• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»प्रहरी आईजीपीको आदेशमा चल्छ कि प्रधानमन्त्रीको मुडमा ?
    Nepal Police

    प्रहरी आईजीपीको आदेशमा चल्छ कि प्रधानमन्त्रीको मुडमा ?

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 14, 2020No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    कुलमानको समर्थनमा प्रदर्शनमा उत्रिएका बब्लुमाथि जाइलाग्दै प्रहरीहरु
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भुइँमा बजारिँदा उनी घाइते भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । तर, राठौरको भनाइ त्यतिबेला गलत साबित भयो, जब युट्युबमा श्रेष्ठलाई प्रहरीले लाठी हालेलगत्तै टाउकोबाट रगत बगेको देखिने भिडियो सार्वजनिक भयो ।

    निहत्था नागरिकमाथि प्रहरी निर्ममता त्यतिमा मात्र सीमित भएन । श्रेष्ठलाई उपचारका लागि ट्रमा सेन्टरमा पुर्‍याइएपछि अर्की एकजना महिला समर्थकमाथि पनि दुर्व्यवहार भयो । महिलाले अस्पतालमा हो–हल्ला गरेपछि तनाव सिर्जना भएको पृष्ठभूमि प्रहरीले बताए पनि उनलाई नियन्त्रणमा लिने वेला पुरुष प्रहरी खटिएको स्पष्ट देखिन्छ, जसलाई लिएर प्रहरीको आलोचना भइरहेको छ ।

    यो घटनाको एक दिन अघि कुलमानकै पक्षमा प्रदर्शन गर्न लागेका युवा अभियन्ता बब्लु गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गर्‍यो । बबरमहलबाट गुप्तालाई नियन्त्रणमा लिइसकेपछि लाठी र बुट बजार्नु गलत भएको प्रहरी अधिकृतहरु नै स्वीकार्छन् ।

    तर, गलत कार्यशैली देखाएको विषय छर्लङ हुँदाहुँदै पनि फिल्डमा खटिएका प्रहरीचाहिँ किन बारम्बार आक्रामक भएर कुटपिटमा उत्रिए भन्ने विषयमा प्रहरी हेडक्वार्टरले मुख खोलेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायत भने यही विषयमा छानविन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको बताउँछन् ।

    ‘प्रहरी प्रधान कार्यालयको निर्देशनपछि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन गर्न समिति बनेको छ’, एसएसपी कडायतले भने, ‘छानविनबाट दोषी देखिएकामाथि कारबाही हुन्छ ।’

    सर्वसाधारणमाथि प्रहरी दमनको श्रृंखला यतिमा मात्र रोकिएको छैन । अन्यभन्दा सालिन मानिएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको नेपाल प्रहरीले जनस्तरबाट व्यापक विरोधका बीच पनि व्यवहार सुधारेको देखिँदैन । संविधान दिवसको पूर्वसन्ध्यामा संसद भवनकै सामुन्ने विनाकारण एक सर्वसाधारण कुटिनु यसको प्रमाण हो ।

    यो पनि पढ्नुहोससंविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

    श्रीमतीलाई अस्पतालमा जँचाएर निवासतर्फ फर्किँदै गर्दा बानेश्वरमा वसन्त पौडेल अनलाइनखबरसँग संविधान जारी भएपछिका उपलब्धिबारे बताउँदै थिए । संविधान जारी भएपछि पनि आशा अनुरुप मुलुकमा परिवर्तन नभएको बताउँदै गर्दा एक हुल प्रहरी आएर सञ्चारकर्मीलाई समेत लछारपछार गरे ।

    अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै नगर प्रहरीको टोलीले नागरिकमाथि गैरजिम्मेवार हर्कत गरेको थियो । पौडेलमाथि लाठी चार्जसमेत भएको थियो । तर, विडम्बनाको कुरा यसलाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविनको विषय बनाउन चाहेन ।

