• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»सुगम झापाभित्रको दुर्गम ‘झापा’
    Features

    सुगम झापाभित्रको दुर्गम ‘झापा’

    गौरव पोखरेलBy गौरव पोखरेलMay 31, 2022Updated:July 5, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । तर जुन ठाउँले जिल्लालाई चिनायो, त्यही नाम चाहिँ ओझेलमा छ । धन्न संघीयताले अहिले ‘झापा गाउँपालिका’ बनाइदियो, नत्र त मान्छेले यो ठाउँ बारे थाहै पाउँदैनथे ।

    झापा भन्ने वित्तिकै जोकोहीले सुगम जिल्ला सोच्छन्, सुविधा र राजनीतिक चेतका हिसाबले अग्रणी ठाउँ ठान्छन् । तर, यही जिल्लाभित्र पनि झापा भन्ने अर्को ठाउँ छ, जसको बारेमा थोरैलाई मात्रै थाहा छ ।

    पूर्वप्रधानपञ्च गणितप्रसाद गणेशका अनुसार दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । ‘तर अहिले जुन ठाउँले जिल्लालाई नै चिनायो, त्यही चाहिँ ओझेलमा छ’ गणेश भन्छन्, ‘संघीयताले अहिले झापा गाउँपालिका बनाइदियो, नत्र त मान्छेले यो ठाउँलाई पूरै भुलिसकेका थिए ।’

    पहिलेको कुमरखोद, टाघनडुब्बा र शरणामती गाउँ विकास समिति गाभेर झापा गाउँपालिका बनाइएको हो । ‘गाउँपालिकाको नाम झापा भए पनि इतिहास अहिलेकालाई के चासो र !’ उनी दुःखेसो गर्छन्, ‘झापा अब पहिले जस्तो रहेन ।’

    उनका अनुसार २००७ सालअघिसम्म झापा जिल्लाको सदरमुकाम यहीँ थियो । ‘त्यतिबेला पूर्व-पश्चिम राजमार्ग बनिसकेको थिएन, कर्मचारी काठमाडौंबाट आउनु पथ्र्यो’ गणेश भन्छन्, ‘काठमाडौं जान उनीहरु भारतीय बाटो प्रयोग गर्थे ।’ त्यसबेला गलगलियामा रेलवे स्टेशन भएकाले कर्मचारीले आफ्नो सहजताका लागि सदरमुकाम चन्द्रगढी सार्न पहल गरेको उनी सुनाउँछन् ।

    हेर्नुस् भिडियो

    ‘कर्मचारीले सदरमुकाम सार्न खोज्दा झापा बजारबारे बोल्ने कोही भएनन्’ उनी भन्छन्, ‘त्यसबेला क्रान्तिका अगुवाहरु सन्तविर लामा, रामप्रसाद आचार्य, धर्मप्रसाद आचार्य, फत्तेबहादुर बुढाथोकी लगायतका व्यक्तिहरु पनि यस क्षेत्रका नभएकाले कर्मचारीहरुलाई सदरमुकाम सार्न सहज भयो ।’

    सदरमुकाम सरेपछि सबै सरकारी कार्यालयहरु उठेर चन्द्रगढीतिर गए । ‘त्यसपछि आदिवासी राजवंशी, गनगाईं, चौधरी, गणेशहरुको बाहुल्य रहेको यो क्षेत्र सधै पछाडि पर्दै गयो’ गणेश भन्छन् । उनका भनाइमा, जिल्लाका अरु ग्रामिण क्षेत्रमा पनि विकास नभएका होइनन्, तर भारतसँग सीमा जोडिएको यो क्षेत्र चाहिँ कहिल्यै उठ्न सकेन ।

    स्थानीय कुवाडीदेवी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ज्ञाननाथ उप्रेतीका अनुसार, झापा बजारका बचेका केही कार्यालय पनि २०६२/०६३ को आन्दोलनपछि उठेर गए । छोटी भन्सार कार्यालय, बन्द भयो । ‘भन्सार चलेको भए पनि केही चहलपहल हुन्थ्यो कि’ उनी भन्छन्, ‘अहिले भन्सारको भवन त छ, तर सञ्चालनमा छैन ।’

