• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»नझुक्किनुस् है ! यो लकडाउनकै तस्वीर हो !
    Nepal Police

    नझुक्किनुस् है ! यो लकडाउनकै तस्वीर हो !

    गौरव पोखरेलBy गौरव पोखरेलMay 8, 2020Updated:May 11, 2020No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल आइतबार बुढानीलकण्ठ पुग्दा एउटा गाडी सडक छेउमा पार्किङ गरेको भेटियो । गाडीमा मान्छे थिएनन् ।

    ‘छेउमा भएका प्रहरीसँग सोधपुछ गर्दा पाससहित आएको थाहा भयो’, एसएसपी ढकालले सुनाए, ‘त्यहाँ गाडी राखेर दुईजना हाइकिङका लागि जंगलतिर गएका रहेछन् ।’

    जावलाखेलमा कार्यरत ट्राफिक प्रहरीले दैनिकजसो एउटा मोटरसाइकल पछाडि कार्टुन राखेर एक व्यक्ति हिँड्ने गरेको नोटिस गरेका थिए । ‘कार्टुनमा औषधि लेखिएको थियो तर सधैं एउटै कार्टुन जस्तो देखेपछि ड्युटीमा खटिएका जवानलाई शंका लागेछ’, एक अधिकृतले सुनाए, ‘उनीहरूले खोलेर हेर्दा कार्टुनभित्र कागज मात्र थियो ।’

    ती व्यक्तिलाई तीनघण्टा सडकमै होल्ड गराएर छाडियो ।

    महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको अनुभवमा एउटै तरकारीको झोला बोकेर दैनिक सडकमा निस्किनेहरू पनि भेटिएका छन् । ‘एउटा फर्सी हालेर नकुहिञ्जेलसम्म बोकेको पनि पाइएको छ’, उनी भन्छन् ।

    एसएसपी ढकाल एकजना युवती दैनिक स्कुटरमा हिँडिरहेको देखेपछि ट्राफिकले रोकेको सम्झन्छन् । ‘सधैं तरकारी भन्दै हिँड्दिरैछिन्, डिकी खोलेर हेर्दा ओइलाएको मुला भेटियो’, उनले सुनाए ।

    बिहान मर्निङवाकका नाममा सडकमा बुझेकै व्यक्ति पनि निस्किने गरेकाले पनि प्रहरी अधिकृतहरू हैरान भएको बताउँछन् । विनापासमा मात्र होइन, पास भएका व्यक्ति पनि म्याद सकिएपछि समेत सडकमा निस्किने गरेको प्रहरीको अनुभव छ ।

    कोही महाराजगञ्जमा भएको अस्पतालको कार्ड भिरेर दिउँसो काभ्रेतिर निस्किने गरेको ट्राफिक प्रमुख ढकाल सुनाउँछन् ।

    सडकमा बढ्दो सवारी चापलाई प्रहरी अधिकृतहरूले पनि महसुस गरेका छन् । तर, अधिकांश गाडी पास लिएरै सडकमा निस्किएको उनीहरू बताउँछन् ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली नक्कली पास बनाएर हिँडेको पाइएको बताउँछन् । उनका अनुसार नक्कली पास बनाएको आरोपमा सिंहदरबार क्षेत्रबाट दुई व्यक्ति पक्राउ परेका छन् ।

    परिसरको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दका अनुसार दुवै जनाविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते गरेको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी पासको दुरुपयोग हुनसक्ने भएकाले चेकजाँचमा कडाइ गर्न प्रहरीलाई सर्कुलर पठाइसकिएको बताउँछन् ।

    ‘छोटो अवधिको पास लिएर धेरै दिनसम्म प्रयोग गर्न सक्ने देखिएकाले कडाइका साथ जाँच्न भनेका छौं’, अधिकारीले अनलाइनखबरसँग भने, ‘अवधि सकिएको पास छ भने तत्काल खोसेर सवारीसाधन पनि नियन्त्रणमा लिन भनेका छौं ।’

