• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»फेक करेन्सी किङको फोर्सफुल एरेस्ट ?
    Don't miss it!

    फेक करेन्सी किङको फोर्सफुल एरेस्ट ?

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 18, 2020Updated:June 4, 2022No Comments10 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टेलिजेन्स ब्युरो (आईबी) र पाकिस्तानी गुप्तचरी संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुबैसँग निकट रहेको दाबी गरिएका बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको मोस्ट वान्टेड एवं विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत निगरानीको सूचीमा रहेका अन्सारी बाराबाट पक्राउ परेका हुन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । ‘पर्सा प्रहरीले उनलाई पक्राउ गरेको छ, थप अनुसन्धानका लागि अपराध महाशाखा, काठमाडौं पठाउँछौं’, उनले भनेका छन् ।

    सिंहका अनुसार मोटरसाइकलमा हिँडिरहेका बेला अन्सारी पक्राउ परेका थिए । हाल अन्सारीमाथि १५ किलो सुनचाँदी कारोबार र अवैध हातहतियार बोकेको अभियोग लगाइएको छ ।

    प्रकरणमा संलग्न देवान पटेल, विजय पटेल र निलेश सखियालाई अपराध महाशाखाले यसअघि नै पक्राउ गरिसकेको छ । निलेश र सञ्जय पटेल भारतबाट बारा हुँदै नेपाल प्रवेश गरेका थिए । त्यहीँबाट उनीहरु अन्सारीको गाडी लिएर काठमाडौं आएको खुलेको थियो ।

    निलेश र सञ्जयले गुजरातमा सुन व्यापार गर्ने गरेको प्रहरी दाबी छ । प्रकरणमा पक्राउ परेका देवान पटेल र कौशल पटेल काठमाडौंमै बस्ने भए पनि भारत, राजस्थानका स्थायीवासी हुन् ।

    जाली नोटमा युनुसपछिका नाइके

    नेपालमा भारतीय नक्कली नोटको कारोबार गर्ने मुख्य व्यक्ति युनुस अन्सारी हुन् । २०६५ सालमा नक्कली नोट कारोबार गरेको अभियोगमा समातिएका युनुसमाथि तीन वर्षपछि केन्द्रीय कारागारमा गोली प्रहार भएको थियो ।

    तीन वर्ष कैद भुक्तान गरिरहेका बेला ०६८ सालमा भारतीय सार्प सुटर मनमित भाटियोको निशानामा अन्सारी परेका थिए । यद्यपि, उनी बाँच्न सफल भए ।

    उनै अन्सारी जेल परेपछि इल्ताफले नेपालमा नक्कली नोट कारोबारको छुट्टै गिरोह सञ्चालन गरेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार इल्ताफले उपेन्द्र चौधरी, साजित अन्सारी लगायतसँग सहकार्य गरेर पाकिस्तानबाट हवाई मार्गमार्फत जाली नोट भित्र्याएका थिए । युनुस पक्राउ पर्नुअघि पनि दुईबीच मनमुटाव सुरु भइसकेको सीआईबीका एक अधिकृत बताउँछन् ।

    महानगरीय प्रहरी परिसर, ललितपुरले २० कात्तिक ०६६ मा कुपण्डोलस्थित अमर श्रेष्ठको घरबाट ५४ लाख ३९ हजार ५ सय रुपैयाँ नक्कली भारतीय नोट बरामद गरेपछि इल्ताफले छुट्टै समूह बनाएर जाली नोट कारोबार गरिरहेको प्रमाणित भएको थियो ।

    ‘अन्तर्राष्ट्रिय अपराधमा परिचालन गर्ने व्यक्ति, संस्था वा गिरोहले कुनै पनि देशमा एकजनालाई मात्र ट्रेन गर्दैन, यदि ऊ पक्राउ परे अर्को व्यक्तिमार्फत काम गर्नलाई अन्यलाई पनि तयार गरिरहेको हुन्छ’, विशेष ब्युरोमा लामो समय काम गरेका एक पूर्वप्रहरी उच्च अधिकृत भन्छन्, ‘इल्ताफ पनि युनुसपछिका लागि तयार गरिएका व्यक्ति हुन् ।’