    माओवादी द्वन्द्वपछि बैंकहरु पनि उठेर गए, त्यसपछि झापा बजार उसबेला जस्तो स्थितिमा रह्यो, अहिले पनि हालत उही छ । झापा बजारमा लामो समयदेखि पसल चलाउँदै आएका ७१ वर्षीय श्रवणलाल राजवंशी भन्छन्, ‘अहिले गाउँपालिका भयो, सशस्त्र प्रहरी बस्यो, त्यस बाहेक झापा बजारमा केही फेरिएको छैन ।’

    पिछडिएको ठाउँ

    विक्रम सम्वत २०१७ सालमा बनेको घर । यो घरमा त्यसबेला नेपाल बैंक थियो ।

    पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-३, सुरुङ्गाबाट अमरपथ सडकखण्ड हुँदै करिब २४ किलोमिटर दक्षिणमा झापा बजार पर्छ ।

    ‘बरु गाउँका स-साना बाटा बनेका छन्, तर अहिलेको सदरमुकाम चन्द्रगढीसँग जोड्ने सडकको चाहिँ बेहाल छ’

    पूर्वप्रधानाध्यापक उप्रेती भन्छन्, ‘अलिअलि भएको बाटो पनि भत्काएर सुख्खाममा धुलो र पानी परेको बेला हिलाम्य हुने अवस्था छ ।’

    झापा बजार-सुरुङ्गा जोड्ने अमरपथ सडकखण्ड सडक विभागको योजनामा पर्ने भएकाले अलपत्र भएको उनी बताउँछन् । भन्छन्, ‘गाउँपालिकाको भागमा पर्ने कालोपत्रे भइसकेपछि सडक विभागको काम गराइ एकदमै ढिलो छ ।’

    सडकको राम्रो सुविधा नहुँदा गाउँ त्यसै पनि पछाडि पर्ने भइहाल्यो । स्थानीय मणिकराज गणेशका अनुसार गाउँमा वर्षेनि सर्पदंशको समस्या हुन्छ । ‘सर्पदंशको उपचार गर्न जतिसक्दो छिटो लैजानुपर्ने हुन्छ, तर बाटोका कारण उपचार केन्द्रसम्म पुर्‍याउनै कम्तिमा पनि एक/डेढ घन्टा लाग्छ’ स्थानीय डिल्लीराज माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘उपचारका लागि २२ किलोमिटर पर रहेको सुरुङ्गा वा ३८ किलोमिटर पर रहेको चारआली लैजानुको विकल्प छैन ।’

    अरु रोगका कारण समस्या भइहाले पनि उपचार गर्न जान समस्या छ, गाउँमा प्राथमिक उपचार केन्द्र मात्रै छ । ‘उपचार गर्नु परे विर्तामोड कि बिराटनगर जानुको विकल्प छैन’ झापा बजारका राम महतो भन्छन्, ‘अस्ति भर्खर ठूलो सरकारी अस्पताल बनाउने भनेर शिलान्यास त गरेका छन्, काम केही भएको छैन ।’

    मणिकराजका अनुसार झापाका अधिकांश वासिन्दाको मुख्य पेसा कृषि हो ।

    ‘झापा बजार मकैको पकेट क्षेत्र नै घोषणा भएको छ, यहाँ धान, पाटा, गहुँको खेती हुन्छ’ गणेश भन्छन्, ‘तर बजारकै समस्या छ, स्थानीय उत्पादन बिक्री गर्न कम्तिमा पनि २२ किलोमिटर अगाडि सुरुङ्गासम्म पुर्‍याउनुपर्छ ।’ वर्षेनि मल, विउविजनको पनि समस्या हुने गरेको उनी बताउँछन् ।

    ‘मुख्य काम नै कृषि हो तर कृषि प्राथमिकतामा नपर्दा झन् समस्या छ’ गणेश भन्छन् । शिक्षाका लागि पनि गाउँमा राम्रो विद्यालय छैन । डिल्लीराज माविमा कक्षा १२ सम्म पढाइ हुन्छ, त्यसपछि पढ्नलाई विर्तामोड जानुपर्छ ।

