• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»EXIT POLL Chitwan 2 – रवि लामिछानेको जित निश्चित, दोस्रो र तेस्रोमा कांग्रेस–एमालेबीच प्रतिष्पर्धा
    Politics

    EXIT POLL Chitwan 2 – रवि लामिछानेको जित निश्चित, दोस्रो र तेस्रोमा कांग्रेस–एमालेबीच प्रतिष्पर्धा

    गौरव पोखरेलBy गौरव पोखरेलNovember 21, 2022Updated:November 21, 2022No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गौरव पोखरेल र सुवास पण्डित | चितवनबाट स्थलगत

    ४ मंसिर, भरतपुर । आइतबार मतदान सुरु भएको एक घन्टासम्म भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयमा मतदाताको उपस्थिति उत्साहजनक थिएन । मतदान स्थलमा पुग्ने मतदाताले एकैक्षण पनि लाइनमा बस्नु परेन ।

    मतदान केन्द्रमा भेटिएका रामकृष्ण घिमिरेका अनुसार यो त्यही मतदान केन्द्र हो, जहाँ विगतमा बिहान ५ बजेबाटै मतदाता लामबद्ध भएका हुन्थे । मतदान गर्ने पालो कुर्न घन्टौं बस्नुपर्थ्यो ।

    चितवन क्षेत्र नं. २ को सबैभन्दा बढी मतदाता भएको केन्द्र पनि यही हो । ‘पहिले चार घन्टा लाग्ने काम पनि एक घन्टामा भइरहेको छ’, घिमिरे भन्छन्, ‘मतदाता त बढेकै हुन् । तर भोट हाल्न आउने नै थोरै देखिए ।’

    मतदाता अर्जुन अधिकारीको अनुभवमा पनि यसपालिको मतदान त्यति उत्साहजनक देखिएन । ‘हेर्नुस् न लाइनमा सबै महिला मात्र छन्’, उनले मतदान गर्न भित्र छिर्दै गरेका महिलातर्फ संकेत गरेर भने, ‘महिला र भर्खरका केटाहरुबाहेक अरु खासै देखिन्नन् ।’

    अधिकारीका अनुसार टोलका युवा मतदाता जति अधिकांश वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् ।

    ‘सबै विदेशमा भएपछि युवा त्यसै घट्ने भइहाले । भएका पनि कतिपय घरमै बसेका छन्’, उनले अनलाइनखबरसँग सुनाए, ‘जसलाई हाले पनि केही हुने होइन ! कति जाँगर चलोस् त !’

    लाइनमा बस्नेमध्ये अधिकांशले ‘यसपालि घन्टी बजाइदिएको’ खुलम्मखुला बताइदिए । उसो त मतदान गोप्य रहने कुरा हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई भोट हालेको बताउन उनीहरुले असजिलो मानेनन् । जतिले भोट हाले खुलेरै घन्टीमा बजाइदिएको बताइदिए ।

    अनलाइनखबरले गरेको सर्वेक्षणका क्रममा उनीहरुले घन्टीमा भोट हालेको बताउन आनाकानी गरेनन् । बरु विगतमा कांग्रेस, एमालेजस्ता पुराना राजनीतिक दललाई मतदान गरेका मतदाताले चाहिँ आफूले कसलाई भोट हालेँ भन्ने बताउन चाहेनन् ।

    अनलाइनखबरको मत सर्वेक्षणमा सहभागीमध्ये ६२.७ प्रतिशतले रविलाई मत दिएको बताएका छन् । १५.६ प्रतिशतले एमाले र १०.६ प्रतिशतले कांग्रेसलाई मत दिएको बताएका छन् । एमालेबाट निवर्तमान सांसद कृष्णभक्त पोरखेल उम्मेदवार छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

