• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»इराक घटनाको १७ वर्ष : कुरा हुन नपाएको त्यो अन्तिम फोन
    Miscellaneous

    इराक घटनाको १७ वर्ष : कुरा हुन नपाएको त्यो अन्तिम फोन

    गौरव पोखरेलBy गौरव पोखरेलSeptember 1, 2021No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    झापाको कमल गाउँपालिकाकी ६९ वर्षीया देवका अधिकारीलाई पुरानो घाउ कोट्याउन कोही नआइदिए हुन्थ्योजस्तो लाग्छ । इराकमा आतंकवादी समूहबाट २२ वर्षीय छोरा प्रकाशको विभत्स हत्या भएको १३ वर्ष कटिसक्दा पनि उनले त्यो दिन भुल्न सकेकी छैनन् ।

    छोराको उमेरका मान्छे देख्दा पनि उनी भक्कानिन्छिन् । उनलाई भेट्न अनलाइनखबरकर्मी पुग्दा उनी एकतले काठको घरको भूईं तलामा बसिरहेकी थिइन् । नातिनातिनाको स्कुल जाने बेला भएको थियो ।

    छोराको प्रसंग कोट्याउन साथ उनी भावुक बनिन् । ‘धेरै वर्ष भएको थियो, सोध्न कोही आएका थिएनन्,’ उनको अनुहार मलिन बन्यो, ‘अब त कसैले त्यो घटना नसम्झाइदिए हुन्थ्योजस्तो लाग्छ ।’

    हुरिसँगै तुहियो सपना

    १६ भदौ ०६१ । बिहानैदेखि मुसलधारे वर्षा भइरहेको थियो । हावाहुरी पनि उस्तै वेगले चलेको थियो । त्यही त्रासदीपूर्ण क्षणबीच साँझपख देवकाले आतंकवादीको अपहरणमा परेका छोरा प्रकाशको हत्या भएको अर्को मुटु चुँडाउने खबर सुन्नु पर्‍यो ।

    रोजगारीको खोजीमा इराक पुगेका उनीसहित १२ जना नेपाली युवा ४ भदौमा अपहरणमा परेका थिए । आफ्नो मुटुको टुक्रा सकुशल घर फिर्ने प्रतीक्षामा थिइन्, उनी ।

    ‘टीभीमा छोरो मारिएको घटना सुनिसक्दा नसक्दा म बेहोस भइसकेकी थिएँ,’ उनले सम्झिइन्, ‘होसमा आउँदा सबैथोक सकिएजस्तो लाग्यो ।’

    देशै रोएको दिन

    सुन्नी अतिवादी इस्लाम अल सुन्ना समूहको निशानामा १२ जना परेका थिए । एकको घाँटी रेटेर र अरुलाई गोली प्रहार गरी हत्या गरिएको थियो ।

    उक्त घटना सार्वजनिक भएलगत्तै मुलुकभर प्रदर्शन सुरु भयो । म्यानपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यम तोडफोड गरिए ।

    प्रकाशको घरमा भेला भएका सबै स्थानीय बासिन्दाको आँखामा आँशु टिल्पिलाइरहेको थियो । अहिले पनि त्यो घटना सम्झँदा छिमेकी धर्मनन्द भण्डारीको आङ सिरिंग हुन्छ ।

    ‘देशै रोएको थियो, हाम्रा आँखा कसरी ओभाना रहन्थे र,’ उनी भन्छन् ।

    खाना खान लागेको बेला यो घटनाबारे थाहा पाउनासाथ उनी दगुर्दै प्रकाशको घरमा पुगेका थिए । भन्छन्, ‘म पुग्दा घरको माहोल निकै नराम्रो थियो । बुवा-आमा छटपटिँदै रुँदै हुनुहुन्थ्यो । त्यस्तो देख्दा कसको मन थामिन्थ्यो र ।’

    जोर्डन भन्दै इराकतिर

    कमजोर आर्थिक अवस्थाको परिवारका पाँच सन्तानमध्ये कान्छा थिए, प्रकाश । कक्षा १२ मा पढ्दै गर्दा उनलाई विदेश नपुगी परिवारको आर्थिक अवस्था नसुधि्रने महशुस भयो ।

    ‘दाजुहरु छन्, उनीहरु जान्छन् । तँ किन जानु पर्‍यो भनेकी थिएँ,’ देवका सम्झिन्छिन्, ‘तर, उसले सबै साथीभाइ गएर कमाउन थालिसके भन्यो । बुवा पनि बिरामी हुनुहुन्छ । १/२ वर्ष बसेर आउँछु । अनि, पढ्दा पनि त हुन्छ नि भन्दै गयो ।’ तर, उनी कहिल्यै नफर्किने यात्रामा निस्केका रहेछन् ।

    परिवारले उनलाई जोर्डनका लागि भनेर पठाएको थियो । घरछेउकै बन्धु निरौला नामका एजेन्टले मुनलाइट म्यानपावरमार्फत् उनको वैदेशिक रोजगारीको यात्रा तय गराएका थिए ।

    ‘तर, विभिन्न देशमा बेचविखन गर्दै उनीहरुलाई इराक पुर्‍याइएको रहेछ,’ प्रकाशका जेठा दाजु महेन्द्र भन्छन्, ‘हामीले त यो कुरा धेरैपछि थाहा पायौं ।’

