• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»केशव स्थापितको अभिव्यक्ति : सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा
    Politics

    केशव स्थापितको अभिव्यक्ति : सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा

    गौरव पोखरेलBy गौरव पोखरेलApril 29, 2022Updated:April 29, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् ।

    प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’

    यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइएका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’

    तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।

    उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

    स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

    ‘सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर पछि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

    स्थापितलाई बिझाएको प्रश्न

    कार्यक्रममा सहभागी विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका अनुसार छलफलमा सुरुमा एकै प्रश्न सबै उम्मेवारलाई सोधिएको थियो । कार्यक्रमको अन्त्यतिर सहभागीहरुलाई प्रश्नोत्तरका लागि समय छुट्याइएको थियो, त्यतिबेला सोधिएको एउटा प्रश्नमा स्थापित उत्तेजित भएका हुन् ।

    कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई सोधेकी थिइन्ः

    मेरो प्रश्न केशव स्थापित सरलाई, विगतमा महागनर यस्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्टको दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो । मलाई सबैभन्दा खड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, अथवा तपाईंकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको एक्सपेलेसन (स्पष्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो । गल्ती भएको हो भने त्यो अपराध हो । अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन ।

    राउतले यी विषयलाई सम्बोधन गर्न नसक्ने हो भने स्थापितलाई कुर्सीमा बसिराख्ने नैतिकता नभएको पनि बताइन् । उनले भनिन्, ‘तपाईंले अपराध गरेको हो कि होइन, होइन भने प्रमाणसहित आउनुस्, नत्र कुर्सी छाडेर जानुस् ।’

    राउतले स्थापितलाई मात्र महिला हिंसाबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पुराना र्‍याप गीत महिलाप्रति असंवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले माफी माग्न पनि भनेकी थिइन् ।

    उनले बालेनलाई भनेकी थिइन्, ‘विगतमा मैले तपाईंका गीत सुनेको छु, र्‍यापहरु हेरेको छु, त्यसमा महिलालाई कुन चाहिँ दर्जामा राख्नु भएको छ भनेर पनि देखेको छु । आज तपाईंले पब्लिक स्पेसमा आएर बाल्दै गर्दा यी सबै महिला भोटरहरुसँग माफी माग्ने कि नमाग्ने ? उनीहरुलाई फेरि म यस्तो गर्दिनँ भनेर भन्ने कि नभन्ने ।’

    राउतले सोधेको प्रश्नमा बालेनले स्पष्टीकरण त दिए तर माफी चाँहि मागेनन् । अन्यत्र पनि त्यसरी र्‍याप गाउने चलन रहेको भन्दै बचाउ गरे । ‘स्थापितले पनि सामान्यरुपमा लिएर स्पष्टीकरण दिनु भएको भए, यति धेरै हुने थिएन’ प्रश्नकर्ता राउतले अनलाइनखबरसँग भनिन्, ‘मैले उत्तर मात्र खोजेकी थिएँ, उहाँलाई पनि स्पष्टीकरण दिने मौका थियो, तर उहाँले नै महौल विगार्नुभयो ।’

    केशव स्थापित र बालेन्द्र शाह ।

    उनले स्थापितप्रति आफ्नो कुनै नियत नभएको र सार्वजनिक सरोकारको प्रश्न मात्र राखेको बताइन् । ‘मैले आरोप लगाएको होइन, प्रश्न सोधेको हो । प्रश्न सोध्ने हक सबैको हुन्छ’ राउत भन्छिन्, ‘मैले प्रश्न सोध्दा यत्रो हंगामा होला भन्ने सोचेकै थिइनँ, भोलिका दिनमा उहाँमाथि फेरि यो प्रश्न नफर्कियोस् भनेरै मैले सोधेकी थिएँ ।’ तर मेयरको उम्मेदवार जस्तो व्यक्तिले दिएको अभिव्यक्तिले आफ्नो चित्त दुखेको उनले बताइन् ।

    लेखक रिता साह स्थापितले कार्यक्रममा दिएको अभिव्यक्तिले उनी महिलाप्रति कति असंवेदनशील छन् भन्ने देखाउने बताउँछिन् । ‘आज उहाँ जसरी प्रस्तुत हुनु भयो, त्यो एकदमै नराम्रो कुरा हो’ साहले भनिन्, ‘सार्वजनिक जीवनका व्यक्तिले आफूमाथि कुनै पनि प्रश्न उठ्दा संयम भएर जवाफ दिनुपर्ने हो, तर उहाँको बोलाई लैंगिकरुपमा संवेदनशील भएन ।’

