• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»अन्तरदेशीय अपराध»लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?
    अन्तरदेशीय अपराध

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 4, 2025Updated:May 9, 2025No Comments10 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    टोखा गोलीकाण्ड : गुड्डु पटेलको आपराधिक पृष्ठभूमि र भारतीय सुरक्षा संयन्त्रसँगको साँठगाँठ

    लाल मोहम्मद प्रकरणका सुटरलाई प्रहरीले अनौठो पृष्ठभूमिमा काठमाडौंमा ‘फेला पारेको’ छ । मोहम्मद हत्याको सुपारी दिने भारतीय नागरिक बब्लु पासवानलाई समेत प्रहरीले १० महिनाअघि पर्सामा गोली हानेर समातेको थियो ।

    आइतबार साँझ ७ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना सार्वजनिक भयो, ‘टोखामा एक फरार आरोपीलाई समात्न प्रहरीले गोली चलाएको छ ।’

    त्यसबेला दुई राउण्ड हवाई फायरपछि पनि स्थिति नियन्त्रणमा नआएपछि थप गोली चलाउँदा आरोपीको दाहिने खुट्टामा लागेको भनिएको थियो ।

    कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको दाबीमा, टोखाबाट झोर जाने बाटोमा बाँस झाडी नजिक हिँडिरहेको अवस्थामा फरार आरोपी गुड्डु पटेललाई प्रहरी टोलीले भेटेको थियो ।

    फरार आरोपीलाई देखेर प्रहरीले उनलाई समात्न खोज्दा उल्टै आक्रमण गरिएकाले गोली चलाउनु पर्ने स्थिति आएको उनको दाबी छ ।

    ‘त्यसक्रममा दुई राउण्ड हवाई फायर गर्नुपर्‍यो, अझै भागेपछि स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु पर्‍यो’, सोमबार उनले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा उनलाई खुट्टामा दुई राउण्ड गोली लाग्यो ।’

    लगत्तै प्रहरीले उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगेको थियो । प्राथमिक उपचारपछि थप जाँचका लागि पटेललाई वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएको थियो ।

    ‘हाल उनको स्वास्थ्य अवस्था सामान्य छ, उपचारपछि थप सोधपुछ र बयान लिन्छौं’, बस्नेतले भने ।

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठटारमा सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा घर भएका लाल मोहम्मद दुई वर्ष अघि अज्ञात समूहको गोली प्रहारबाट मारिएका थिए ।

    लाल मोहम्मद मारिएको स्थान (अनलाइनखबर अर्काइभ)

    पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा उनलाई गोली हान्न दुई जना भारतीय नागरिक संलग्न रहेको खुलेको थियो ।

    दुई सुटरमध्ये एक गुड्डुलाई टोखामा फेला पारिएको र भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको तर्क छ । तर, प्रहरीले उनको साथबाट अरु यस्ता प्रकरणमा झैँ कुनै किमिसको हतियार वा गोली बरामद गरेको छैन ।

    एसएसपी बस्नेत पनि भन्छन्, ‘उनी एक्लै हिँडिरहेको अवस्थामा फेला पारेको थियौं ।’

    प्रहरीले उनी कहिले काठमाडौं प्रवेश गरेका थिए भन्ने केही बताएको छैन । ‘घटनालगत्तै उपचार गराउन लैजानुपर्ने भएकाले थप सोध्न पाएका छैनौं’, कार्यालय प्रमुख बस्नेत भन्छन् ।

    यो पनि पढ्नुहोस

    फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’

    लखनऊमा लुक्दै आएका थिए गुड्डु

    गुड्डु भारतको बिहार, रक्सौल घर भएका पेशेवर हिटम्यान हुन् । हिटम्यान ती व्यक्ति हुन्, जो निश्चित रकम लिएर कुनै आपराधिक गिरोहका लागि भाडामा हत्या गर्छन् ।

    भारतमा पनि गुड्डु पटेलविरुद्ध कम्तिमा पाँच वटा मुद्दा भए पनि उनलाई स्थानीय प्रहरीले समातेको थिएन । त्यहाँको सुरक्षा संयन्त्रका लागि काम गरेकाले उनी पक्राउ नपरेको हुनसक्ने कतिपयको दाबी छ