    ललितपुर प्रहरीले जाली नोटसँगै सेखसफी अहमदलाई पक्राउ गरेको थियो । त्यसबेलाको अभियोग पत्र अनुसार उनले बयानका क्रममा इल्ताफलाई पोलेका छन् ।

    अहमदले बयानमा भनेका छन्, ‘उक्त भारु पूर्वपरिचित बारा जिल्लाका अल्ताफ अन्सारीसँग भेटघाट पश्चात निजले उक्त भारु काठमाडौंबाट भारतसम्म पुर्‍याउन सक्छौं भन्दा मैले सक्छु भनेपछि मैले नक्कली भारुको काम तीन वर्षदेखि गर्दै आएको छु ।’ उनले बरामद भारु निजाम मार्फानी नामक व्यक्तिले विभिन्न समयमा दिएको उल्लेख गर्दै प्लास्टिकको झोला कालो सुटकेशमा राखेर इल्ताफलाई दिने क्रममा प्रहरीले पक्राउ गरेको बयान दिएका थिए ।

    यो घटनाको चार वर्षपछि अन्सारीलाई सीआईबीले सात दोबाटोबाट पक्राउ गरेको थियो । त्यसबेला ब्युरोमा काम गरेका एक अधिकृत भन्छन्, ‘उनले हरेक अपराधमा आफूलाई फरक–फरक नामबाट परिचित गराउँथे, जसले गर्दा कतिपय घटनामा इल्ताफले सफाइ पाएका छन् ।’

    उनका अनुसार ब्युरोले गरेको अनुसन्धानका क्रममा इल्ताफले मुन्ना खान, अल्ताफ अन्सारी र सदरुल अन्सारीको नाम प्रयोग गरेको खुलेको थियो । ब्युरोमा काम गरिसकेका एक जना प्रहरी निरीक्षकका अनुसार त्यसबेला तीनवटै नाम भएका व्यक्ति एउटै हुन् भनेर प्रमाणित गर्न बाराका व्यक्तिसँग सर्जिमिन गर्न टोली पठाइएको थियो । तर, अधिकांशले प्रहरीलाई असहयोग गरेका थिए ।

    ‘स्थानीय स्तरमा उनी मठमन्दिर, विद्यालय लगायतलाई चन्दा दिन्थे भने पेट्रोल पम्प व्यवसायीका रुपमा परिचित थिए’, ती निरीक्षकले अनलाइनखबरसँग भने, ‘समाजसेवी र व्यवसायीको आवरणमा सबै काम गर्ने भएकैले स्थानीयको साथ उनले पाएका थिए ।’

    पछिल्लो सुन प्रकरणमा उनले राजु भण्डारी नाम प्रयोग गरेको खुलेको छ । दुई विवाह गरेका उनकी कान्छी श्रीमती राधिका भण्डारी हुन्, त्यसैले उनले ससुरालीतिरको थर प्रयोग गरेको खुलेको थियो ।

    अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘पक्राउ परेका निलेशले राजु भनिने व्यक्तिले पनि सुन बोकिएको गाडीका चालक इल्ताफ नै भएको पुष्टि गरिसकेका छन् ।’ विशेष ब्युरोको रेकर्ड अनुसार इल्ताफले सदरुल नामबाट सवारी चालक अनुमति पत्र समेत बनाएका थिए ।

    इल्ताफ ।

    हाई प्रोफाइल कनेक्सन

    आतंकवाद र अन्तर्राष्ट्रिय अपराध अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्युरोले २ चैत ०६६ मा त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक मरियम वाही जमालियालाई पक्राउ गर्‍यो । उनी पाकिस्तानको इन्टरनेश्नल एयरलाइन्स (पीआईए) को विमानबाट आएका थिए ।

    विमानस्थल सुरक्षामा खटिएका जवान दिपेन्द्र गिरिले उनको लगेज चेकजाँच विनै कटाइदिएको अनुसन्धानबाट खुलेको थियो । पार्किङबाट निस्किने वित्तिकै पक्राउ परेका उनको साथबाट ३० लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो ।

    यो नोट लिन इमरान तेली विमानस्थलमा पुगेको पाइए पनि वाही पक्राउ परेको थाहा पाएपछि उनी फरार भए । दुई दिनपछि जब सीआईबी र विशेष ब्युरोको संयुक्त अपरेशनमा उनी पक्राउ परे, त्यसपछि प्रकरणमा इल्ताफको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

