपछि विभिन्न अभियान चलाउँदा जुटेका समर्थक र सहयोगीको साथ लिएर थापाले ‘विवेकशील नेपाली’ नामक अभियान आरम्भ गरे ।

    विवेकशील नेपालीले राष्ट्रिय मुद्दामा रचनात्मक खबरदारी गर्ने काम गरिरह्याे। थापाको नेतृत्वमा भएका विरोध प्रदर्शन अन्य पार्टीभन्दा विल्कुलै फरक हुन्थे । साउदी अरबबाट फर्किएकी सीता राई सुरक्षाकर्मीबाट बलात्कारमा परेपछि २०६९ मंसीरमा थापा आफैंले फरिया लगाएर प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरे । थापाको नेतृत्वमा विवेकशील लोकमान प्रकरणको खरो विरोध र डा. गोविन्द केसीले उठाएका मागहरूको समर्थनमा उत्रियो । प्रदर्शनस्थलबाट थापा पटक-पटक गिरफ्तारीमा पनि परे ।

    ‘विवेकशील नेता उत्पादन गर्ने’ भन्दै चलाइएको अभियान २०७१ सालमा विवेकशील नेपाली दलका रूपमा आधिकारिक तवरमा निर्वाचन आयोगमा दर्ता भयो । स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई उम्मेदवारका रूपमा अगाडि सारेपछि शहरी जनमत निकै तरंगित भएको थियो ।

    स्थानीय चुनावलगत्तै ११ साउन २०७४ मा थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकरण गर्‍यो । एकीकृत पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधिसभामा उम्मेदवार बनेर थापाले ६ हजार ८१३ मत ल्याएका थिए ।

    तर एकता लामो समय टिकेन । २७ पुस २०७५ मा मिश्र र थापा नेतृत्वको पार्टी अलग-अलग भयो । विवेकशीलमा रहेका थापाले २९ असोज २०७६ मा भएको दलको आन्तरिक निर्वाचनमा नयाँ पुस्तालाई अघि सारे । त्यो चुनावबाट मिलन पाण्डे उत्तराधिकारीका रूपमा आए र फेरि साझा पार्टीसँग एकता गरे । विवेकशील साझामा पाण्डे संयोजक र रवीन्द्र मिश्र अध्यक्ष बन्दा उज्ज्वल पार्टीको सदस्य मात्र बने ।

    ’उज्ज्वल थापाले राजनीतिमा फरक मान्यता स्थापित गराउनुभयो । राष्ट्रिय जीवनका जटिल मुद्दामा शालीन, शिष्ट र सभ्य तरिकाले पनि अभियान चलाउन सकिन्छ भन्ने विषयको प्रणेता उहाँ नै हो

    – डा. सूर्यराज आचार्य

    थापा भन्थे, ‘लामो दूरीका धावक हौं’

    पार्टीमा डेढ वर्ष सँगै काम गरेका पूर्वाधारविद् डा. सूर्यराज आचार्यको सम्झनामा थापा वैकल्पिक राजनीतिका सूत्रधार हुन् ।

    ‘नेता भन्ने वित्तिकै बुढा पुस्ता, जेल बसेका र लाठी खाएकै हुनुपर्छ भन्ने स्थापित परिभाषा थियो’ आचार्य भन्छन्, ‘त्यो परिभाषा उहाँकै अगुवाइमा परिवर्तन भयो र युवा जमातलाई पनि उहाँले राजनीतिसँग जोड्ने काम गर्नुभयो ।’ अरूले विगतलाई देखाएर राजनीति गरिरहेका वेला थापाले चाहिं भविष्यलाई हेरेर राजनीति गरेको उनी बताउँछन् । ‘सिर्जनशील प्रदर्शन गरेर उहाँले राजनीतिमा फरक मान्यता स्थापित गराउनुभयो’ आचार्यले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय जीवनका जटिल मुद्दामा शालीन, शिष्ट र सभ्य तरिकाले पनि अभियान चलाउन सकिन्छ भन्ने विषयको प्रणेता उहाँ नै हो ।’