    संविधान दिवसको पूर्वसन्ध्यामा नागरिक कुटिनु सामान्य विषय थिएन । स्मरणीय विषय त जहाँ पौडेलमाथि लाठी प्रहार भयो, त्यहाँ न कुनै प्रदर्शन भइरहेको थियो न अनावश्यक भिड नै गरिएको थियो । सञ्चारमाध्यमलाई अन्तरवार्ता दिनु प्रहरीलाई किन कानुन विपरीत लाग्यो ? नभए, अन्धाधुन्ध आएर नागरिकलाई लखेट्दै हिँड्न प्रहरीलाई किन आवश्यकता आइलाग्यो ?

    यो प्रश्नबाट रानीपोखरीका प्रहरी अधिकृतहरु पन्छिन खोजे पनि राज्यलाई कर तिर्ने एक नागरिकको मष्तिस्कले जवाफ खोजिरहनेछ ।

    यो पनि पढ्नुहोसमहानिरीक्षकज्यू, प्रहरी र गुण्डामा अन्तर हुँदैन ?

    कुटपिटमा अधिकृत नै संलग्न

    भिड नियन्त्रणका बेला तल्लो दर्जाका प्रहरी कर्मचारीहरुबाट कहिलेकाहीँ लाठी प्रहार हुनुलाई सामान्यरुपमा समेत लिन सकिएला । तर, जब अधिकृतहरु नै नागरिकलाई नियन्त्रणमा लिइसकेपछि पनि अन्धाधुन्ध कुटपिटमा लाग्छन्, तब यो विषय सामान्य मात्र रहँदैन ।

    बबरमहल कुटपिट प्रकरणमा भएको यही हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले बब्लुलाई कुटपिट गरेको देखिएको छ । बानेश्वरमा नगर प्रहरीका निरीक्षक डिल्लीराज सापकोटाकै नेतृत्वमा आएको टोलीले पौडेलमाथि भएको लाठी चार्ज गरेको छ । तर, घटनाको छानविन नगरी प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई इलाका प्रहरी कार्यालय, अमिलियामा इञ्चार्जको जिम्मेवारी दिएको छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएर प्रधानमन्त्रीको राजीनामा मागिएका बेला विभिन्न ठाउँमा केपी ओलीका पक्षमा प्रदर्शन भए, जसमा प्रहरीले कुनै किसिमको हस्तक्षेप गरेको थिएन । यसै सन्दर्भमा बबरमहलमा राज्यबाट कुटिएका बब्लुले खुला प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीको पक्षमा प्रदर्शन हुँदा केही नगर्ने, राम्रो मान्छेको पक्षमा प्रदर्शन गर्दा कुटाइ खानुपर्ने ?’

    यो पनि पढ्नुहोसप्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

    नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि पछिल्लो समय भएका कुटपिटका घटना प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र नभएको बताएका छन् । ‘यो विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो’, उनले ट्वीट गर्दै नेपाल प्रहरीलाई भनेका छन्, ‘आदेश पालना गर्ने नाममा संयम नमगुमाउनुस् ।’

    कतिपयले कुलमानको पक्षमा हुने प्रदर्शनलाई रोक्न गृह मन्त्रालयले नै निर्देशन जारी गरेको बताउने गरेका छन् । तर, प्रहरी प्रवक्ता कडायत भने यस प्रकारका विषयमा गृहको निर्देशन नआउने बताउँछन् । दैनिक शान्ति, सुरक्षा कायम गर्ने विषय प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारको कुरा भएको उनको भनाइ छ ।

    प्रहरीका उच्च अधिकृतहरुसँग अनलाइनखबरले गरेको सम्पर्कले पनि कुलमानको पक्षमा हुने प्रदर्शन रोक्न औपचारिक रुपमा निर्देशन नआएको हुनसक्ने देखाउँछ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि कुलमान पक्षधरलाई सडकमा निस्किनै नदिनु भनेको छैन । आईजीपी थापाले भिड नियन्त्रणमा अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिइरहेका छन् ।