    त्यसक्रममा तेलीले प्रहरीलाई वयान दिँदै नक्कली नोट कारोबारमा नेपाल प्रहरीका तत्कालीन डीआईजी रमेशशेखर बज्राचार्य र एसएसपी हेमन्त पालको सहयोग रहेको खुलासा गरे । यही आधारमा भारतीय मिडियामा समेत नेपाल प्रहरीका एक उच्च अधिकृत बज्राचार्य सुन तस्करीको र्‍याकेटमा संलग्न भएको सार्वजनिक भएको थियो ।

    त्यसवेला विशेष ब्युरोमा रहेका डीआईजी सुशीलवरसिंह थापा र एसएसपी सुवोध घिमिरेसहितको टोलीले प्रकरणको विस्तृत छानविन गर्‍यो । त्यसक्रममा दुई अधिकृतले एयरपोर्टबाट ‘कन्साइनमेन्ट’ कटाउन सहयोग गरेको देखिएको स्रोत बताउँछ ।

    यो पनि पढ्नुहोसअपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

    तर, दुवैमाथि कारबाही भएन, बरु छानविन प्रतिवेदन समेत गुपचुप राखिएको अधिकृतहरु बताउँछन् । त्यसवेला इल्ताफको पनि बज्राचार्यसँग निकट सम्बन्ध रहेको सार्वजनिक भएको थियो ।

    सीआईबीमा लामो समयदेखि काम गरेका एक कनिष्ठ प्रहरी अधिकारीका अनुसार ३० जेठ २०७२ मा उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा भारतीय दूतावासका अधिकारीसँग इल्ताफको निरन्तर सम्पर्क देखिएको थियो । साथै, सिंहदरबारमा पनि उनको सहज पहुँच मात्र होइन, बाक्लो आउजाउ रहेको खुलासा भएको थियो ।

    इल्ताफले तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई पनि दुईपटक भेटेको खुलेपछि अनुसन्धान अधिकृत झस्किएका थिए । यो भेट गृहमन्त्रीको सचिवालयका सहयोगीमार्फत मिलाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

    मेरो नाम इल्ताफ हुसेन अन्सारी हो । मेरो घर बाराको प्रष्टोखामा पर्छ । दुई जना श्रीमती छन्, दुवैबाट दुई/दुई जना छोराछोरी छन् । मलाई १६ किलो सुन चाँदी बरामद भएको घटनामा प्रतिवादी बनाइएकाले पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको गाडी मेरै हो । र, मैले सञ्जय पटेल र निलेश सखिया वीरगञ्ज लैजानका लागि सहयोग मात्र गरेको हुँ । त्यसबाहेक केही पनि थाहा छैन । गाडीमा सुनचाँदी र हतियार छ भन्ने पनि मलाई थाहा थिएन । गाडीमा निलेश सखिया अगाडि, सञ्जय पटेल पछाडि थियो । उसको हातमा झोला थियो । प्रहरीले पछ्याउन थालेपछि मात्र झोलामा सामान छ भनेर सञ्जयले भनेको थियो । सुरुमा सञ्जयलाई झर्न भनिए पनि पछि उसले निलेशलाई झोला दिएर गाडीबाट ओरालेको थियो । सामान पनि सुनचाँदी हो भन्ने मैले पछि मिडियामा पढेर मात्र थाहा पाएको हुँ । मलाई १२ साउनमा फोन गरेर ‘तिम्रो गाडीमा विरगञ्ज जाउँ भनिएको थियो । त्यसअनुसार १३ साउनमा विहान म नख्खिपोटबाट निस्किएको थिएँ । आरोपित मध्ये सञ्जयलाई एक वर्ष अघि चिनेको हुँ । एक जना साथीले चिनाएका थिए । निलेशलाई भने लकडाउन हुनु केही दिन अघि न्यूरोडमा चिनेको थिएँ । अरु प्रतिवादीलाई चिनेको छैन ।

    इल्ताफले काठमाडौं प्रहरीलाई दिएको बयान

    डि–कम्पनीसँग कनेक्सन

    नेपाल हुँदै भारतमा हुने जाली नोट, लागूऔषध र सुन तस्करीमा कुनै न कुनै रुपमा डि–कम्पनीको नाम जोडिन्छ । इल्ताफलाई पनि डि–कम्पनीका दाउद इब्राहिमको निकटको व्यक्ति भएको भारतीय सञ्चार माध्यमले आरोप लगाउने गरेका छन् । युनुस अन्सारीलाई पनि दाउदको नजिकको व्यक्तिको रुपमा चित्रित गरिन्छ ।

