• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»कारागार»सेन्ट्रल जेलमा आफ्नै समीक्षा गर्दै बालकृष्ण खाँण
    कारागार

    सेन्ट्रल जेलमा आफ्नै समीक्षा गर्दै बालकृष्ण खाँण

    गौरव पोखरेलBy गौरव पोखरेलSeptember 25, 2023Updated:May 9, 2025No Comments8 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भन्छन् – भाग्यमा यस्तै रैछ

    २९ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ पर्नु केही दिनअघि बालकृष्ण खाँणले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खेलमा पूर्वगृहमन्त्री खाँणलाई मुछ्दै समाचार आएपछि भएको भेटको सुरुवात त समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो । अन्तर्यमा त खाँणलाई शरणार्थीबारे नै कुरा गर्नु थियो ।

    खाँण निकटस्थहरुका अनुसार, यो भेटपछि उनी उत्साहित भएर फर्किएका थिए । रामबहादुर थापा ‘बादल’ नेतृत्वको गृह मन्त्रालयले १७ मंसिर २०७६ मा भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पठाउने सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले प्रतिवेदन अध्ययनका लागि सामाजिक समितिमा पठाए । त्यहीबीच सर्वोच्च अदालतको परमादेशले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए । प्रस्ताव फर्किएर फेरि गृह मन्त्रालयमा आयो ।

    ओली सरकारका पालाको त्यही प्रस्तावलाई हुबहु आफूले फेरि पेश गरेको खाँणको तर्क थियो । त्यसैले आफू यसमा नमुछिने भन्दै उनी ढुक्क साथ बसेका थिए । प्रचण्डसँग भेटबाट पनि उनले त्यहीँ आश्वसन पाएको कांग्रेस नेताहरुको दाबी छ ।

    तर, २७ वैशाखमा एकाबिहानै उनको मैजुबहालस्थित घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुग्यो । निकटस्थहरुका अनुसार २६ गते रातिदेखि नै कार्यालय वरपर प्रहरीको चहलपहल बढिसकेको थियो । खाँणको मनमा चिसो पसिसकेको थियो ।

    ‘बिहान सादा पोशाकका प्रहरी आएर जय नेपाल, माननीयज्यू भन्दै कार्यालय जानुपर्ने भयो, सहयोग गर्नुपर्‍यो भने’, खाँणले सुनाए, ‘बिहान ट्रयाक सुटमा थिएँ, त्यत्तिकै जाने कुरा भएन । भित्र लुगा लगाएर आउँछु कोठामा गएको थिएँ ।’

    अपरेशनमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार, खाँण कोठामा गएर छिरेर निक्कैवेर त्यहीँ बसिरहे । केही नेता र आफन्तलाई फोन घुमाए । भित्र कुराकानी भएको सुनेपछि चलखेल हुनसक्ने ठानेर प्रहरी अधिकृतहरु ढोका ढक्ढक्याउन थालिहाले ।

    त्यसबेला प्रहरी उनको ढोेका फुटाएर भित्र छिरेको सार्वजनिक भयो । तर, केन्द्रीय कारागारमा भएको भेटमा उनले संवाददातासँग भने, ‘कहीँ जाँदा त्यत्तिकै जाने कुरा भएन, उठ्ने वित्तिकै भएको कपडा त फेर्नुपर्‍यो नि ! ढोका फुटाएको विषय त प्रहरीले नै खण्डन गर्‍यो ।’ घर गएर हेर्दा पनि फुटाएको न फुटाएको थाहा खाँणले दाबी गर्ने गरेका छन् ।

    पक्राउ गरेर प्रहरीेले खाँणलाई उनकै गाडीमा जिल्ला प्रहरी परिसर, टेकुसम्म आउने सुविधा दियो । टेकुमा पनि प्रहरीले उनलाई अरु अभियुक्तभन्दा फरक सुविधा दियो । उनलाई राख्न टेकुमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठा खाली गरियो । एउटा खाट राखियो, त्यहीँ बसेर उनले हिरासत कटाए ।