    उनका अनुसार टीभी समाचारबाट मात्र उनलाई इराक पुर्‍याइएको थाहा भयो ।

    आतंककारीको पञ्जाबाट प्रकाशलाई छुटाउन सकिने ठानेको थियो, परिवारले । तर, अमेरिकी एजेन्ट भएको आरोप लगाउँदै विभत्स हत्या गरे, आतंककारीले ।

    त्यतिबेला टेलिफोनको सुविधा पर्याप्त थिएन । उनीसँग सम्पर्क हुन सकेन । घरबाट हिँडेपछि एकपटक मात्र कुरा भएको थियो । शायद अपहरणमा परिसकेपछि हुन सक्छ, एकपटक फोन गरेका रहेछन् । तर, टेलिफोनवालाले परिवारलाई बोलाई नै दिएनन् ।

    महेन्द्र भन्छन्, ‘भाइले त्यतिबेला कस्तो अवस्थामा फोन गरेको थियो होला । तर, सम्पर्क हुन सकेन ।’

    प्रकाश उड्नुअघिका कागजात सबैमा जोर्डन उल्लेख छ । अमेरिकी सेनालाई खाना बनाउने काम तोकिएको छ । तर, सम्झौताविपरित इराकतिर लगिएको थियो ।


    ‘प्रलोभनमा पारेर मुद्दा कमजोर’

    उनीहरुको रोजगारदाता अमेरिकी कम्पनीविरुद्ध मुद्दा पनि हालियो । तर, अमेरिकी अदालतले दोस्रो फैसला कम्पनीकै पक्षमा दियो ।

    ‘जेमा पनि घुसपैठ हुँदो रहेछ,’ महेन्द्रले भने, ‘हामी पीडितलाई सबैतिरबाट पीडा भइरह्यो ।’

    उनका अनुसार मुद्दा ‘सेफ ल्यान्डिङ’ गर्दा आमा देवकालाई हारे पनि, जिते पनि त्यसवापतको खर्च परिवारले दाबी नगर्ने कागजमा हस्ताक्षर गराइएको छ । मुद्दाका वादी पक्षलाई नै प्रलोभनमा पारेर त्यस्तो गराइएको उनको दाबी छ । त्यसयता फेरि कुनै पनि प्रक्रिया अगाडि नढाइएको उनको भनाइ छ ।

    प्राप्त रकमबाट स्मृति कक्ष

    प्रकाशको परिवारले क्षतिपूर्तिस्वरुप नेपाल सरकारले घोषणा गरेको १० लाख रुपैयाँ पायो । उक्त रकमबाट प्रकाशको स्मृतिमा जेठो दाजुले पढाउँदै गरेको विद्यालय शहीद धर्मभक्त माविमा एउटा कोठा निर्माण गरियो, जहाँ पुस्तकालय बन्दैछ । त्यसका लागि पाँच लाख ५७ हजार रुपैयाँ खर्च भयो ।

    म्यानपावरबाट केही क्षतिपूर्ति पाएनन् । ‘क्षतिपूर्तिका लागि पहल त गरेका थियौं । तर, दलालहरुको जालो रहेछ,’ महेन्द्रले भने, ‘हाम्रो पहुँच नै पुगेन ।’

    उल्टै आफ्नै हत्या गर्ने त्रास भएको उनी बताउँछन् ।

    अमेरिकी कम्पनीबाट बाबुआमालाई पेन्सनस्वरुप २८ लाख रुपैयाँ दिइयो । ‘त्योचाहिँ उमेर हेरेर हुँदो रहेछ,’ उनले भने, ‘अरुले अलि बढी पनि पाएका छन् ।’

    उक्त रकमबाट उनीहरुले तोपगाछीमै जमिन जोडे । पहिले उनीहरु कमल खोलाको छेउँमा बस्दै आएका थिए । प्रकाशको हत्यापछि त्यो ठाउँमा बस्न मन मानेन । त्यसपछि १५ कठ्ठा जग्गा किनेर उनीहरु बजारछेउ सरे ।

    प्रकाशका बाबु रामचन्द्रको चार वर्षअघि ६९ वर्षको उमेरमा मधुमेहका कारण निधन भयो । माहिलो दाजु युवराज स्याङ्जामा खेतान ग्रुपमा मार्केटिङ गर्छन् ।

    प्रकाशबारे आमा देवका सम्झिन्छिन्, ‘सबैलाई सहयोग गर्थ्यो । अरुको दुःख देख्न सक्दैनथ्यो ।’ खासगरी, विद्युतीय सामानको मर्मतमा उनी विशेष चासो राख्थे ।

    भतिजा-भतिजीलाई औधी माया गर्थे । उनले इराक जाने क्रममा बाटैबाट परिवारलाई लेखेको पत्रमा पनि भतिजा-भतिजीप्रति प्रगाढ माया दर्शाएका छन् । अहिले उनका भतिजा काठमाडौंको बूढानीलकण्ठ स्कुलमा पढ्छन् भने भतिजी राजधानीकै गोल्डेन गेटमा पढ्छिन् ।

    अपराध इराक घटना विभत्स हत्या
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024

    सरकारी वकिल VS CIB : संगठित अपराधमा ६२ दिन थुनेर किर्तेमा मुद्दा

    August 29, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.