• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»भागरथी प्रकरणको अनुसन्धानले जोगिएको प्रहरीको साख
    Nepal Police

    भागरथी प्रकरणको अनुसन्धानले जोगिएको प्रहरीको साख

    गौरव पोखरेलBy गौरव पोखरेलFebruary 21, 2021Updated:May 18, 2021No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो ।

    तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई स्तब्ध पार्ने गरी भएको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको गुत्थी सुल्झाउन खटिए ।

    यो टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान टिम (आरआईटी), संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय, बैतडीका गरी ४५ जना त अनुसन्धान अधिकारी मात्र थिए ।

    घटनाको दोषी पत्ता लगाउन माग गर्दै हुने जुलुसमा कुनै अप्रिय घटना नहोस् भनेर चौकी आसपासको क्षेत्रको सुरक्षाका लागि २० जना खटिएका थिए । समग्र टोलीको कमाण्ड गरिरहेका थिए, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी ।

    सामान्यतः जघन्य अपराधका घटनाहरु हुँदा जिल्ला प्रहरी प्रमुखसम्म अपराधस्थलसम्म खटिने गर्छन् । अनुसन्धानका लागि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) आफैं विरलै खट्ने गर्छन् ।

    पूर्वडीआईजी रमेश खरेल भन्छन्, ‘प्रदेश प्रहरी प्रमुख आफैं घटनास्थलमा खट्नु भनेको संगठनले यो घटनालाई कति प्राथमिकता दिएको छ भन्ने हो ।’ सही नेतृत्वकै कारण भागरथी प्रकरण सुल्झिएको उनको विश्लेषण छ ।

    आरोपी समातिँदा स्थानीय गद्गद्

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किँदै गर्दा हराएकी थिइन् । सनातन माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने उनी साँझसम्म नआएपछि परिवारले खोजी थालेको थियो । भोलिपल्ट विद्यालयबाट घर आउने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा उनको शव भेटिएको थियो ।

    जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको रिपोर्टले भट्टको बलात्कारपछि हत्या भएको देखाएको थियो । त्यसपछि यो प्रकरणलाई कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणसँग जोडेर हेरिएको थियो ।

    निर्मला प्रकरणसँग जोड्नुका पछाडि दुवै घटनामा देखिएका केही समानताले काम गरेका थिए । दुवै घटनामा पीडित किशोरी थिए, बलात्कारपछि हत्या भएको थियो र साँझसम्म घर नआएपछि खोजी गर्दा अर्को दिन शव भेटिएको थियो । शवको प्रकृति उस्तै विभत्स थियो ।

    अनुसन्धानमा संलग्न प्रहरी सम्मानित हुँदै ।

    निर्मला प्रकरणमा प्रहरी अनुसन्धान गिजोलिएपछि प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास धर्मराएको थियो । र, भट्ट प्रकरणमा पनि त्यस्तै नहोस् भन्दै नागरिक समाजबाट निरन्तर खबरदारी गर्ने काम भए ।

    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले विज्ञप्ति नै जारी गरेर यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र निर्मला प्रहरण दोहोरिन नदिन माग गरेका थिए । अन्य राजनीतिक दलले पनि घटनाप्रति चासो देखाए भने राष्ट्रिय मानव अधिकार आयोगदेखि नागरिक समाजसम्मले प्रहरीलाई झक्झक्याए ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनालगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली खटायो । यो टोली निर्मला प्रकरणकै अनुसन्धानमा खटिएको थियो । त्यही बेला भागरथीको हत्या भएको खबर आएपछि बैतडी पठाइएको थियो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुवेदी पनि २२ माघबाटै अपराधस्थलमा खटिए । र, त्यही प्रहरी चौकीमा डेरा जमाएर बसे ।