    ६.१ प्रतिशतले कसलाई मत दिएको भन्न चाहेनन् भने ४.२ ले अन्य उम्मेदवार र ०.२ प्रतिशतले राप्रपालाई मत दिएको बताएका छन् । यो क्षेत्रमा राप्रपाका रविन अधिकारी चुनावी मैदानमा छन् ।

    रविले पाएको मत एमाले, कांग्रेस, राप्रपादेखि माओवादीसम्म सबै दलका मतदाताबाट पाएको देखिन्छ । किनकि, मत सर्वेक्षणमा सहभागीमध्ये ४४.९ प्रतिशत मतदाताले आफूले एमालेलाई मत दिएको बताएका छन् भने २५.५ प्रतिशतले कांग्रेस र ११ प्रतिशतले राप्रपालाई मत दिएका बताएका छन् ।

    तर यो पटक प्रत्यक्ष मात्र होइन, समानुपातिक मत पनि रविको पार्टी रास्वपाले पाउने देखिएको छ ।

    मत सर्वेक्षणमा सहभागीमध्ये ४२ प्रतिशतले समानुपातिकतर्फ पनि रास्वपालाई मत दिएको बताएका छन् भने २६.१ प्रतिशतले एमाले, १३.३ प्रतिशतले कांग्रेस तथा माओवादी र राप्रपाले समान ३.८ प्रतिशत मत पाएको देखिन्छ ।

    यो तथ्यांंकले के देखाउँछ भने समानुपातिकमा एमालेलाई मत दिएका धेरै मतदाताले प्रत्यक्षमा रविलाई मत दिएका छन् ।

    मतदाता समेत रहेका एनजिओकर्मी आशबहादुर गुरुङ यसपालि चितवनमा घन्टीको अनौठो लहर देखिएको बताउँछन् । ‘जता गयो, घन्टी मात्रै भन्छन्’, उनले अनलाइनखबरसँग भने, ‘म पनि धेरै समय बाहिर हुन्थेँ, यसपालि चाहिँ मतदानको अधिकार प्रयोग गर्नुपर्‍यो भनेर आएँ ।’

    नयाँ पार्टीकाले केही गर्छन् कि भन्ने आश आफूलाई रहेको उनले बताए । ‘मेरो लागि त भ्रष्टाचार नियन्त्रण गरिदिए मात्रै पुग्छ’, गुरुङले उम्मेदवारसँग आफ्नो अपेक्षा सुनाए ।

    पौने ११ बजेतिर मतदान केन्द्रमा एमाले नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार देवी ज्ञवाली आइपुगे ।

    उनकै पछाडि उभिएका दुई युवाले घन्टीमा भोट हाल्न अरु मतदातालाई सल्लाह दिइरहेका थिए । ‘यसपालि गर्ने नै घन्टीले हो’, एक युवाले विगतमा केही काम नभएको गुनासो गर्दै भने, ‘खोइ, कृष्णभक्तले के गरे ?’ विगतमा एमालेलाई मतदान गर्दै आएका उनी चितवन–२ मा भइरहेका विकासका गतिविधिप्रति सन्तुष्ट थिएनन् ।

    चितवन–२ बाट पछिल्लो दुई कार्यकर्ता नेकपा एमालेका कृष्णभक्त पोखरेल प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । यसपालि पनि उनी उम्मेदवार छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले जित्दा चाहिँ चितवन–२ को कायापलट हुन्छ त ? यो प्रश्नमा उनी लामिछानेसँग अपेक्षा पनि नराखेको बताउँछन् । भन्छन्, ‘जसले हामीलाई भेडा सम्झिएँ नि ! त्यसको विरोध हो यो ।’

    सर्वेक्षणमा सहभागी अर्का युवाले चाहिँ केन्द्रमा घन्टी र प्रदेशतिर राप्रपालाई भोट हालेको बताए । भन्छन्, ‘नेपालमा प्रदेशको कामै छैन, त्यही भएर एक भोट राप्रपालाई ।’