    गोठाटारमा मारिएका लाल मोहम्मदलाई भारतीय सुरक्षा संयन्त्रले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय पक्षले मोहम्मदलाई हस्तान्तरण गरिदिन प्रहरीको विशेष ब्यूरोका अधिकृतहरुलाई अनौपचारिक आग्रह गर्दै आएको थियो ।

    यस्तोमा ४ असोज २०७९ मा मोहम्मदको हत्या जुन शैलीबाट भयो, त्यसमा भारतीय सुरक्षा संयन्त्रको संलग्नता हुनसक्ने आशंका सुरक्षा अधिकृतहरूले गरेका थिए । मोहम्मदको घर नजिकै रहेको कोशी पारि गेस्ट हाउसमा बसेर रेकी गरिरहेका सुटरले मोहम्मदलाई गार्मेन्टको प्लास्टिक लिएर घरमा आउने बित्तिकै गोली हानेका थिए ।

    मोहम्मद चढेको बा ६ च ५१५२ नम्बरको कारका चालक रामप्रसाद गौतमले त्यसबेला अनलाइनखबरलाई बताएअनुसार, घर पुग्दा साँझ साढे ६ भइसकेको थियो । उनले मोहम्मद बस्ने घरको आँगनमा पार्क गर्नलाई गाडी घुमाउने बित्तिकै दुई जना व्यक्तिले ‘साइड लाग्न’ भनेका थिए ।

    गाडी रोकेर उनी ओर्लिन मात्र के खोजेका थिए, एक्कासी ती दुई व्यक्तिले मोहम्मदमाथि गोली बर्साउन थाले । ‘सुरुमा एक्कासी केही झिल्कोसहित पड्किएको आवाज आयो’, उनले भनेका थिए, ‘ड्राइभरको सिटमा छु, बन्दुक हानी रहेको देख्छु, के गर्ने सोच्नै सकिनँ ।’

    यो पनि पढ्नुहोस

    ‘रअ हिटम्यान २’ को खुलासा: लाल मोहम्मद एक दशकदेखि भारतको निगरानीमा थिए

    मोहम्मदलाई गोली हानेलगत्तै दुई जना पेशेवर भारतीय सुटर गुड्डु पटेल र राजु भनिने दिनेश काठमाडौंबाट गायब भए ।

    गौतमले नै घटनाबारे प्रहरी कन्ट्रोल १०० मा फोन गरेर पहिलो सूचना दिए । केहीबेरमै प्रहरी त्यहाँ पुग्यो । तर, त्यतिञ्जेल दुवै सुटर प्रहरीको पकडबाट टाढा पुगिसकेका थिए । बरु पछि उनीहरू बसेको स्थान र थप गतिविधिहरु प्रहरीले पत्ता लगाएको थियो ।

    प्रहरीले छानबिनका लागि समिति समेत गठन गर्‍यो, प्रतिआतंकवाद मामलाको जाँचमा दख्खल राख्ने विशेष ब्यूरो समेत अनुसन्धानमा परिचालित भयो । त्यसबेला घटनास्थलमा ‘मेड इन यूएस’ लेखिएको एउटा पेस्तोल भेटिएको थियो भने पछि बालाजुको लोलाङमा एउटा कोठाबाट थप दुईवटा हतियार बरामद भयो ।

    अहिले एकाएक ती सुटर काठमाडौं आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरूले दाबी गरेका छन् । १० महिनाअघि मात्र गुड्डुलाई मोहम्मदको हत्याको ‘सुपारी’ दिने मुख्य आरोपी बब्लु पासवानलाई जिल्ला प्रहरी कार्यालय, पर्साले समातेको थियो ।

    यो पनि पढ्नुहोस

    फिल्मी शैलीमा मारिएका लाल मोहम्मद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

    प्रहरी स्रोतका अनुसार, पासवानले पटेललाई मोहम्मदको फोटो पठाएर हत्याका लागि काठमाडौं पठाएका थिए । पासवानको भारतीय जेलमा रहेका अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग समेत सम्पर्क रहेको सुरक्षा सम्बद्ध अधिकृतहरुको दाबी छ ।