    अन्ततः १३ औं दिनमा प्रहरीले घटनामा संलग्न व्यक्तिलाई बुधबार सार्वजनिक गरेको छ ।

    भट्टकै विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेश भट्टको बलात्कारपछि हत्यामा संलग्नता पुष्टि भएको डीआईजी सुवेदी बताउँछन् । ‘हत्या गरेको स्वीकार्दै उनले साबिती बयान पनि दिएका छन्’, उनले भने, ‘घटना भएका वेला उनको अपराधस्थल वरिपरि उपस्थिति पनि पुष्टि भइसकेको छ ।’

    भट्ट पक्राउ परेको खबर पाएपछि स्थानीयले खोचलेक चौकीमै गएर डीआईजी सुवेदी लगायतका अनुसन्धान अधिकृतलाई फूलमाला र अविर लगाइदिएर सम्मान गरेका छन् । ‘व्यवसायिक र निष्पक्ष अनुसन्धान हुने हो भने नेपाल प्रहरी अब्बल छ भन्ने यो अनुसन्धानले पुष्टि गरेको छ’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले अनलाइनखबरसँग भने, ‘त्यही कारण यहाँबाट जाने वेलामा सम्मान गरेका हौं ।’

    भागरथीको शव भेटिएको स्थान ।

    निर्मला प्रकरणपछि सचेत छौं : प्रहरी

    विगतका अनुभवका आधारमा अनुसन्धानलाई सही बाटोमा लैजान आफू घटनास्थलमा बसेको सुवेदी बताउँछन् ।

    पूर्वडीआईजी खरेलको भनाइमा कमाण्डर आफैं अनुसन्धान भइरहेको ठाउँमा बस्दा कन्भिन्सिङ वातावरण बनाउन सहज हुन्छ, अनुसन्धान अधिकृतहरुको उच्च मनोबल हुन्छ, अनुसन्धानलाई व्यवस्थित बनाउन सहयोग पुग्छ । ‘राम्रो नेतृत्वले गलत भयो भने पनि जिम्मेवारी लिन्छ र सही भयो पनि सामूहिक श्रेय लिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘यसले ठूलो प्रभाव पार्छ, त्यसैको परिणाम बैतडीमा पनि देखिएको हो ।’

    प्रहरी अधिकृतहरुका अनुसार निर्मला प्रकरणमा सुरुवातदेखि नारा जुलुस, जनआक्रोशमा मोडिएको अनुसन्धानको लय, भिडलाई कन्भिन्स गर्न नसक्नु, विभिन्न समितिहरु गठन हुनु जस्ता कारणले अनुसन्धान लयबाट बाहिर गएको थियो । पूर्वडीआईजी पूर्णचन्द्र जोशीका अनुसार भट्ट बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले निर्मला प्रकरणबाट पाठ सिकेको देखिएको छ । ‘बेलैमा वरिष्ठ अधिकृतहरु गएर अनुसन्धानमा गम्भीरतापूर्वक लागेकाले पनि अनुसन्धान गलत ट्याकमा जान पाएन’, जोशीले भने, ‘सीमित प्रविधि भएको पहाडी क्षेत्रमा प्रहरीले यति छिट्टै सफलता हात पार्नु चानचुन होइन ।’

    डीआईजी सुवेदीका अनुसार सुरुवाती दिनमा बैतडीमा पनि नारा जुलुस र आमनागरिकको आक्रोश थियो । ‘सर्वदलीय बैठक बोलाएर छलफल गरेपछि सबैले बुझ्नुभयो’, उनले अनलाइनखबरसँग सुनाए, ‘पहिले नागरिकस्तरबाट राम्रो समन्वय हुन सकेको थिएन, पछि राम्रो सहयोग पायौं ।’

    निर्मला प्रकरणमा प्रहरीले हात परेका उपलब्धी परिवारलाई समेत सुनाएको थिएन, जसले गर्दा प्रहरीले अनुसन्धानमा प्रयास गरिरहेको समेत भिडले थाहा पाएन ।