    सन् १९९४ देखिका मोस्ट वान्टेड इब्राहिम पाकिस्तान वा यूएईमा लुकेर बसेको भारतको एन्टी टेररिस्ट स्क्वाड (एटीएफ) ले बताउने गरेको छ । भारतीय प्रहरीका अनुसार पाकिस्तानको कराँचीमा इब्राहिम बसेको एउटा घर छ, जसलाई उनले ह्वाइट हाउसको नाम दिएका छन् ।

    नेपालका जाली नोट कारोबारी इल्ताफले पनि वीरगञ्जमा रहेको एक घरलाई ह्वाइट हाउसको नाम दिएको अनुसन्धान अधिकृतहरुको भनाइ छ । विशेष ब्युरोका एक अधिकृत भन्छन्, ‘उनले आफ्नो घरलाई ह्वाइट हाउसको नाम दिएर दाउदसँग निकटता रहेको झलक दिएका छन् ।’

    भारतीय मिडियामा उल्लेख भएअनुसार हरेक अपराधमा फरक–फरक नामको प्रयोग पनि दाउदकै शैली हो । इल्ताफले पनि सोही शैली अपनाएको देखिन्छ ।

    जाली नोट मात्र होइन, इल्ताफको अपराध

    विशेष ब्युरोका अधिकृतहरुका अनुसार अपराधको दुनियाँमा ०६० सालपछि इल्ताफको नाम आउन थालेको हो । युनुस पक्राउ परेपछि भने जाली नोटका अधिकांश अपरेशनमा उनको नाम जोडिन्थ्यो ।

    उनले त्यसबेलै जग्गा प्लटिङको कारोबार पनि गरेका थिए । कक्षा ७ बाटै पढाइ छाडेर ट्रकमा काम गर्न थालेका उनी तस्करीबारे सूचना दिएर प्रहरीसँग नजिकिएका थिए । केही वर्षपछि युनुससँग चिनजान भएपछि नै उनी जालीनोट कारोबारको दुनियाँमा प्रवेश गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

    त्यसक्रममा उनले प्रतिस्पर्धीका थुप्रै सूचना प्रहरीलाई दिएका छन् भने आफू सुराकीको भूमिकामा रहेर निर्धक्कका साथ अवैध कार्यमा संलग्न भएका छन् ।

    २० असार ०६४ मा उनी अनामगनर–बानेश्वरको पुल नजिक हत्या गरिएका नक्कली नोट कारोबारी बलराम पटुवारको घटनामा मुछिएका छन् । पटुवारको हत्यामा इल्ताफसँगै सर्लाही, सिसौटियाका लाल मोहम्मद पक्राउ परेका थिए । त्यसक्रममा उनीहरुलाई कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएको प्रहरीले बताएको थियो । तर, इल्ताफले यो प्रकरणमा अदालतबाट सफाइ पाए ।

    घटनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत पनि संलग्न थिए । चौधरी इल्ताफकै समूहका सदस्य हुन् । दुई समूहबीच मनमुटाव भएपछि पटुवारको हत्या भएको अधिकृतहरु बताउँछन् । इल्ताफविरुद्ध २०६३ सालमा सरकारी छाप तथा दस्तखत कीर्ते गरेको अभियोग पनि लागेको थियो ।

    यो पनि पढ्नुहोसभाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन

    सुनमा संलग्नता अपत्यारिलो

    इल्ताफले पछिल्लो समय सुन तस्करीमा हात हालेको प्रहरी दाबी छ । तर, संगठित र अन्तरदेशीय अपराधमा संलग्न उनी १५ किलो नक्कली सुन बोकेर गाडीमा किन चढे ? यो रहस्यको विषय छ ।

    फेरि भारतमा सुन तस्करीको र्‍याकेट चलाउन थालेको भन्ने प्रहरी दाबी पनि त्यति बलियो नदेखिने संगठित अपराधका जानकारहरु बताउँछन् । ‘उनले सुन तस्करी गर्नु थियो भने नक्कली सुन बुझाएर किन एकपटकमै भारततिरको सम्बन्ध विगार्न खोज्छन् ?’, एक अधिकृत प्रश्न गर्छन्, ‘फेरि तस्करीका लागि उनी आफ्नै गाडी लिएर किन गए भन्ने प्रश्न पनि पेचिलो छ ।’

