• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’
    Features

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 26, 2025Updated:August 26, 2025No Comments11 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अमेरिकाबाट ढाका विमानस्थलसम्म हत्कडी र खुट्टामा फलामको जञ्जिरले बाँधेर ल्याइएका थिए डिपोर्ट भएका ३७ नेपाली

    अमेरिकाबाट डिपोर्ट भएर २६ जेठमा काठमाडौं आइपुगेका आएका ३७ जनामध्येका एक युवाले डंकी रुटबाट सपनाको देश पुग्दासम्मको दर्दनाक वृत्तान्त अनलाइनखबरसँग सुनाएका छन् ।

    ९ साउन, काठमाडौं । ‘ल अब ग्रुपको सबैले पूरा पैसा तिर्ने ! यही पर्खालको पारिपट्टि अमेरिका छ,’ मेक्सिकोमा एजेन्टले अन्तिम गन्तव्यमा पुग्न लागेको संकेत दिँदा दाङका सन्देश (२७) मुसुक्क हाँसे ।

    चारजना नेपाली र ९ जना टर्किस नागरिकसहित १३ जनाको समूह लामो समयपछि यसरी मुस्कुराएको थियो । यद्यपि, त्यो लामो समय टिक्नेवाला थिएन ।

    राति करिब १२ बजेको थियो, जतिबेला सन्देश मेक्सिको र दक्षिण अमेरिकाको सीमा क्षेत्रमा पुगेका थिए । ‘त्यहाँ पुर्‍याएर पारि कट्न सेटिङ मिलाउनुपर्छ भन्दै पैसा मागिरहेको थियो,’ उनले सम्झिए, ‘पहिले अरूसँग बुझेका बेला पनि मेक्सिको पुगेपछि सबै पैसा लिन्छ भनेका थिए ।’

    यो यात्रा पूरा गर्न ७० लाख रुपैयाँ लाग्ने उनलाई भनिएको थियो । त्यसमध्ये थोरै रकम मात्र बुझाउन बाँकी थियो । तर एजेन्टले समूहमा भएका कोही एकजनाको पैसा पूरा आएन भने पनि सबैको यात्रा रोकिन्छ भनेर डर देखाइरहेका थिए ।

    सायद एजेन्टको पैसा उठाउने त्यही शैलीका कारण उनीहरूलाई सीमा क्षेत्रबाट ३० किलोमिटर वर एउटा होस्टलमा राखिएको थियो । ‘एजेन्टहरूको पनि टार्गेट हुँदो हो, हप्तामा कति जनालाई कटाउने भन्ने । बेलुका आउँदै अरू समूहका कतिपयलाई लैजाँदै पनि गरिरहेको थियो,’ उनले सुनाए, ‘हामीलाई चाहिँ त्यहीँ अड्काइरह्यो ।’

    त्यो होस्टलमा बसेकाजति सबै विभिन्न मुलुकबाट अमेरिका छिर्न डंकी रुट प्रयोग गरेर हिँडेका अवैध आप्रवासी थिए । ‘विभिन्न देशका मान्छेहरू छुट्टाछुट्टै समूहमा बसेका थिए, हामी नेपालीहरू छुट्टै खाना बनाएर खान्थ्यौं,’ सन्देश सम्झन्छन्, ‘करिब डेढ महिना त्यसरी बसेपछि बल्ल अमेरिका प्रवेश गर्ने पालो आएको जानकारी दिइयो ।’

    त्योबीचमा उनले सबै रकम बुझाइसकेका थिए । उनका साथीहरूले समेत जम्मा गरिदिइसकेको खबर उनीहरूलाई दिइएको थियो ।

    भर्‍याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’

    सन्देशले पहिले सुनेका थिए, मेक्सिको सीमाबाट कतिपयलाई जंगलको बाटो हुँदै राति कटाइदिन्छन् । फिल्महरूमा पनि त्यस्तै देखेका थिए । तर सन्देशसहितको समूहलाई चाहिँ एजेन्टले दिउँसै अमेरिकी सीमा कटाउने भए ।

    ‘होस्टलबाट त एकाबिहानै निकालेको थियो, गाडीमा बोर्डरै बोर्डर ६/७ घन्टासम्म हिँडायो,’ उनले सुनाए, ‘त्यसपछि एउटा अग्लो पर्खाल अगाडि लगेर रोक्यो ।’

    उनका अनुसार, अमेरिका-मेक्सिको सीमामा लगभग दुई/तीन तलाको घरजत्तिको अग्लो पर्खाल थियो ।

    उनले पहिल्यै सुनेका थिए, सीमामा पर्खाल नाघेर अमेरिकातिर जाने हो । तर त्यसलाई देख्ने वित्तिकै उनलाई लाग्यो, ‘यत्रो पर्खाल कसरी नाघ्ने ?’