    निकटस्थहरुका अनुसार जिल्ला अदालत, काठमाडौंमा भएको थुनछेक बहसपछि खाँण बाहिरै बसेर कानूनी प्रतिरक्षा गर्न पाउनेमा ढुक्क थिए । ‘अरुविरुद्ध जस्तो प्रमाण पनि थिएन, मोबाइलमा समेत केही फेला परेको थिएन’, आफूसँग भेट्न आउनेहरूसँग उनले भन्ने गरेका छन्, ‘तर, न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुई जनाबाहेक सबैलाई थुनामा पठाउने आदेश दिए ।’

    खाँण त्यसबेला भावुक बने, जिल्ला अदालत, काठमाडौं परिसरमै आँशु खसाले । जिल्ला प्रहरी परिसर, टेकुमा उनलाई विशेष सुविधा थियो । तर, कारागारमा अरु केदीबन्दीहरुसँगै बस्नुको विकल्प थिएन ।

    कारागार लैजाँदा भने उनी प्रहरी भ्यानमै लगिए । पछि उनलाई कारागार सरुवा गर्ने इच्छा भए/नभएको सोधियो । धेरै नेताहरुको रोजाइ डिल्लीबजार कारागार हुने गरेको छ । त्यसैले प्रशासनले उनीप्रति सदाशय राखेर उनलाई सोधेको थियो ।

    तर, खाँणले पहिले राजनीतिक आन्दोलनका क्रममा पक्राउ पर्दा पनि केन्द्रीय कारागारमै बसेको स्मरण गराउँदै ‘त्यहीँ ठिक भएको’ बताएको स्रोत बताउँछ । पहिले र अहिलेको जेलमा धेरै भिन्नता पाएको खाँणले बताएका थिए ।

    हिजाआज उनलाई जेलमा भेट्न नेता, कार्यकर्ताको लर्को लागि रहन्छ । कारागार प्रशासनका अनुसार, पार्टीमा सभापति देउवा समूहका प्रभावशाली नेता मानिएका खाँणको दैनिक अहिले प्रायः आगन्तुकलाई भेटेरै वित्छ ।

    एक अधिकारीका अनुसार, खाँणलाई अरु कैदीबन्दीलाई नियमित भेटाउने स्थानबाट भेटघाटको वातावरण मिलाउँदा सधैँ भिड हुने स्थिति भयो । अरुको पालो नै नआउने अवस्था बन्यो । त्यसैले अहिले कारागार प्रशासनले उनलाई छुट्टै स्थानमा भेटघाटको वातावरण बनाइदिएको छ ।

    उनलाई भेट्न पुग्नेले अहिले केन्द्रीय कारागारको मुख्य गेटबाट प्रवेश गर्ने स्थान बाहिर रहेको फलैचामा बसेर भेट गर्न पाउँछन् । त्यहाँ हुने प्रायः भेटघाटमा खाँण गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसी पनि नजिकमै देखिन्छन् । साथमा केही सहयोगी पनि सधैँ भेटिन्छन् ।

    त्यहाँ खटिएका प्रहरी अधिकृतहरु पनि उनलाई भेट्दा सल्यूट गरेर ‘सम्मान’ गर्दै गरेको देखिन्छन् ।

    ‘भाग्यमा यस्तै रैछ !’

    केन्द्रीय कारागारमा खाँणलाई भेट्न कांग्रेस नेता शेखर कोइराला, शशांक कोइरालादेखि परराष्ट्रमन्त्री एनपी साउदसम्म पुगेका छन् । जेल पुग्ने नेताहरुसँग उनी समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी लिन्छन् ।

    कार्यकर्ताहरु बाहिर भइरहेका चर्चाका विषयहरु उनलाई सुनाउँछन् । कतिपय पत्रिका/अनलाइनमा आएका समाचारबारे उनलाई जानकारी दिन्छन् । कहिलेकाहीँ खाँण पुस्तक पढिरहेका भेटिन्छन् भने बाँकी समयमा उनी शरणार्थी प्रकरणमा आफू कसरी परेँ भन्ने समीक्षा गरिरहन्छन् ।