    स्थापितले बोलेका शब्द सार्वजनिक पद धारण गरेको व्यक्तिलाई उच्चारण गर्न समेत नसुहाउने उनले बताइन् । ‘उहाँले कसरी बोल्नु भयो, यो महिलाहरुका लागि चुनौति हो भन्ने म मान्छु’ उनले भनिन्, ‘यो सबै पितृसत्तात्मक सोच र संरचनाको उपज हो ।’

    विगतमा मिटुको आरोप लाग्दा समाज र राज्यले दिनुपर्ने सजाय नदिँदा वा जिम्मेवारीको घेरामा नल्याउँदा अहिले स्थापित जस्ता व्यक्तिले सार्वजनिक पदमा दाबेदारी गरिरहेको शाहको बुझाइ छ ।

    केपी ओलीकै साथ

    आपत्तिजनक अभिव्यक्ति दिएका स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै स्थापितकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ स्पष्टै हुन्छ ।

    एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा उनले चुनावका बेला कुप्रचार गरेर स्थापितको चरित्र हत्या गर्न खोजिएको बताए ।

    ‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ?’ ओलीले भने, ‘हामी यस्ता कुराहरुमा होइन, महान उद्देश्यतर्फ अघि बढेका छौं ।’ ओलीको यो अभिव्यक्तिले सिंगो नेकपा एमाले पार्टीले नै महिलामाथि कस्तो दृष्टिकोण राख्छ भन्ने छर्लंग भएको विश्लेषक तिवारी बताउँछिन् ।

    ‘पहिलो कुरा हिजो उनलाई एमालेले नै मन्त्री पदबाट फिर्ता बोलाएको छ, आज उसैलाई उम्मेदवार बनाएर सार्वजनिक गर्नुले पनि एमालेको नियत छर्लंग हुन्छ’ तिवारीले भनिन्, ‘ओलीको अभिव्यक्तिले एमाले महिलालाई हिंसा हुँदा मुकदर्शक भएर बसिरहने पार्टी हो भन्ने सन्देश बाहिर जान्छ ।’

    यस्ता उम्मेदवार निर्वाचित भएर गए पनि भोलि महिला, बालबालिका तथा किशोरीसँग जोडिएका मुद्दामा कसरी काम गर्छन् भन्ने कुरामा पनि गम्भिर प्रश्न उठ्ने उनी बताउँछिन् । ‘यो विषयलाई निर्वाचन आयोगले पनि गम्भिरताका साथ उठाउनुपर्छ भन्ने मलाई लाग्छ’ उनी भन्छिन् ।

    विवकेशील साझा पार्टीकी उम्मेदवार छलफलमा सहभागी बाँस्कोटा पनि आफूले कार्यक्रममै पनि स्थापितको बोलीप्रति प्रतिक्रिया जनाएको बताउँछिन् । ‘उहाँले यस्तो बोल्ने हो भने म कार्यक्रममा बस्दिनँ भनेर त्यतिबेलै पनि भनेकी थिएँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘सार्वजनिक पदमा बस्नु भएको छ, तपाईं उम्मेवार हुनुहुन्छ भने विभिन्न प्रश्न उठ्न सक्छन्, आक्षेप लाग्न सक्छ । तर, हामी संयमित हुनुपर्छ ।’

    पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापा मगर चाहिँ आफूले स्थापितको अभिव्यक्ति नसुनेको बताउँछिन् । ‘कस्तो प्रश्न आयो, कसरी जवाफ दिनु भयो नसुनी केही भन्न सकिँदैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर जे भए पनि उम्मेवारले संयम भएर प्रस्तुति दिनुपर्छ ।’

    यो पनि पढ्नुहोस्

    केशव स्थापितलाई मेयरको टिकट : यौन हिंसामा एमाले असंवेदनशील

     २०७९ वैशाख १६ गते ९:१७ अनलाइनखबरमा प्रकाशित

    केशव स्थापित स्थानीय निर्वाचन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    Opinion | How Did the Ceremonial President Become a ‘Power Centre’ in Nepal?

    March 25, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.