    ‘जोकोहीलाई त्यो चढ्नुपर्ने भनेर देख्दा सुरुमा जिरिङ्ग हुन्छ’, उनले सुनाए, ‘तर, केही अगाडि एजेन्टहरूले पर्खाल चढ्नलाई भर्‍याङ राखेका रहेछन् ।’

    तस्वीर: www.cfr.org

    उनका अनुसार, भर्‍याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’

    अर्कोतर्फ एउटा लामो डोरी राखिएको थियो, जहाँ झुण्डिएर तल झर्नुपर्ने थियो । अहिले उनलाई लाग्छ, त्यो कुनै मोबाइल गेमको दृश्यभन्दा कम थिएन ।

    यो यस्तो ठाउँ हो, जहाँ छँदा एक-एक सेकेन्डको पनि महत्व ज्यादै हुन्छ । किनकि, अमेरिकी बोर्डर पट्रोल टोली जतिबेलै सीमा क्षेत्र वरिपरि घुमिरहेको हुन्छ, जतिसुकै बेला पक्राउ पर्न सकिने सम्भावना हुन्छ ।

    धेरैतिर क्लोज सर्किट (सीसी) टिभी क्यामरा पनि हुन्छ । तर एजेन्टहरूले यो समूहलाई ‘ब्लाइन्ड स्पट’ (सीसी टिभीको कभरेज नहुने ठाउँ) बाट छिराएका थिए ।

    ‘जसोतसो डोरीमा झुण्डिएर तल झरेँ, केहीबेर पछाडि आउँदै गरेका नेपाली साथीलाई पनि पर्खिएँ’, उनले सम्झिए, ‘थोरै अगाडि बढ्ने वित्तिकै तीनतिर जाने बाटो थियो ।’

    पर्खालबाट तल झर्दा त्यहाँ चालचुल थिएन । तर कुन बाटो हुँदै अघि बढ्ने होला भनेर सोच्दासोच्दै पट्रोल टोली आइपुगिहाल्यो ।

    ‘अगाडि जंगल थियो, त्यहाँ पनि छिर्न नपाउँदै झ्याप्पै समातिहाल्यो,’ उनले त्यो दिन सम्झिए, ‘समात्ने वित्तिकै तस्वीर खिच्यो र केही दूरीमा रहेको फस्ट क्याम्पमा राख्यो ।’

    यसरी अमेरिका प्रवेश गर्नुअगावै उनीहरूले राहदानीसहित सबै कागजात फ्याँकिसकेका थिए । सोधपुछमा उनीहरूले मौखिक रूपमा आफ्नो विवरणहरू दिए । त्यसपछि दक्षिण क्यालिफोर्नियाको सान्डियागो शहरमा रहेको डिटेन्सन सेन्टरमा उनलाई ५ दिन जति राखियो । पछि अर्को सेन्टरमा लगेर २ महिना थुनामा राखियो । र, अन्तिममा डिपोर्ट गर्ने आदेश अध्यागमनका अधिकारीहरूले सुनाए ।

    कृषि फर्म छाडेर अमेरिका

    उनले नयाँ शब्द सुने- डारिएन ग्याप, जसको अर्थ उनलाई लामो समयसम्म थाहा भएन । यो पानामा र कोलम्बियाबीचको १०६ किलोमिटर लामो घना जंगल हो, जसलाई वर्षौंसम्म कसैले पार गर्न सक्दैन भनिन्थ्यो

    डिपोर्ट भएर काठमाडौं आएको ठ्याक्कै एक वर्षअघि सन्देशको अमेरिका यात्राको सुरुवात भएको थियो । दाङमा कृषि फर्म चलाइरहेका सन्देशको महिनामा ५० हजारजति आम्दानी भइरहेको थियो । तर दुःख धेरै थियो, थोरै मात्र बचत हुन्थ्यो ।