    सडकमा बाक्लिँदैछन् सवारी साधन

    कोरोना नियन्त्रणका लागि लकडाउन सुरु हुँदै गर्दा प्रहरी अधिकृतहरू भन्थे, ‘यो पहिलो अनुभव भएकाले कस्तो हुँदोरहेछ भनेर हेर्नलाई पनि मानिसहरू सडकमा आइरहेका छन् ।’

    तर, लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा पनि मानिसहरू सडकमा निस्किने क्रम घटेको छैन । बरू सवारी चाप बढ्न थालेको छ ।

    मानिसहरूको गतिविधि नबढोस् पनि किन ? सरकारले उपत्यकामा बारम्बार लडकाउन बढाएको बढायै छ । उपत्यकाको जनजीवन उकुस-मुकुस बनिरहेको छ ।

    यो पनि पढ्नुहोसकाठमाडौंमै अल्मलियो सरकार ! लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

    लकडाउनलाई नै एकमात्र विकल्प ठानेको सरकारले उपत्यकामा अहिलेसम्म टेस्टिङको दर बढाएको छैन । अब उपत्यका आवत-जावत गर्ने नाकाहरूमा कडाइ गरेर उपत्यकालाई ग्रीन जोन घोषणा गरी लकडाउन खुकुलो पार्नुपर्ने माग हुन थालेको छ ।

    उता, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार काठमाडौंमा दैनिक दुई हजार मानिस लकडाउन उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्दै आएका छन् ।

    मंगलबार बिहान ८ बजेसम्म काठमाडौं, भक्तपुर र ललितपुरबाट एक हजार ६६ जना कारबाहीमा परे । लकडाउन सुरु भएदेखि हालसम्म ९३ हजार ८ सय १५ जना कारबाहीमा परेको प्रहरीको भनाइ छ ।

    यो अवधिमा उपत्यकामा मात्र २१ हजार सवारी साधन कारबाहीमा परेको तथ्यांक छ ।

    प्रहरीले उपत्यका छिर्ने नाकामा कडाइ गरेको बताइ रहे पनि १८ वैशाखदेखि चार दिनको अवधिमा काठमाडौंमा ६ हजार १५ वटा सवारीसाधन र १४ हजार ६४७ जना मानिस उपत्यका भित्रिएको सरकारी तथ्यांक छ

    लकडाउनको कार्यान्वयन फितलो बन्दै गएको गुनासो बढिरहेको छ । उपत्यकाका मेयरहरूले पनि लकडाउनमा आवत-जावतलाई पूर्णतः निषेध गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेरै आग्रह गरिसकेका छन् ।

    गृह मन्त्रालयले पनि कडाइ गर्न ७७ वटै जिल्लालाई परिपत्र गरेको छ । यद्यपि, उपत्यकासहितका विभिन्न जिल्लामा लकडाउन उल्लङ्घन हुने क्रम रोकिएको छैन । उपत्यका छिर्ने क्रम पनि नरोकिएको सरकारी तथ्यांकले देखाएको छ ।

    विज्ञको प्रश्न– एकातिर लकडाउन भन्ने, अर्कातिर मान्छे ल्याइरहने ?

    जनस्वास्थ्यविद् समीरमणि दीक्षित लकडाउन ४२ औं दिनमा पुगिसकेको अवस्थामा नागरिकहरूमा धैर्यताको सीमा पनि फुट्दै गएको बताउँछन् ।

    ‘काठमाडौंको हकमा सर्वसाधारणले लकडाउनको धेरै हदसम्म पालना गरेका छन् । दुई हप्तादेखि संक्रमण पनि देखिएको छैन’, दीक्षित भन्छन्, ‘उदयपुर र बाँकेमा लकडाउनको पालना नहुँदा के भयो, देखिएकै छ । त्यसैले उपत्यकामा मात्र कडाइ होइन कि तराईतिर पनि कडाइ गर्नुपर्‍यो ।’