    थापा युवा पुस्ताका लागि प्ररेक व्यक्तित्व थिए । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्ट सम्झन्छन्, ‘उहाँ एकदमै सहयोगी र पार्टीभित्र हरेकलाई सम्मान गर्ने स्वभावको हुनुहुन्थ्यो ।’ छिटो प्रतिक्रिया नजनाउने स्वभावका थापा पार्टीभित्र हरेकका कुरा सुन्थे, अन्तिममा आफ्नो छोटो भनाइ राख्थे ।

    विवेकशील साझा पार्टी, वागमतीका प्रदेशसभा सदस्य पौड्याल पनि थापाले मूल्य, मान्यता र पारदर्शिताको राजनीति गरेको बताउँछन् । ‘उहाँको नेतृत्वमा पार्टीले हरेक कार्यक्रममा उठेका रकम र खर्चको विवरण तत्कालै सार्वजनिक गर्थ्यो’ उनी थप्छन्, ‘अडिट रिपोर्ट बुझाउने कार्यमा पनि पार्टीले कहिल्यै ढिला गरेन ।’ उनका अनुसार थापा तत्कालै पदमा पुग्नुपर्छ, सत्तामा पुग्नुपर्छ भन्ने मान्यता पनि राख्दैनथे । पौड्याल भन्छन्, ‘उहाँले पटकपटक भन्नुहुन्थ्यो, हामी लामो दूरीका धावक हौं, गन्तव्यमा पुग्न समय लाग्छ ।’

    वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको पार्टीको नेतृत्व गरेका थापा सरल स्वभावका थिए । एकपटक ट्याम्पोमा चढेको दृश्य सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । उनी उपचार गराउन पनि सरकारी अस्पताल नै पुग्थे ।

    भिक्षु बन्न हिंडे, कफी खेती पनि गरे

    मध्यम वर्गीय परिवारमा जन्मिएका थापाले छात्रवृत्तिमा काठमाडौंको बूढानीलकण्ठ माध्यमिक विद्यालयमा पढ्ने अवसर पाए । थापासँगै पढेका नर्भिक अस्पतालका डाक्टर विश्व दवाडी सम्झन्छन्, ‘ऊ एकदम सामान्य, पढाइमा तेज विद्यार्थी थियो ।’ यद्यपि थापाले विद्यालयमा पढ्दैदेखि शिक्षा किताबमा मात्र सीमित हुनुहुँदैन भन्ने मान्यता राख्ने गरेको उनी बताउँछन् ।

    विद्यालयमा भएको एउटा रोचक घटना अहिले पनि उनका साथीभाइहरू सम्झन्छन् । बूढानीलकण्ठमा क्याम्ब्रिज युनिभर्सिटीको ‘ए-लेभल इंग्लिस लिटरेचर’को अन्तिम परीक्षा भइरहेको थियो । थापाले राम्रो तयारी गरेका रहेनछन्, परीक्षामा अनुत्तीर्ण हुनेमा निश्चित थिए । शुरूमै परीक्षा हल छाडेर निस्किने कुरा पनि भएन । त्यसपछि उनले सोधिएका प्रश्नको जवाफ कार्टुन चित्र बनाएर दिएछन् ।

    ‘त्यो देखेर सबै साथीहरूले उनलाई गिज्याए, कतिले पागल भने’ दवाडी भन्छन्, ‘तर नतिजा आउने वेला उनले धेरै विद्यार्थीभन्दा राम्रो अंक ल्याए ।’ खासमा थापाले कार्टुनकै माध्यमबाट सोधिएका प्रश्नको जवाफ प्रस्तुत गरेका रहेछन् ।

    बूढानीलकण्ठमा १९ वर्षको उमेरमा अध्ययन पूरा गरेपछि अमेरिकाको बेनिङ्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाए । त्यहाँ उनी ‘खगोल तथा भौतिक विज्ञान (एक्सट्रोफिजिक्स)’ अध्ययन गर्न गएका थिए । यद्यपि त्यो छाडेर उनी ‘मल्टिमिडिया’ र ‘इन्टरफेस डिजाइन’ पढ्न थाले ।