    गाउँका धेरै युवा तल्लो बाटोबाट अमेरिका गइसकेका थिए, उनलाई पनि रहर नलाग्ने कुरै भएन । त्यहीबेला एकजना दाइले अमेरिका जाने भए सहयोग गर्ने भन्दै प्रस्ताव ल्याएको उनी सम्झिन्छन् ।

    गाउँकै मानिस भएकोले उनले प्रहरीसँग तिनको नाम खुलाएनन् । अनलाइनखबरसँग समेत उनी त्यसबेलाको पृष्ठभूमिबारे धेरै खुलेनन् ।

    ‘धेरै गइसकेका थिए, विस्तारै पैसा दिँदा हुन्छ भनेपछि म तयार भएको थिएँ,’ उनी भन्छन्, ‘जम्मा ७० लाख रुपैयाँ, तर सुरुमा ५ लाख मात्र दिन भनियो ।’

    उनलाई प्रस्ताव राम्रै लाग्यो । घरमा सल्लाह गरेर पहिलो चरणको रकम बुझाए । त्यसबेलादेखि अन्तिमसम्म रकम बुझाएको प्रमाण चाहिँ उनले सुरक्षित राखेका छन् ।

    ‘मलाई प्लेनबाट दुबई अनि त्यहाँबाट सिधै निकारागुवासम्म लगेर मेक्सिको पुर्‍याउने भनेको थियो’, उनी सम्झन्छन्, ‘हिँड्नु पनि नपर्ने भनेपछि होला त नि भन्ने ठानेको थिएँ ।’

    २०२४, जनवरी २६/२७ मा उनले काठमाडौं आएर एजेन्टलाई भेटेका थिए ।

    यो भेटको चार दिनमै दुबईको भिसा लागेको खबर आयो । ‘यति चाँडो भिसा लाग्यो कि राम्रोसँग बिदाइ हुन पनि पाइनँ,’ उनी सम्झन्छन्, ‘टिकट पनि तत्कालैको थियो, त्यसपछि पर्वततिरका अर्का एकजना दाइसहित चारजना काठमाडौंबाट उडेका थियौं ।’

    भिजिट भिसामा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका सपना बोकेर दुबई उडे । दुबई ओर्लिएपछि उनलाई लिन आएका एकजना एजेन्टले होस्टलमा लगेर राखे ।

    ‘त्यहाँबाट पनि चाँडै उडिन्छ भनेको थियो, तर एक हप्ता, दुई हप्ता हुँदै ६/७ महिना बित्यो,’ सन्देशले भने, ‘दुई/दुई महिनामा भिसा थप्दै बसेका थियौं, त्यहीबेला तयारीका लागि भन्दै थप पैसा पनि मागिरहन्थे ।’

    दुबईमा उनीसहितको समूह अघि बढ्ने दिनगन्ती गर्दै बसिरहन्थ्यो । एजेन्टले सधैँ केही बहाना निकाल्दै समय लागिरहेको बताउँथ्यो । पैसा थप्नुपर्ने बेला चाहिँ एकदिन, दुईदिन भन्दै आस देखाउँथ्यो।

    होस्टल टाड्ने दिन आउन भने ६ महिना लाग्यो । ‘बिहानै एयरपोर्ट लग्यो, त्यहाँ बहराइनको टिकट थमाइयो,’ उनले सुनाए, ‘त्यहाँबाट चिली हुँदै ब्राजिल पुर्‍यायो ।’

    पानामा जंगलको त्रास

    ब्राजिलमा भेट भएका एजेन्टले उनको समूहलाई पानामा जंगलसम्म पुर्‍याए । ‘झण्डै चार/पाँच दिन हिँडाएपछि पानामा आइपुगियो भनियो,’ उनी सम्झन्छन्, ‘यसरी हिँडाए कि कहिले त कुन देश पुगियो भन्ने समेत थाहा हुँदैनथ्यो ।’