    त्यसो भए कसको इशारामा प्रहरीले कुलमान पक्षका युवालाई प्रदर्शनस्थलमा पुग्नु अगावै पक्राउ गरिरहेको छ ? फिल्डमा खटिने प्रहरी कर्मचारी संगठन नेतृत्व गरेका थापाको निर्देशन पालना गरिरहेका छन् कि सरकारको नेतृत्व गरेको केपी ओलीको मुडको ? अहिलेको मुख्य प्रश्न यही हो ।

    सार्वजनिक भएलगत्तै आचारसंहिताको धज्जी

    आईजीपी थापाले २८ भदौमा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यदेश जारी गरेका थिए । संहिता जारी गर्नु थापाको सुखद् सुरुवात भए पनि कार्यान्यवनको पाटोमा उनी सुरुवातबाटै चुकेका छन् ।

    केही विवादास्पद र अव्यवहारिक प्रावधान समेटिएको कार्यदेश लागू भएबाटै संगठनकै अधिकारीले धज्जी उडाउन सुरु गरेका छन् । कार्यादेशमा शान्ति सुरक्षा वा कानुन कार्यान्वयन कार्यमा खटिँदा के गर्ने भन्ने शीर्षकमा कुनै पनि प्रयोजनका लागि बल प्रयोग गर्नुपर्ने अवस्थामा सो गर्नुपूर्व सम्भव भएसम्म सम्झाइ बुझाइ स्थितिलाई सामान्य बनाउने प्रयास गर्नुपर्ने भनिएको छ ।

    तर, पछिल्ला दृष्टान्तहरुले स्थितिलाई साम्य पार्नेतिर प्रहरीले अलिकति पनि ध्यान दिएको देखिँदैन । सोही प्रावधानको (ख) मा प्रहरी कारबाहीका क्रममा बल वा शक्ति प्रयोग गर्नुपर्ने भए आवश्यकता अनुसार सिलसिलेवार रुपमा कानुन बमोजिम न्युनतम बल प्रयोग गर्ने भनिएको छ ।

    अहिले प्रहरीले गरिरहेको गतिविधिहरुले यो प्रावधान पालना भएको देखाउँदैन । पछिल्लो समय विवादमा आएका प्रकरणमा प्रहरीले बल प्रयोग गर्नु आवश्यक थियो कि थिएन भन्नेबारे आफूले अनुसन्धान गरिररहेको रानीपोखरीकी एसएसपी किरण बज्राचार्य बताउँछिन् । भन्छिन्, ‘छानविन सकेर ७ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश छ ।’

    समितिमा बज्राचार्यसँगै प्रहरी नायब उपरीक्षक (डीएसपी) भावेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल पनि सदस्य छन् ।

    राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव एवं सूचना अधिकारी डा. टिकाराम पोखरेल प्रहरीले नागरिकमाथि कुटपिट गर्नु अभिव्यक्ति र नागरिक स्वतन्त्रताप्रतिको प्रहार भएको बताउँछन् । ‘पछिल्लो समय भएका घटना आयोगको नोटिसमा छन्, अनुगमन गरेर सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराइरहेका छौं’, पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले भइरहेका घटना सरासर मानवअधिकार विरोधी कार्य हो ।’

    ‘प्रहरीमा तनाब बढी भयो’

    प्रहरी अधिकारीमा बढ्दो आक्रोशका पछाडि केके कारण होलान् ? नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी फिल्डमा खटिएका प्रहरी कर्मचारीमा तालिम र उचित निर्देशनको अभाव हुनसक्ने आशंका गर्छन् ।

    फिल्डमा खटिएका इञ्चार्जले नै कुटपिट गर्नुेले कमाण्डरलाई नै भिड नियन्त्रणको सिद्धान्तबारे राम्रो ज्ञान नभएको हुनसक्ने देखिएको उनी बताउँछन् । अथवा, उनलाई पनि माथिल्लो तहबाट राम्रोसँग ब्रिफिङ नभएको हुनसक्ने ठकुरी बुझाइ छ ।