    झण्डै साढे ३ घन्टा मतदान केन्द्रमा बस्दा अधिकांशले लामिछानेलाई भोट हालेको बताए ।

    नाम खुलाउन नचाहने ७६ वर्षकी एक वृद्धाले लामिछानेले विदेशमा अलपत्र परेकाहरुको उद्दार गरेको बताउँदै एक भोट ‘घन्टी’मा दिएको बताइन् । ‘नातिहरुले सहयोग गरेको छ रे, राम्रो मान्छे रैछ’, उनले भनिन्, ‘नातीले पनि कर गर्‍यो, उसैलाई दिएँ ।’

    मतदान गर्ने लाइनमा मतदाता भेट्दै रवि लामिछाने ।

    रेडक्रसकर्मी समेत रहेका घिमिरेको भनाइमा ठूला राजनीतिक दल भनिएकाहरुले काम नगरेपछि मतदाताले मत परिवर्तन गरेका हुन् । ‘यो एमालेको प्रभाव भएको क्षेत्र हो । तर, यहीँ घन्टीको यस्तो माहोल देखिएको छ’, उनले भने, ‘यसपालि दलहरुलाई घन्टी भारी पर्ने देखियो ।’

    मतदाता आशबहादुर गुरुङ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी वा घन्टीभन्दा पनि लामिछानेले विगतमा राम्रो काम गरेकाले व्यक्तिलाई मतदाताले विश्वास गरेर भोट दिएको बताए । सोही मतदान केन्द्रमा भेटिएका मणिराम थापाले आफू ५७ वर्ष पुग्दासम्म एमालेलाई मात्रै भोट गरेको भएपनि यसपालि मत परिवर्तन गरेको बताए । ‘यसपालि धेरै सोच्दै नसोची सिधै घन्टीमा भोट हालेँ’, उनले भने ।

    मध्याह्न साढे १२ बजेतिर भीमोदय नमूना माध्यम विद्यालय, पदमपुरस्थित मतदान केन्द्र पुग्दा पनि महिलाहरु लामबद्ध भएर भोट हाल्न बसेका थिए । आसपास दलहरुका प्रतिनिधिहरु ‘दिदी’, ‘आमा’, ‘भाउजु’ लगायतका सम्बोधन गर्दै कांग्रेस, एमाले उम्मेदवारलाई मत मागिरहेका थिए ।

    तर, त्यहीबेला लाइनमा बसेकी १९ वर्षीया कृतिका बस्ताकोटीले आमालाई यसपालि घन्टीमा भोट हाल्नुपर्ने बताइन् । आमाले ‘चुप लाग्न’ संकेत गरिन् । मतदान गरेर फर्किएका २० वर्षका एक युवक सुरुमा बोल्न मानेनन् । पछि अरु ५ जना साथीहरु आएपछि सबैले घन्टी रोजेको बताए ।

    त्यहीँ भेटिएकी अर्की महिलाले पनि लामो समयदेखि नेकपा एमालेलाई भोट हालिरहेको भएपनि यसपालि परिवर्तन रोजेको बताइन् । ‘पार्टी परिवर्तन गरेको होइन, समानुपातिकमा एमालेलाई हालेको छु’, उनले भनिन्, ‘तर, माथि चाहिँ रविलाई हालियो, खै के हुन्छ ?’

    उनीसँगै निस्किएकी अर्की महिलाले आफूले विगतमा कांग्रेसमा भोट हाल्दै आएको बताइन् । तर, यसपालि चाहिँ फरक निर्णय गरेको बताइन् । ८७ वर्षका एकजना वृद्धले २०१५ सालदेखि नै पार्टीलाई मतदान गर्दै आएको सुनाए । ‘त्यतिबेला लहैलहैमा कांग्रेसलाई भोट हालिएको थियो’, उनले भने, ‘यसपालि सबैले परिवर्तन भनेका छन् ।’