    एकातिर लकडाउन भनिरहने र अर्कातिर सीमाबाट पनि मानिस ल्याइरहँदा यसको अर्थ नहुने दीक्षित बताउँछन् । ‘कि त लकडाउनको पूर्ण पालना हुनुपर्‍यो, नभए लकडाउन गर्नुको अर्थ रहन्न’, उनी भन्छन् ।

    उपत्यका छाड्नेसँगै भित्रिनेको संख्या पनि उस्तै

    उपत्यकामा अलपत्र मजदुरका कारण समस्या सिर्जना भएको निष्कर्षपछि गृह प्रशासनले अनौपचारिक रुपमा मजदुर लैजान सवारी आवगमन खुकुलो बनाएको थियो । तर, अहिले अप्ठ्यारो परिस्थितिमा रहेका सबै मजदुर र विद्यार्थी सम्बन्धित जिल्लामा पुगिसकेको निष्कर्षसहित सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    अत्यावश्यक अवस्थामा हिँड्नका लागि पनि कडाइ गरिएको छ । गृह मन्त्रायलले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई एक जिल्लाभित्र मात्र लागु हुने गरी पास दिन भनेको छ । अत्यावश्यक अवस्थामा जिल्ला बाहिर पठाउनु परे सम्बन्धित जिल्लाको प्रशासनलाई पनि खबर गर्न भनिएको छ ।

    तर, प्रहरीले उपत्यका छिर्ने नाकामा कडाइ गरेको बताइरहे पनि १८ वैशाखदेखि चार दिनको अवधिमा काठमाडौंमा छ हजार १५ वटा सवारीसाधन र १४ हजार ६४७ जना मानिस उपत्यका भित्रिएको सरकारी तथ्यांक छ । यो थानकोट, चोभार र बालाजु बाइपासमा बस्ने सुरक्षाकर्मीले संकलन गरेको तथ्यांक हो ।

    यही अवधिमा छ हजार ८४ सवारी साधन र १७ हजार छ सय ९५ जना मानिसले उपत्यका छाडेको तथ्यांकले देखाउँछ । जगाती नाकामा खटिएका सशस्त्र प्रहरीले राखेको विवरणअनुसार यही अवधिमा जगातीबाट एक हजार तीन सय ७२ वटा सवारीसाधन र तीन हजार ७ सय ३९ जना उपत्यका छिरेका छन् ।

    यो अवधिमा एक हजार चार सय ६३ वटा सवारीसाधन र ४ हजार ३४२ जना मानिस उपत्यकाबाट बाहिर गएको तथ्यांकले देखाउँछ ।

    सडकमा सवारी साधन बढ्नुको कारण

    ट्राफिक प्रमुख एसएसपी ढकाल सडकमा सवारी साधन बढेको देखिनुका पछाडि सर्वसाधारणको दैनिकीसँग जोडिएका केही निश्चित कारण भएको बताउँछन् ।

    उनका अनुसार पास लिएका गाडी पनि बढेका छन् । त्यसबाहेक विभिन्न सपिङ कम्प्लेक्सहरूले टोलटोलमा सामान पुर्‍याउन थालेकाले पनि सवारी बढेका छन् ।

    राहत वितरणका नाममा पनि धेरै सवारी साधन सडकमा निस्किएको उनी बताउँछन् । ‘अहिले सरकारी कार्यालय खुलेको छ, अदालत र वित्तीय संस्था खुलेका छन्’, ढकालले भने, ‘त्यसका लागि कर्मचारी कार्यालयसम्म जानुपर्‍यो । कर्मचारी गएपछि सेवाग्राही पनि जानुपर्‍यो ।’