    ‘म बोल्दा पनि एकदमै विचार पुर्‍याएर बोल्थें, अरुलाई ठेस नपुगोस् भन्ने चाहन्थेँ’, खाँण भन्छन्, ‘सकभर सबैसँग मिलेर जाउँ भन्ने हुन्थ्यो, तर सबै मविरुद्ध लागे ।’

    आफूले गृहमन्त्री छँदा गरेको कामलाई लिएर प्रतिशोध साँध्न खोजिएको उनको निष्कर्ष छ । भेट्न पुग्ने नेता कार्यकर्तालाई उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका तत्कालीन प्रमुख डा. मनोज केसी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्याम ज्ञवालीले आफूमाथि प्रतिशोध साँधेको दाबी गर्ने गरेका छन् ।

    रुपन्देही प्रहरी प्रमुख रहेका बेला ७/८ महिनामा केसीलाई तान्नुपर्ने परिस्थिति बनेपछि उनी आफूसँग रुष्ट गरेको खाँणले दाबी गर्ने गरेका छन् । ज्ञवाली आईजीपी प्रकरणपछि आफूसँग विच्किएको उनले बताउने गरेका छन् ।

    उनको ब्याचबाट वसन्तबहादुर कुँवर हाल प्रहरी महानिरीक्षक छन् । महानिरीक्षक रस्साकस्सी चलेका बेला आफू बालुवाटार पुगेको थाहा पाएपछि केही अधिकृतहरु रुष्ट बनेको खाँणको विश्लेषण छ । गृह प्रशासनले पनि ‘स्टन्ट’ गर्न खोजेको खाँणले आरोप लगाउने गरेका छन् ।

    तर, प्रहरीले भने खाँणविरुद्ध चार प्रमाण जुटाएर उनलाई पक्राउ गरेको थियो, जसले खाँणले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको देखाएको थियो ।

    जिल्ला प्रहरी परिसर, टेकुमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण । तस्वीरः अनलाइनखबर डटकमबाट ।

    ती प्रमाण अगाडि हुँदा पनि महानिरीक्षक वसन्तबहादुर कुँवर उनलाई पक्राउ गर्ने पक्षमा नदेखिएपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीको अग्रसरतामा खाँण पक्राउ परेका थिए ।

    ज्ञवाली र केसी दुवैलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको साथ थियो । आईजीपी कुँवरको पनि शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग सम्पर्क र भेटघाट भएको देखिएपछि गृह प्रशासनले कतिपय अपरेशन उनलाई समेत थाहा नदिइ चलाएको थियो ।

    हाल शरणार्थी प्रकरणमा ज्ञवाली र केसीले दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा दुवै जना जिम्मेवारीबाट हटाइएका छन् ।

    दोस्रो चरणको अनुसन्धान हुँदा देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा पनि छानबिनको दायरामा पर्न सक्थिन् । त्यही त्रासका बीच देउवाले प्रहरीका महत्वपूर्ण युनिटका प्रमुख हटाउन दबाब दिएको स्रोतको भनाइ छ ।

    खाँणविरुद्ध प्रहरीले जुटाएका प्रमाण

    सहसचिव बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पेश गर्न स्वीकृत दिएर फेरि छुट शरणार्थीको विवरण पेश गर्न भन्दै अर्को खाँणले अर्को उपसमिति बनाएका थिए । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संशोधन गर्न अर्को समिति बनाउनुलाई प्रहरी अधिकृतहरुले उनको गिरोहसँग साँठगाँठको असर मानेका थिए ।

    त्यसबेला तत्कालीन जिल्ला प्रशासन कार्यालय, झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पन्थी कार्यदलको प्रतिवेदनमाथि पुनर्विचार गर्न समिति बनेको थियो । तर कार्यदलले काम गरेन, बरु तत्कालीन गृहमन्त्री खाँणले पटकपटक उपसमितिको म्याद थप गराइदिइरहे ।

    प्रहरी अनुसन्धान अनुसार, उपसमितिले काम गर्न नमानेपछि गृह मन्त्रालयमा भएको प्रतिवेदन नै कीर्ते गर्ने धन्दा सुरु भयो । मन्त्रिपरिषद्बाट स्वीकृत प्रतिवेदन खाँण गृहमन्त्री भएका बेला स्थानीय प्रशासन शाखाबाट कीर्ते भएको विषयलाई समेत प्रहरीले उनीविरुद्धको प्रमाण मानेको थियो ।