    त्यसबेला पासवान ब्राउन सुगर र पेस्तोलसहित नेपाल छिरेको सूचना पाएपछि खटिएको टोलीको उनीसँग जम्काभेट भएको पर्सा प्रहरीले बताएको थियो । त्यसक्रममा उनलाई गोली हानेर प्रहरीले समातेको थियो ।

    बाँकी रहेका सुटर पटेल र दिनेश भनिने गुड्डुलाई प्रहरीका अरु निकायले समेत खोजी गरिरहेका थिए । त्यस क्रममा पटेलको लोकेसन प्रायः भारतको लखनऊ देखिएको थियो । ‘कहिलेकाहीँ पटना,रक्सौल र गोरखपुरमा पनि उनको मुभमेन्ट देखिएको थियो’, स्रोतले भन्यो, ‘तर, अधिकांश समय उनी लखनऊमै लुकेर बस्थे ।’

    सुरक्षा सम्बद्ध एउटा स्रोतको दाबीमा, नेपाल प्रहरीको एउटा टोली उनलाई खोज्दै त्यहाँसम्म पनि पुगेको थियो । ‘यस्तोमा दुई पटक गोली हानेर यस प्रकारका घटनाका आरोपी समातिएपछि एक किसिमको सन्देश पनि गएको छ’, स्रोतले भन्यो, ‘भोलिका दिनमा यस्ता प्रकरणमा संलग्नविरुद्ध नेपाल प्रहरी निर्मम बन्नसक्छ भन्ने यसले देखाएको छ ।’

    यो पनि पढ्नुहोस

    लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड

    भारतमा प्रहरीकै संरक्षण ?

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, गुड्डुविरुद्ध भारतमा पनि फौजदारी मुद्दा दर्ता थियो ।

    ‘इण्डियामा पनि उनीविरुद्ध केस भएकाले उनी लोकेसन बदल्दै बस्ने गरेको थाहा पाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘नेपालमा ससुराली समेत भएका उनी पछिल्लो समय काठमाडौं आएका थिए ।’

    कतिपय अधिकृतहरूले पटेलले नेपाल–भारत सीमा जोडिएको जिल्लामा विवाह गरेको बताए पनि त्यसको पुष्टि भइसकेको छैन । प्रहरीको विशेष ब्यूरो स्रोतका अनुसार, पटेलविरुद्ध भारतमा कम्तिमा ५ वटा मुद्दा दर्ता थियो । ‘तीमध्ये दुईवटा घटनामा स्थानीय पसलमा गएर बन्दुक देखाएर लुटपाट गरेका थिए’, स्रोतले भन्यो, ‘तर, उनी पक्राउ परेका थिएनन् ।’

    प्रहरीको खोजी सूचीमा भए पनि भारतीय प्रहरीले उनलाई पक्राउ नगर्नुलाई सुरक्षा मामलाका जानकारहरू शंकास्पद मान्छन् । ‘खासमा भारतको सुरक्षा संयन्त्रका लागि काम गरिरहेकाले उनी जोगिँदै आएको मान्न सकिन्छ’, एक अधिकृतले दाबी गरे, ‘त्यसको आडमा उनले हत्यासँगै लागूऔषध कारोबार समेत गर्दै आएका थिए ।’

    आइतबार टोखामा गोली लागेपछि अस्पतालमा उपचाररत गुड्डु  । तस्वीर : नेपाल प्रहरी

    यो प्रकरणमा भारतीय सुरक्षा संयन्त्र जोडिएको हुनसक्ने शंकालाई ३ डिसेम्बर २०२४ मा सार्वजनिक एउटा पुस्तकले पनि जोड दिन्छ । ‘रअ हिटम्यानः द एसासिनेसन्स’ मा मोहम्मद एक दशकदेखि भारतीय खुफिया एजेन्सीको निगरानीमा रहेको उल्लेख छ ।

    मुम्बई अन्डरवर्ल्डका विज्ञ हुसेन जाहिदीले पूर्वएजेन्ट लकी विष्टसँग समेत मिलेर लेखेको पुस्तकमा रअले मोहम्मदको खोजीमा चलाएको एउटा लामो अपरेशनको सविस्तार नै उल्लेख गरिएको छ । (अडियोमा सुन्नुस्)