    मनोविद् गोपाल ढकालको विचारमा चाहिँ प्रहरी अधिकारीमा लामो लकडाउन र निषेधाज्ञाले मानसिक तनाव पनि बढाएको छ । प्रहरीले हालसम्म स्वास्थ्य सावधानीका लागि चाहिने मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) जस्ता न्यूनतम आवश्यकताका सामग्री पाएको छैन, जसका कारण प्रहरीले आफूलाई असुरक्षित महसुस गर्दै गएको र असामान्य व्यवहार देखाएको हुनसक्ने उनको आशंका छ ।

    ‘लकडाउनको सुरुवाती दिनमा प्रहरी संयम नै देखिएको थियो तर, पछिल्लो समय उत्तेजित हुँदै गएको पाइन्छ’, ढकालले अनलाइनखबरसँग भने, ‘यो कुनै न कुनै रुपमा तनाव र २४ सै घन्टा जिम्मेवारीमा रहँदा थकानको परिणाम हुनसक्छ ।’

    नेपाल प्रहरीका अवकाश प्राप्त उपरीक्षक (एसपी) रविन्द्र रेग्मी पनि ढकालको कुरासँग सहमत छन् । उनी भन्छन्, ‘एकातिर प्रहरीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन, तलब पनि रोकिएको छ, अर्कातिर ठूलो संख्यामा प्रहरी अधिकारी आइसोलेसनमा बस्नुपरेपछि बचेका प्रहरीलाई काममा थप भार परेको छ ।’

    एसपी रेग्मीका अनुसार प्रहरी कर्मचारीहरु महामारीबीच लामो समयदेखि घर जान पाएका छैनन् । नजिकै घर हुने गए पनि संक्रमणको जोखिमका कारण परिवारका सबै सदस्यलाई भेट्न पाएका छैनन्, यसले पनि प्रहरीमा निराशा बढाएको छ । त्यसमाथि आफैं पनि संक्रमित हुनसक्ने चिन्ता र छरछिमेक र फिल्डमा खटिएका बेला आमनागरिकबाट हुने व्यवहारका कारण पनि प्रहरीको काम, कारबाहीमा समस्या आएको हुन सक्ने उनको बुझाइ छ ।

    भिड नियन्त्रण नगरे माथिल्लो निकायबाट अपजस आउन सक्ने भएका कारण पनि प्रहरी दबाबमा परेको हुनसक्ने ठकुरी बताउँछन् । उनी भन्छन्, ‘फिल्डमा खटिएका प्रहरी एक किसिमले आफैं समस्यामा पनि हुन्छन्, व्यवहारिकता हेरौं आदेश पालना नगरेको ठहरिने, आदेश मानौं व्यवहारिकता नमानेको आरोप लाग्ने सम्भावना रहन्छ ।’

    अहिले प्रहरीले आराम गर्ने समय नै नपाएका कारण पनि तनावमा रहेको पूर्वएसपी रेग्मी बताउँछन् । यसलाई व्यवस्थापन गरेर प्रहरीको मनोबल बढाउन नसकिए झनै कार्यशैलीमा समस्या आउन सक्ने उनी बताउँछन् । त्यसैले सुरक्षा निकायमा संक्रमण पनि बढिरहेका बेला सरकारले घोषणा गरेका सुविधाहरु प्रहरीलाई तत्काल दिनुपर्ने उनी बताउँछन् ।

    यो पनि पढ्नुहोससुरक्षाकर्मीको तलब काट्न हतार, प्रोत्साहन भत्ता दिन आनाकानी

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    सरकारी वकिल VS CIB : संगठित अपराधमा ६२ दिन थुनेर किर्तेमा मुद्दा

    August 29, 2023

    शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन देउवाको दबाब

    August 18, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.