    नक्कली सुन नै दिनुपर्ने भए, उनले ५७ लाख खर्च गरेर चाँदीमा जलप पनि किन लगाए ? भन्ने प्रश्न पनि अनुत्तरीत छ ।

    प्रकरणमा एकजना अभियुक्तले हातमा चाँदी र आधा किलो सुन भएको झोला दिएको भनिएको छ । तर, झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । ‘गाडीमा भाग्ने मान्छेले पेस्तोल किन झोलामा छाडिदियो ?’, विशेष ब्युरोका अधिकृतहरुको प्रश्न छ, ‘यसले प्रकरणमा इल्ताफको संलग्नतालाई रहस्यमय बनाएको छ ।’

    जसरी लकडाउनको समयमा सुन भारत लैजाने भनियो, त्यो आफैंमा सहज छैन । हाल अन्तरदेशीय नाका बन्द छ भने अन्तरजिल्ला हिँडडुल निषेध छ । चेकजाँच कडा छ ।

    यस्तोबेला इल्ताफले किन सुन लैजान खोजे ? यदि सुन नै भारततिर कटाउन खोजेको भए, सुरक्षा संयन्त्रको सहयोगविना सम्भव होला ? यो प्रश्न पेचिलो रहेको अधिकृतहरु बताउँछन् ।

    यदि कसैको सहयोग नभए इल्ताफले किन पक्राउ पर्न सक्ने सहज बाटो अपनाए ? यो अर्को जिज्ञासाको विषय हो । एकथरि अधिकृतहरु भने डबल एजेन्टका रुपमा काम गरेको खुलासापछि भारतीय पक्ष इल्ताफसँग रुष्ट बनेको हुन सक्ने बताउँछ ।

    पछिल्लो समय भारतविरुद्ध संलग्न व्यक्तिलाई अपराधिक व्यक्तिको प्रयोगबाट गोली हानेका घटना एकपछि अर्को विवादित हुँदै जाँदा ‘आईबी’, ‘रअ’ वा अन्य कुनै निकायले उनलाई कारागारमा पुर्‍याउनलाई यो हतकण्डा अपनाएको पनि हुनसक्ने उनीहरुको आशंका छ ।

    हतियारसमेत रहस्यमय तरिकाले विना गोली बरामद हुनुले इल्ताफ संलग्न मुद्दा बलियो बनाउने खोजेको पनि देखिने अधिकृतहरुको दाबी छ । फेरि गाडी लुकाउन पनि युनुसकै नजिकको क्षेत्र किन प्रयोग गरियो भन्ने पनि रहस्यमै छ ।

    काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘यो पनि अनुसन्धानको एउटा कोण हो, अब इल्ताफसँगै सोधपुछ गरेर विस्तृत अनुसन्धान थालिन्छ ।’

    युनुसले पनि भारतीय पक्षबाट असुरक्षित महसुस गरेपछि १० जेठ २०७६ मा विमानस्थलमा आफैं नक्कली नोट लिन गएको हुन सक्ने आशंका गरिएको थियो ।

    भारतविरुद्ध गतिविधि गरेको दाबीमा पेशेवर अपराधीको प्रयोगबाट फैजान अहमद, महमुद आलम, रमाशंकर यादवलगायत मारिएका छन्, अन्सारीको पनि हत्या प्रयास भएको इतिहास छ ।

    यस्तो अवस्थामा इल्ताफले कुनै समय भारतका लागि काम गरेका हुनाले पनि उनलाई ‘सुटआउट’ नभई ‘फोर्सफुल एरेस्ट’ को नीति लिइएको त होइन भन्ने प्रश्न उठेको अन्तरदेशीय अपराधका जानकारहरुले बताएका छन् ।

    २०७७ साउन २९ गते २२:१० मा प्रकाशित

    अन्तरदेशीय अपराध अपराध इल्ताफ हुसेन अन्सारी नेपाल प्रहरी बारा मस्टरिड
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202229 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202426 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202425 Views

    Type above and press Enter to search. Press Esc to cancel.