    अपराह्न साढे ३ बजेतिर कालिका नगरपालिका–२, कमलपुरस्थित बेसिक स्कुलको मतदान केन्द्रमा पुग्दा मतदाता पातलिइसकेका थिए । चौधरी बस्तीका केही मतदाताले विगतदेखि नै नेकपा एमालेमा भोट हालेकाले यसपालि पनि दायाँबायाँ नगरेको बताए ।

    नयाँ मतदाता जति अधिकांशले चाहिँ घन्टीमा भोट दिएको बताए । ‘दाइ, घन्टीमा भोट है’, मोटरसाइकलमा आउँदै गरेका मतदातालाई घर फर्किँदै गरेका व्यक्तिहरुले स्वतः स्फूर्तरुपमा अपिल गरिरहेका थिए । पातलिँदै गएको भिड केहीबेरमा उम्मेदवार लामिछाने स्वयं उक्त केन्द्रमा आउने सूचना आएसँगै बाक्लिन थाल्यो ।

    लामिछाने पौनै चार बजे मतदान स्थल बाहिर आइपुगे र चितवनमा घन्टीले किल्ला गाडेको उद्घोष गरे । उनले आफू निर्वाचित भइसकेपछि विगत झैँ घर–घर आउने प्रतिवद्धता पनि जनाए ।

    सर्वेक्षण विधि

    अनलाइनखबरले चितवन २ का भित्री सहरका घना बस्ती, शहर छेउका बस्ती र ग्रामीण क्षेत्र गरी तीन किसिमका ठाउँमा एक्जिट पोल गरेको थियो । ती तीन किसिमका क्षेत्रका बुथहरुमा मतदान गरेर फर्केका ९०–९० जना गरी २ सय ७० जना मतदातासँग हामीले गरेको सर्वेक्षणले यस्तो आँकडा देखाएको हो ।

    अनलाइनखबरले यो ‘एक्जिट पोल’ देशभरिका १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ ४ निर्वाचन क्षेत्रमा गरेको छ । असअघिको निर्वाचन परिणामलाई आधार मानेर हामीले निर्वाचन क्षेत्र छनौट गरेका हौं ।

    छनौट गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा मतदाता संख्या घटीमा ७० हजारदेखि बढीमा १ लाख २४ हजार रहेकाले उक्त संख्याको ९० प्रतिशत ‘कन्फिडेन्स इन्टर्भल’ मा ५ प्रतिशत ‘इरर मार्जिन’ राख्दा निस्कने ‘स्याम्पल’ संख्या २७० आयो । जुन यस पोलको ‘स्याम्पल’ संख्या हो ।

    निर्वाचन क्षेत्रहरुमा धेरै वुथ हुने तर सबै बुथमा पुग्न स्रोतको अभाव हुने भएकोले प्रति निर्वाचन क्षेत्रमा ३ बुथ छनौट गरी प्रति बुथ ९० जनासँग प्रश्नावली सोधियो । सर्वेक्षणलाई प्रतिनिधिमुलक बनाउन मतदानका लागि बिहान, दिउँसो र अबेर आउने मतदाताहरुसँग प्रश्नहरु सोधिएको थियो । मतदानस्थलमा मत दिएर आउने प्रत्येक ११ जना पछिका नयाँ मतदातालाई प्रश्न गरिएको थियो ।

    एक्जिट पोल सर्वेक्षणका अतिरिक्त हामीले सोही निर्वाचन क्षेत्रमा हाम्रो सम्पादकीय टोलीसहित राजनीतिक संवाददाताहरुलाई परिचालित गरेका थियौं, जसले आम सर्वसाधारणको मनोभाव बुझ्न अझै सहज भयो ।

    अनलाइनखबरको टिमले संकलन तथा प्रशोधन गरेको तथ्यांकलाई ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) का अध्येताहरुको डाटा टिमले अध्ययन तथा विश्लेषण गरेको थियो ।

    २०७९ मंसिर ४ गते २१:२० मा अनलाइनखबर डटकममा प्रकाशित

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022

    पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश

    November 24, 2022
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.