    तर, खाँणले भने त्यो प्रतिवेदन कर्मचारी प्रशासनसँग हुने भन्दै कर्मचारीलाई नछोइ आफूलाई मात्र आरोपित गरिएको जिकिर गर्ने गरेका छन् । यसैमा उनले ललितानिवासको प्रसंग पनि जोड्ने गरेका छन् । ‘ललितानिवासमा टिप्पणी उठाउने तत्कालीन अधिकृत कृष्णबहादुर राउत (हालका सचिव) प्रतिवादी बनाइए, तर शरणार्थीमा कर्मचारीतिर अनुसन्धान भएन’, खाँणले भन्ने गरेका छन् ।

    खाँणविरुद्धको तेस्रो प्रमाण प्रहरीले पीडितहरुले दिएको जाहेरीलाई मानेको थियो । जसमा जाहेरवालाहरुले ‘रकम फिर्ता गर्न दबाब दिँदा केशवप्रसाद दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन्, गृहमन्त्री र गृहसचिवसँग कुरा भइरहेको छ, अब रकम फिर्ता गर्ने होइन, अमेरिका जाने हो’ भन्ने उल्लेख गरेका छन् ।

    चौथो प्रमाणका रुपमा प्रहरीले अर्का आरोपी केशव दुलाल र टेकनारायण पाण्डेको सम्वाद र पाण्डेको बयानलाई आधार मानेको थियो । पाण्डेले बयानमा मन्त्री खाँण र दुलालबीच सिधा सम्पर्क रहेको बताएका थिए । तर, खाँणले भने कारागारमा भेट्न पुग्नेहरुसँग प्रकरणका कोहीसँग पनि चिनजान भएको दाबी गर्ने गरेका छन् ।

    प्रहरी अनुसन्धानका क्रममा खाँणले गृहसचिव बनाएका पाण्डेले स्थानीय प्रशासन शाखामा रहेको शरणार्थी कार्यदलको प्रतिवेदन मागेर घर लगेको खुलेको थियो । फर्काएर ल्याउँदा त्यहाँ कीर्ते गरेको कागजात राखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    गृह प्रशासनको अनुभव नभएका सचिवलाई मन्त्रालयमा भएको भन्दै पाण्डेको सरुवाका बेला आलोचना समेत भएको थियो । तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा समेतको जोडबलमा पाण्डे गृह मन्त्रालयमा लगिएका थिए ।

    पछि आरजु र खाँण पत्नी मञ्जुसमेतलाई पैसा बुझाएको जिकिर गरिएको अर्का अभियुक्त सन्देश शर्माको अडियो रेकर्ड सार्वजनिक भएको थियो । यद्यपि, बयानमा सन्देशले रकम बुझाएको अस्वीकार गरेका थिए ।

    शरणार्थी प्रकरणमा अनलाइनखबरमा गरिएका थप रिपोर्टङहरूः

    गिरोहकै रोजाइमा नियुक्त गरिएको थियो शरणार्थी कार्यदलमा सदस्य
    कार्यदलमार्फत नेपालीलाई शरणार्थी बनाउने प्रयास, असफल भएपछि प्रतिवेदन हत्याएर कीर्ते
    पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब
    शरणार्थी मामिलामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न देऊ
    सन्देश शर्मा र गजेन्द्रबीच टेलिफोन संवाद : ‘हामीलाई दुहुनो गाई बनाएका छन्’
    ‘मेरै कार्यकालमा तपाईंलाई समात्नुपर्ला भन्ने सोचेकै थिइनँ’
    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष- टोपबहादुर र इन्द्रजित योजनाकार
    शरणार्थी प्रकरणमा अपुरो अनुसन्धान
    बादल, प्रेम राई र राजेश बज्राचार्यको नाम लिए, आरजु र खाँणबारे मौन
    जस्ट इन हाईलाइट्स
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.