    भागरथी प्रकरणमा चाहिँ प्रहरीले परिवारसहित केही व्यक्तिलाई घटनामा भइरहेको प्रगतिबारे जानकारी दिएर विश्वासमा लिने प्रयास गरिरह्यो, जसले अनुसन्धान आउट अफ ट्याकमा जान नपाएको प्रहरी अधिकृतहरु बताउँछन् ।

    गाउँपालिका अध्यक्ष कार्की भन्छन्, ‘निर्मला प्रकरण भिडले विग्रिएको विर्सिएका थिएनौं । त्यसैले प्रहरीले दोषी पत्ता लगाउने विश्वास दिलाएपछि सबैले सहयोग गर्‍यौं ।’

    नागरिक समाज र सञ्चारमाध्यमबाट पनि महत्वपूर्ण सहयोग पाएको सुवेदी बताउँछन् । विगतमा कतिपय घटनामा प्रहरीले अनुसन्धान नगरिदिँदा स्थानीयले सहयोग नगरेको पाइएको डीआईजी सुवेदीले सुनाउँछन् । ‘तीनवटा पुरानो घटनामा फेरि अनुसन्धान गर्नुपर्ने देखिएको छ, त्यो फाइल पनि खोलिसकेका छौं’, उनले अनलाइनखबरसँग भने ।

    तालिम प्राप्त कुकुर अपराधस्थलमा ।

    डीआईजी अपराधस्थलमा जानु राम्रो, तर…

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदी आफैंमा अब्बल अनुसन्धान अधिकृत रहेको ट्रयाक रेकर्डले देखाउँछ । विगतमा उनले सञ्जय साह जोडिएको जनकपुर बम विष्फोट प्रकरणको सफल अनुसन्धान गरेका छन् । सञ्चारकर्मी अरुण सिंघानिया हत्या प्रकरणको पनि छानविन गरे, उमा सिंहको हत्यामा संलग्न मुख्य आरोपितलाई समातेका छन् ।

    उनले सर्लाहीमा रहँदा टाउको नभएको शवको अनुसन्धान गर्न समेत २९ दिनसम्म घटनास्थल नजिकै बसेर अनुसन्धान गरेको रेकर्ड छ । अहिले उनकै सुपरीवेक्षणमा भागरथीको हत्यामा संलग्न आरोपित दुई सातामै पक्राउ परेपछि निर्मला प्रकरणमा धमिलिएको प्रहरीको छवि सुधार्न योगदान गरे ।

    पूर्वडीआईजी पिताम्बर अधिकारीका अनुसार भागरथी प्रकरण निर्मला घटनाजस्तै गिजोलिने सम्भावनालाई नकार्न नसकिने अवस्था थिएन । भन्छन्, ‘त्यस्तै अवस्था दोहोरिएको भए प्रहरीप्रति सर्वसाधारणको विश्वास गुम्थ्यो, यो घटनाको समयमै सफल अनुसन्धान हुनु संगठनका लागि सुखद् हो ।’

    पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि भागरथी प्रकरणमा प्रहरीले सफलता पाएकोप्रति खुसी व्यक्त गर्छन् । तर, हरेक गम्भीर प्रकृतिको अनुसन्धानमा वरिष्ठ अधिकृत नै नगइ नहुने थिति बस्ला कि भन्ने चिन्ता उनलाई छ । भन्छन्, ‘गम्भीर घटना आउने वित्तिकै स्थानीय अनुसन्धान अधिकृतहरु पन्छिने अवस्था नआओस्, अपराध अनुसन्धानमा तालिम र प्रविधि दिएर सम्बन्धित ठाउँकै प्रहरीलाई जिम्मेवार बनाइनुपर्छ ।’

    २०७७ फागुन ५ गते १८:३० मा प्रकाशित

    अपराध नेपाल प्रहरी भागरथी हत्या प्रकरण हत्या
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202267 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202562 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.