    ढकालका अनुसार लकडाउनका समयमा विकास निर्माणका कार्य पनि भइरहेका छन् । ‘ढल, सडक र विद्युत मर्मतको काम पनि भइरहेका छन्’, उनले भने, ‘यसका लागि कामदान आउनुपर्‍यो, सामान लिन जानुपर्‍यो । त्यसैले आवत-जावत बढेको हो ।’

    उनका अनुसार विकास निर्माणका लागि टिपरलगायतका सवारीसाधनलाई पनि आवत–जावत गर्न दिइएको छ ।

    यसैबीच मंगलबार बालुवाटारमा बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले वैशाख २५ पछि पनि लकडाउनलाई निरन्तरता दिने तर यसको मोडालिटी परिवर्तन गरिनुपर्ने सिफारिस गरेको छ । बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे ठोस निर्णय गर्ने समितिले जनाएको छ ।

    ‘सहजीकरण गर्दा सवारी साधन बढेजस्तो देखिएको हो’

    महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भने लकडाउन लागु भएको दिनदेखि अहिलेसम्मको अवधिमा उल्लङ्घनका संख्यालाई हेर्ने हो भने त्यो नबढेको दाबी गर्छन् ।

    ‘जनताका आधारभूत आवश्यकतासँग जोडिएका सेवा प्रवाहका क्षेत्रलाई खोल्नु जरुरी हुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘त्यसलाई सहजीकरण गरिरहेकाले सडकमा गुड्ने सवारी साधन बढेको जस्तो देखिएको हो ।’

    नागरिकका आवश्यकलाई परिपूर्ति गर्न समन्वय गर्ने हकमा प्रहरीले एउटा अनुशासन, सामाजिक दुरी र सुरक्षाका आधारभूत विषयलाई ख्याल गरेर सहजीकरणसमेत गरेको उनले बताए ।

    काठमाडौंभन्दा भक्तपुर र ललितपुर व्यवस्थित

    विभिन्न जिल्लाका प्रशासनले फरक-फरक नियम लागु गराइएको भेटिएको छ । भक्तपुरमा खाद्य सामग्रीका पसल जतिसुकै बेला खुल्ने गरेका छन् । यद्यपि, खरिद गर्न जाने क्रमलाई नियमन गरिएको छ ।

    भक्तपुर नगरपालिकाले प्रत्येक घरमा एउटा पास वितरण गरेको छ । जसका आधारमा नगरवासीहरू सामग्री खरिद गर्न जाने गरेका छन् ।

    भक्तपुरका एसपी सविन प्रधान भन्छन्, ‘पास लिनेबित्तिकै हिँड्ने भन्ने होइन कि आवश्यकताअनुसार हिँड्नलाई पनि नियमन गर्ने गरी यो नियम लागु गरिएको हो ।’

    काठमाडौंमा भने बिहान १० बजेसम्मको समयमा मात्रै पसल खुल्ने गरेको छ । यद्यपि, यो स्थानीय प्रशासन र प्रहरीले अवस्थाअनुसार व्यवस्थापन गरिरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य बताउँछन् ।

    ललितपुरमा भने सुपरमार्केटहरूलाई बिहान १० बजेबाट साँझ ७ बजेसम्म खुल्न दिइएको छ ।

    ‘निश्चित समयसम्म मात्र खोल्दा झन् धेरै भिड हुने भएकाले दिनभर खोल्न दिएका हौं’, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘अरू खाद्य पसलका हकमा कतिपय बिहान मात्र खुलेका छन् भने कतिपय ठाउँमा वडाध्यक्षहरूले समयको व्यवस्थापन गर्नुभएको छ । हामीले सुरक्षा दिएका छौं ।’

    तस्वीरहरू: चन्द्रबहादुर आले/अनलाइनखबर

    कोरोना भाइरस लकडाउन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    सरकारी वकिल VS CIB : संगठित अपराधमा ६२ दिन थुनेर किर्तेमा मुद्दा

    August 29, 2023

    शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन देउवाको दबाब

    August 18, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.