    त्यहीँ उनले नयाँ शब्द सुने- डारिएन ग्याप, जसको अर्थ उनलाई लामो समयसम्म थाहा भएन । यो पानामा र कोलम्बियाबीचको १०६ किलोमिटर लामो घना जंगल हो, जसलाई पार गर्न कम्तीमा ६ दिन लाग्छ । वर्षौंसम्म डारिएन ग्याप पार गर्न कसैले सक्दैन भनिन्थ्यो । तर पछिल्लो दशकमा मानव तस्करहरूले यही रुट प्रयोग गरेर अमेरिकामा मानव तस्करी गर्ने गरेका छन् ।

    युनिसेफकी ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रकी निर्देशक जीन गफका अनुसार, डारियन ग्यापको जंगलभित्र एकातिर डकैती, बलात्कारको जोखिम हुन्छ, अर्कातिर जंगली जनावर, किराफट्याङ्ग्रा र सफा पानीको अभावले ज्यानै लिनसक्छ ।

    यो क्षेत्रमा न सडक छ न त कानुनी शासन । त्यसैले यो बाटो पार गर्दै हरेक महिना दर्जनौं आप्रवासी हराउँछन् भनिन्छ ।

    ‘एजेन्टले सुरुमा सानोतिनो ट्रेक जस्तै हो भनेको थियो । छोटो रुटबाट चार दिनमा पार गराउने भनेका थियो,’ सन्देशले सम्झिए, ‘लुटपाटको जोखिम चाहिँ हुन्छ भनेकाले सेफ्टीको सामान अनि सानो टेन्ट र केही खानेकुरा बोकेका थियौं ।’

    हिँड्न गाह्रो हुने भएकोले उनले झोलामा धेरै सामान राखेका थिएनन् । सुरुमा त त्यहाँ लुटपाट हुन्छ भन्दा विश्वासै लागेन । तर जब सँगै हिँडेकाहरू लुटिएको सुने, त्यसपछि उनको ढुकढुकी बढ्न थाल्यो ।

    ‘बाटोमा एकजना विदेशी केटी लडेर मरी भन्थे, त्यस्तो सुन्दा मुटु काँप्थ्यो’, उनले थपे, ‘कतिपय साथीहरू बाटोमै बिरामी पर्थे ।’ सबैभन्दा बढी चिन्ता चाहिँ साथमा भएको थोरै पैसा पनि लुटिन्छ कि भन्ने थियो । ‘पैसा लुटियो भने सेकेन्ड क्याम्पबाट अगाडि जानलाई डुंगा नै पाइने थिएन,’ उनले भने, ‘डुंगा चढ्न नपाएपछि कतिपय खोला तर्ने रहेछन् ।’

    खोला तर्ने क्रममा बेपत्ता भएका घटना पनि थुप्रै रहेछन् । कति नेपाली नागरिक समेत त्यहीँ हराएका रहेछन् । ‘त्यो सुन्दा र मनमा सम्झिँदै हिँडिरहँदा दिमागले कामै गर्थेन,’ उनले भने, ‘फेरि बाटो यति गाह्रो कि खुट्टा फस्ने डर हुन्थ्यो ।’

    डारिएन ग्यापको जंगलमा हिँड्दै अवैध आप्रवासी । तस्वीर: ह्यूमन राइटस् वाच

    उनका अनुसार, एकजनाको खुट्टा अड्कियो भने बोकेर जाने भन्ने स्थिति नै थिएन । ‘जोकोहीलाई त्यस्तो परे छाडेर हिँड्नुपर्ने स्थिति थियो, अझ डरलाग्दो त नदी आसपास असाध्यै सर्प थिए,’ उनी भन्छन्, ‘विषालु बिच्छी, माकुरा, चितुवा, जंगली कुकुर पनि देखिन्थे ।’

    समूहमा केही सदस्यसँग मोबाइल हुन्थ्यो । तर जंगलमा नेटवर्कले काम गर्थेन । ‘मोबाइल चोरी होला भनेर जोगाएर हिँड्नुपर्थ्यो,’ उनले थपे, ‘क्याम्पहरूमा भने निश्चित डलर तिरेर कुरा गर्न मिल्थ्यो ।’