    विष्टले अनलाइनखबरसँग दिएको अन्तर्वार्तामा समेत मोहम्मदले पाकिस्तानको गुप्तचरी निकाय ‘इन्टर सर्भिस इन्टलिजेन्स’ (आईएसआई) का लागि काम गर्ने गरेको आरोप लगाएका थिए । (पढ्नुस् लकी विष्टसँगको अन्तर्वार्ता)

    ‘नेपालले उनलाई किन शरण दियो, मलाई अचम्म लाग्छ’, उनले भनेका थिए, ‘कोही मान्छे आईएसआईका लागि काम गरुन्, सीआईएका लागि काम गरुन्, मतलब भएन । तर, त्यो व्यक्तिका कारण हाम्रो देशलाई असर परिरहेको छ भने त हामीलाई फरक पर्छ नि ।’

    मोहराम मियाँ र एक नाबालकले हाल पक्राउ परेका गुड्डुलाई घटनाअघि बालाजुको माछापोखरीमा रहेको लुम्बिनी तन्दुरी भोजनालयमा ३ पेस्तोल र २६ राउण्ड गोली दिएका थिए

    मोहम्मद प्रकरणमा भारतको जालान्धर महेशपुरका अन्दाजी २७/२८ वर्षका सुटर राजु भनिने दिनेश अझै फरार छन् । पासवानले गुड्डुलाई मोहम्मद हत्याका लागि सुपारी दिएको अधिकृतहरू बताउँछन् ।

    त्यसपछि गुड्डुले यसमा दिनेशलाई पनि जोडेका थिए । ‘उनको बयानबाट थप विषयहरू खुल्न सक्छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

    बालाजुमा गुड्डुलाई ३ पेस्तोल र २६ गोली हस्तान्तरण

    मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए ।

    तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन । केही समयपछि उनलाई घर अगाडि कुरेर बसेका गुड्डु र दिनेशले गोली हानी हत्या गरेका थिए ।

    प्रहरीको प्रतिवेदन अनुसार, त्यसबेला मोहम्मदलाई गोली हानेपछि थप चार राउण्ड बाँकी भएको एउटा पेस्तोल छाडेर उनी भागेका थिए । त्यसबेला सुटरद्वय घटनास्थल नजिकै रहेको कोशी पारि गेस्ट हाउसमा बसेको खुलेको थियो ।

    त्यहाँ बस्ने प्रबन्ध नितिन मदान नामक व्यक्तिले मिलाइदिएका थिए । हुण्डी कारोबारमा समेत संलग्न उनी हालसम्म फरार छन् ।

    यो पनि पढ्नुहोस

    विदेशी खुफिया एजेन्सीबाट नेपाली मारिन्छन्, दृश्यमै छैन गुप्तचर

    प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भन्ने ममता तिवारीले मोहम्मदको गतिविधिबारे लामो समयदेखि रेकी गरिरहेका थिए ।

    त्यसको जानकारी सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उनीहरूले भारतीय नागरिक पासवानलाई पठाइदिने गरेका थिए । त्यसपछि पासवानको निर्देशनमा दुई सुटर काठमाडौं आएका थिए ।

    उनीहरूलाई वीरगञ्जका मोहराम मियाँ र अर्का एक नाबालकले काठमाडौंसम्म पेस्तोल ल्याइदिएका थिए । उनीहरूलाई ४० हजार नेपाली रुपैयाँ दिने सर्तमा पासवानले काठमाडौं जान भनेको बयानका क्रममा खुलेको थियो ।

    ‘मलाई २ थान म्याग्जिनसहितको पेस्तोल, थप एउटा कटुवा पेस्तोल गरी ३ वटा र २६ राउण्ड गोली प्लास्टिकमा राखेर पठाइदिएका थिए’, मियाँले भनेका छन्, ‘त्यसपछि म वीरगञ्ज बसपार्कबाट काठमाडौं आउने रात्री बसको टिकट काटेर काठमाडौं आएको थिएँ ।’

    मियाँलाई पासवानले पटेलको फोटो समेत पठाइदिएका थिए ।

    ‘पासवानले मियाँलाई पठाएको तस्वीरमा भएको चस्मा समेत उनी कोशीपारी गेस्ट हाउसमा छाडेर भागेका थिए’, एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्छन्, ‘घटनास्थलमा मोहम्मदलाई गोली प्रहार गर्दा सीसी टीभी फुटेजमा देखिएका व्यक्तिलाई नै पेस्तोल र गोलीका राउण्ड दिएको भनेर मियाँले बयान दिएका थिए ।’