    झापा बजारलाई वर्षेनि डुबान र बाढीको समस्याले पनि सताउने गर्छ । सानो माई र ठूलो माईको बीचमा रहेको मिलन बस्तीमा वर्षेनि जनधनको क्षति हुने गर्छ । ‘जनताको तटबन्ध कार्यक्रम अनुसार बाँध बाध्ने प्रयास नभएको होइन’ उनी भन्छन्, ‘तर ठूलो पानी आउँदा भत्काइहाल्छ ।’

    झापा गाउँपालिकाका बासिन्दालाई सर-सामान किनमेलका लागि डिघलबैंकस्थित भारतीय बजार जान सहज पर्छ । तर दुई किलो चिनी ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिइहाल्छ । ‘एसएसबीले बरु केही गर्दैन, सशस्त्र प्रहरीले दुःख दिइहाल्छ’ राम महतो भन्छन्, ‘छुट दिनुपर्नेमा एउटा पोको ल्याउँदा पनि दुःख दिइहाल्छ ।’

    झापा बजारको सीमा भारतको बिहार राज्यसँग जोडिन्छ । त्यहाँ मदिरा प्रतिबन्ध भएपछि भारतीय नागरिकहरु रक्सी पिउन पनि नेपालतिर प्रवेश गर्छन् । यसले बिहारतिर शान्ति छ भने नेपालतिर होहल्ला हुने स्थानीय बताउँछन् ।

    झापा बजारका वासिन्दा कुनै वेला चोरी र डकैतीका कारण हैरान थिए । सीमा क्षेत्रमा पर्ने यो गाउँका हरेक घरमा एकजना रातभर जाग्रम बसेका हुन्थे । पूर्वप्रधानपञ्च गणेश भन्छन्, ‘मोबाइल आएपछि अहिले पहिले जस्तो समस्या त छैन, तर प्रहरीकै विजोग छ ।’

    माओवादी द्वन्द्वका वेला विष्फोट गराइएको झापा गाउँपालिकाको इलाका प्रहरी कार्यालय भवन पुनर्निमाण नहुँदा अहिले प्रहरी आफैं असुरक्षित महसुस गर्छन् । गणेश भन्छन्, ‘पुननिर्माणका लागि बजेट पनि छुट्टिएको हो, तर बनिसकेको छैन ।’

    हुलाकी राजमार्गको आश

    सडकको अवस्था ।

    पूर्वप्रधानाध्यापक उप्रेतीका अनुसार झापा बजारको विकास गर्ने हो भने कृषि क्षेत्रमा जोड दिनुको विकल्प छैन । ‘तर किसानका लागि योजना ल्याउने काम राज्यबाट पनि भएन’ उनी भन्छन्, ‘गाउँको सिंहदरबार स्थानीय सरकारले पनि योजना ल्याउन सकेको छैन ।’

    गाउँपालिका अध्यक्ष जयनारायण शाह चाहिँ सिँचाइका लागि जनतालाई सुविधा होस् भनेर ‘जहाँ खेत त्यहाँ विजुली’ भन्ने अभियान नै चलाइएको बताउँछन् । ‘कृषक समूहलाई अनुदानमा पानी तान्ने मेसिन पनि दिइरहेका छौं, यद्यपि त्यति मात्र पर्याप्त छैन’ शाह भन्छन् ।

    उप्रेतीको बुझाइमा झापा बजारबारे बलियो गरी आवाज उठाउने व्यक्ति नहुँदा पनि गाउँ ओझेलमा परेको हो । स्थानीय कमल सुवेदीका अनुसार झापा गाउँपालिका भएर हुलाकी राजमार्ग बन्दैछ । ‘हुलाकी राजमार्ग बने गाउँको केही फेरिन्थ्यो कि’ उनी भन्छन्, ‘तर १२ वर्ष भइसक्यो, अहिलेसम्म अलपत्र छ ।’

    गाउँ शाहर झापा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.