    अध्ययन लगभग पूरा हुन लागेका वेला ‘भौतिकवादी जीवनशैली’बाट टाढा हुने भन्दै धर्म र अध्यात्मतिर लागे । उनी कलेज छाडेर क्यालिफोर्नियाको एक बौद्ध गुम्बामा भिक्षु बन्न पुगे । एक साता बढी गुम्बामा बसिसकेपछि त्यहाँ पनि उनलाई त्यति सहज लागेन । पढाइ सक्ने भन्दै उनी फेरि कलेजतिरै फर्किए ।

    पाँच वर्ष अमेरिका बसाइपछि सन् २००१ मा स्वदेशमै आईटी कम्पनी खोल्ने भन्दै थापा नेपाल आए ।

    ‘स्वदेश आउँदा मसँग दुईवटा ठूला झोलामा एप्पलको म्याक जीफोर कम्प्युटर र २१ इञ्चको मोनिटर मात्र थियो’ उनले आफ्नो एउटा ब्लगमा लेखेका थिए ।

    चाहेको भए उनका लागि अमेरिकामै राम्रो भविष्य थियो । तर स्वदेशमै ‘जीवनको अर्थ’ खोज्ने भन्दै थापा नेपाल फर्किएका थिए । नेपाल आउँदा माओवादी सशस्त्र द्वन्द्व जारी थियो । उनले द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम दिन थाले । रोल्पा, सुर्खेत जस्ता ठाउँमा गएर संघर्षरत र अर्को पक्षबीच संवाद कसरी शुरू गर्ने भन्ने सिकाए ।

    त्यसको दुई वर्षपछि उनले डिजिटल म्याक्स सोलुसन (डीएमएस) नामक आईटी कम्पनी खोले । उनले साथीभाइलाई जम्मा गरेर रोजगारी पनि दिए, तर भर्खर सूचनाप्रविधिमा पहुँच विस्तार हुँदै गरेको त्यो वेलाको समयमा उनको कम्पनी सोचे जस्तो भने चलेन । द्वन्द्व, लोडसेडिङ, इन्टरनेटमा समस्या जस्ता विषयले पनि कम्पनीलाई धक्का दियो । यद्यपि उनले नेपालमा आईटी उद्योगको जग हाल्ने काम गरेको प्रविधिको क्षेत्रमा काम गर्नेहरू सम्झिन्छन् । उनले आईटीमा संलग्नहरूलाई जोडेर ‘वर्डप्रेस नेपाल’ नामक समूह पनि बनाएका थिए ।

    थापाले अग्र्यानिक कफी खेतीमा पनि हात हालेका थिए । स्याङ्जाको एक गाउँलाई ‘अग्र्यानिक कफी गाउँ’ नै बनाउन खोजेका थिए, जसलाई उनका आफन्तले अघि बढाइरहेका छन् ।

    लोकप्रिय नेता

    कहिल्यै लाभको पदमा नपुगेका उनी बिरामी हुँदा नै नेपालीले निकै सम्मान र सद्भाव देखाएका थिए । कोभिड-१९ को संक्रमणसँगै गम्भीर बिरामी परेका उनको इक्मो प्रविधिबाट उपचार गर्न धेरै खर्च लाग्ने भएपछि सहयोग आह्वान भएको थियो । तर झण्डै २३ घण्टामा ५० लाखभन्दा बढी जुट्यो ।

    विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे सम्झन्छन्, ‘दाइको लागि शुभचिन्तकहरूले यति सद्भाव देखाउनुभयो कि २३ घण्टामै ५० लाख बढी जम्मा भयो ।’

    उपचारकै क्रममा उनको मंगलबार अपराहृन निधन भयो । धेरैले उनलाई वैकल्पिक मात्र होइन, सुसंस्कृत राजनीति गर्ने नेता गुमाएको प्रतिक्रिया दिएका छन् ।

    २०७८ जेठ १८ गते २१:५८ मा प्रकाशित

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022

    पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश

    November 24, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.