    सन्देशका अनुसार, त्यहाँ पनि ५ मिनेटभन्दा बढी बोल्ने स्थिति हुन्थेन । घरदेखि एजेन्टसम्मलाई त्यही बेला फोन गर्नुपर्थ्यो । जसोतसो पनामाको जंगल कटेपछि उनी इक्वेडर पुगे । त्यहाँको सेनालाई नै ७० अमेरिकी डलर बुझाएर बसमा अघि बढेको उनी बताउँछन् ।

    ‘त्यहाँबाट पैसा तिर्दै पेरुसम्म पुगियो,’ उनले सुनाए, ‘तर प्रत्येक देशमा एजेन्टका बेग्लाबेग्लै मान्छे हुन्थे, जसले हामीलाई सहयोग गरिरहेका थिए ।’

    करिब डेढ महिनाको यात्रापछि सन्देश मेक्सिकोसम्म पुगेका थिए । ‘हाम्रो टोलीले हिँड्नु परेको मुख्यगरी पानामाको जंगलमा मात्र हो, त्यसबाहेक अधिकांश बसमा हिँड्यौं,’ उनी सम्झन्छन् ।

    तर, उनको प्रत्येक यात्रा अन्योलग्रस्त हुन्थ्यो । कहिले बसको सिटमै टुक्रुक्क बसिदिन्थे । अनेक सोच्दै समय बिताइदिन्थे ।

    ट्रम्पको नीतिले पाएनन् मुद्दा लड्न

    मेक्सिको सीमा नाघेर पक्राउ परिसक्दा पनि उनी त्यति चिन्तित थिएनन् । किनकि, एजेन्टले भनेको थियो, पक्राउ परेको अवस्थामा अध्यागमन अदालतमा मुद्दा हाल्ने हो, त्यसपछि असाइलम (शरण) लिने प्रक्रिया सुरु हुन्छ ।

    आफ्नो देशमा युद्ध, राजनीतिक दमन वा अन्य जोखिम भएर सुरक्षा खोज्दै आएको स्थापित गर्न सक्दा उनी वैध रूपमा अमेरिका बस्न सक्थे । ‘अमेरिका जाने धेरैजसो त्यसैगरी बस्ने हुन्, तर मलाई चाहिँ डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुले अफ्ठ्यारो पार्‍यो,’ सन्देश भन्छन्, ‘२० जनवरी (जतिबेला ट्रम्प निर्वाचित भएका थिए) भन्दा अगाडि आएका सबैको असाइलमका लागि अन्तर्वार्ता भएको रहेछ । तर म पछाडि पुगेकाले त्यो प्रक्रिया नै भएन ।’

    राष्ट्रपति ट्रम्पले अघिल्लो कार्यकालमा पनि अवैध आप्रवासनविरुद्ध कडा नीति अख्तियार गरेका थिए । यसपटक पनि चुनावी अभियानमै उनले अध्यागमनमा कडाइ गर्ने घोषणा गरेका थिए । ‘हामीले अपिल गर्ने मौका समेत पाएनौं, एजेन्टले केही भनेनन्,’ उनी भन्छन् । बरु मेक्सिकोमा धेरै दिन नराखी सीमा कटाइदिएको भए यतिबेला अमेरिकामै हुन्थें कि भन्ने उनलाई लाग्छ ।

    सन्देशलाई पहिले मेक्सिको बोर्डर नाघेर प्रवेश गरेको जस्तै अग्लो पर्खालभित्र थुनामा राखियो । अमेरिकी अध्यागमन अधिकारीहरूले उनीहरूलाई निष्कासन गर्ने आदेश सुनाए । ‘तर फर्किएर जान पनि हामीले नै एसेप्ट गर्नुपर्ने रहेछ, त्यसपछि प्रक्रिया अघि बढ्ने रहेछ,’ उनी भन्छन्, ‘जान्न भन्न त पाइने रहेछ, तर सधैँभरि थुनामै बस्नुपर्ने ।’

    घामसमेत देख्न नपाइने ठाउँ थियो, चिसो उत्तिकै । सन्देशलाई लाग्यो, त्यहाँ कति दिन बस्न सकिएला ? कतिपय भन्थे, ‘ट्रम्पको कार्यकाल सकिएपछि अपिल गर्न पाइएला नि !’ तर, त्यसपछि पनि निष्कासनकै आदेश कार्यान्वयन भए के गर्ने ? ‘बाहिर निस्किने कुनै बाटो छ जस्तै लागेन,’ उनी भन्छन्, ‘अझ तीन/चार वर्षपछि त मानिस मेन्टल्ली नै जान्छ ।’