    त्यसलाई समर्थन गर्दै होटलमा बस्ने व्यक्ति दिनेश र गड्डु पटेल भएको बयानका क्रममा सुस्मिता स्याङ्तानले पनि भभनेकी छन्।

    कार्यालयका एक अधिकृतका अनुसार, त्यसबेला मियाँले अहिले पक्राउ परेका गुड्डुलाई नै हतियार दिएका थिए । मियाँले बालाजुको माछापोखरीमा रहेको लुम्बिनी तन्दुरी भोजनालयमा ३ पेस्तोल र २६ राउण्ड गोली सुटरलाई हस्तान्तरण गरेका थिए ।

    ‘४० हजार दिने भनेपछि पेस्तोर र गोली बोकेर नाइट बस चढ्यौं’ – मोहराम मियाँको बयान पढ्न यहाँ क्लीक गर्नुस्

    मैले भर्खरै वीरगञ्जमा रहेको सुर्जी देवी माध्यामिक विद्यालयबाट एसईई पास गरेको थिएँ । त्यसपछि कक्षा ११ भर्ना भएर बसेको छु ।

    बब्लु पासवानका मान्छेले मलाई ह्वाट्सएपमा फोन गरेर माछापोखरीस्थित लुम्बिनी तन्दुरी रेष्टुरेन्टमा बोलाएका थिए

    यसै क्रममा मेरो सहोदर दाइ शेख मखु भन्ने समिर मियाँमार्फत भारतीय नागरिक भारतको रक्सौल घर हुने बब्लु पासवानसँग मेरो अं. ९/१० महिना पहिला चिनजान भएको हो ।

    उनले मलाई सुमी भनिने सुस्मिता स्याङ्तानसँग चिनजान गराएका थिए । त्यसपछि उनले एक दिन बब्लुको घरमा लगेकी थिइन् । मैले मेरो एक जना साथीलाई पनि लिएर गएको थिएँ । त्यसपछि उनले मलाई भोजपुरी भाषामा बोलेर ३ वटा हतियार काठमाडौंमा पुर्‍याइदिन भनेका थिए ।

    मनोरम मियाँ, उनका साथी र सुमी भनिने सुस्मिता स्याङ्तान । फाइल तस्वीर ।

    त्यसो गरेवापत ४० हजार रुपैयाँ दिने भनेर मसँग कुरा गरेको थिए । त्यसपछि मैले ३५ हजार लिएर हिँडेको थिएँ । ५ हजार काठमाडौंमा दिने भनेको थियो ।

    त्यसपछि मैले अर्का साथीलाई १० हजार दिन्छु भनेर काठमाडौं हिँड्न भनेको थिएँ । पछि ३१ भदौ २०७९ मा बब्लुलाई भेटेर ३ पेस्तोल र ३६ राउण्ड गोली ल्याएका थियौं । त्यसपछि बसपार्कमा गई काठमाण्डौँ आउने रोयल नेपाल नामक बसको रातिको टिकट काटेको थियौं ।

    काठमाडौं आएर बब्लुले माछापोखरीमा जान भनेका थिए । त्यसपछि उनका मान्छेले मलाई ह्वाट्सएपमा फोन गरेर माछापोखरीस्थित लुम्बिनी तन्दुरी रेष्टुरेन्टमा बोलाएका थिए ।

    पछि मुखमा मास्क लगाएको कालो कालो जस्तो देखिने जिन्स पाइन्ट र हेर्दा निलो जस्तो देखिने भेष्ट लगाएको हेर्दा उमेर २७/२८ जस्तो देखिने ब्यक्ति राजु भन्ने दिनेश भन्ने ब्यक्ति म भएको ठाउँमा आइपुगे । उनीसँगै गुड्डु पटेल पनि थिए ।

    (सुटरलाई काठमाडौंसम्म हतियार ल्याइदिनेमध्येका मोहराम मियाँले प्रहरीसमक्ष दिएको बयानको सम्पादित अंश)

    अपराध नेपाल प्रहरी भारत रअ हाईलाइट्स
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.