    उनको मनमा एकपटक यो प्रश्न आएको थियो । तर थुनामा रहेको स्थानको वातावरण हेर्दा उनलाई चार वर्ष त के, एक महिना कटाउन पनि गाह्रो हुन्छ भन्ने लाग्यो । ‘त्यहाँ पाइने सबैभन्दा राम्रो खानेकुरा भनेकै चाउचाउ थियो,’ उनले सुनाए, ‘अझ त्यहाँ रुकुमतिरका भाइहरूलाई देखेँ, जसले ५/६ महिनादेखि घाम पनि देखेका थिएनन्, उनीहरूलाई देख्दा फर्किनुमै कल्याण होला भन्ने लाग्यो ।’

    जब उनले फर्किने निधो गरे, अमेरिकी अधिकारीहरूले नै नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाउन सहयोग गरिदिए । कागजात तयार भएकामध्ये ३७ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमा चढायो ।

    ‘७० लाख गयो, ऋणको तारन्तर फोन आइरहन्छ, कसरी तिर्ने ?,’ उनी भन्छन्, ‘त्यही चिन्ताले अहिलेसम्म घर गएको छैन ।’

    ‘प्लेन चढ्दा हत्कडी र खुट्टामा फलामको जञ्जिरले बाँधिएको थियो,’ उनी त्यो क्षण सम्झन्छन्, ‘हामी चढेको विमान ढाका हुँदै काठमाडौं आउँदै थियो, त्यहाँ भने खुट्टाको खोलिदिएको थियो ।’

    त्यसअघि शौचालय जाँदा एउटा हत्कडी खोलिदिन्थ्यो, केही खान समेत असाध्यै कष्ट गर्नुपर्थ्यो । उनीहरू २६ जेठ राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

    काठमाडौंमा अध्यागमन जाँचपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मध्यराति नै सबैसँग सोधपुछ गरे । ‘तर त्यो दिन कसैले केही बताएनौं, बोल्न सक्ने अवस्था पनि थिएन,’ उनले सुनाए, ‘सोधेर अलिअलि दुःख दियो, केही समयपछि फर्कियौं ।’

    अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : अनलाइनखबर

    गएका छैनन् घर

    चार्टर्ड विमानमा फर्किँदा उनीसहितका साथीहरू साथमा एउटा बोरा बोकेर फर्किएका थिए ।

    ‘त्यहाँ केही कपडा थिए, त्यही पनि एउटा साथीको त हराएछ,’ उनले सुनाए, ‘निस्किँदा पत्रकारहरूले घेरेका थिए, पुलिसले बोल्न मन भए केही भन्दा हुन्छ भनेका थिए । त्यो अवस्थामा के बोल्ने ?’

    काठमाडौंमा एक साताअघि भेटिँदा सन्देश चिन्तित देखिन्थे । ‘७० लाख गयो, ऋणको तारन्तर फोन आइरहन्छ, कसरी तिर्ने ?,’ उनी भन्छन्, ‘त्यही चिन्ताले अहिलेसम्म घर गएको छैन ।’

    काठमाडौं बसेका उनका भाइ ‘प्लस टु’ पढिरहेका छन् । सन्देश भाइसँगै बसेका छन् । बुबाआमाले घरबाट फोन गरिरहन्छन् । तर उनी नाजवाफ हुन्छन् ।

    ‘सबै एजेन्टको फोन अफ छ । एउटासँग कुरा हुन्थ्यो, उसले पनि अरू अफ गरेर बसेका छन्, धन्न मैले त उठाएको छु भन्दै गाली गर्छ,’ उनले दुःख सुनाए, ‘हुन पनि उनीहरूले अमेरिकासम्म छिराएकै हुन्, त्यहाँबाट अगाडि त हाम्रै भाग्यको खेल थियो होला ।’

    (अनलाइनखबर डटकममा १० भदौ २०८२ मा प्रकाशित सामग्री)

    जस्ट इन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    गणतन्त्रका युवराजहरू

    April 25, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202229 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202426 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202425 Views

    Type above and press Enter to search. Press Esc to cancel.