• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»हुलाक, लागूऔषधको नयाँ ठेगाना
    Features

    हुलाक, लागूऔषधको नयाँ ठेगाना

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 9, 2022Updated:May 4, 2025No Comments8 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इन्टरनेट र इमेलका कारण हिजोआज आम नागरिकले हुलाक सेवा हम्मेसी प्रयोग गर्दैनन्, तर केही दुर्व्यसनी र तस्करहरूले चाहिं यसैलाई प्रयोग गरेर लागूऔषध ओसारिरहेका छन् । कसरी ?

    गौरव पोखरेल/प्रसुन संग्रौला

    डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा ८ फागुन २०७८ मा इंग्ल्याण्डबाट दुईवटा कार्टुनको प्याकेज आइपुग्यो । काठमाडौं हुँदै त्यसलाई पर्साका २२ वर्षीय राजशिखर गुप्ताको जिम्मा लगाउनुपर्ने थियो ।

    तर विदेशबाट आएका प्याकेजमा शंका लागे हुलाकका कर्मचारीलाई जाँच गर्ने अधिकार छ । त्यही अनुसार नियमित जाँच चलिरहेका बेला शंका लागेपछि हुलाकका एक कर्मचारीले त्यो प्याकेजलाई एकछेउबाट खोलेर हेर्न खोजे । लेबल नभएको अनौठो आकारका चकलेटको एउटा सानो प्याकेट फुत्त झर्‍यो ।

    हुलाकका एक कर्मचारीका अनुसार विदेशबाट आएको नयाँ खालको चकलेट देखेपछि कोठामा भएका तीन जना कर्मचारीले एक/एकवटा खाइहाले । केहीले छोराछोरीलाई लगिदिने भन्दै गोजीमा पनि हाले । त्यतिञ्जेल सबै ठिकठाक नै चलिरहेको थियो । तर अनौठो त लगभग पाँच मिनेटपछि भयो, जब चकलेट खाने तीनै जना कर्मचारीको गतिविधि अस्वाभाविक देखिन थाल्यो ।

    सुरुमा एकजना निद्रा लाग्यो भन्दै उठे, केहीबेरमा अर्का कर्मचारी पनि लट्ठिए । तेस्रो कर्मचारी पनि लर्बराउँदै अर्ध बेहोसी अवस्थामा त्यहीं सुत्न खोजेपछि कार्यालयमा हल्लीखल्ली मच्चियो । कर्मचारीहरू आत्तिए, तीनै जनालाई उपचारका लागि नजिकै रहेको अस्पताल नै भर्ना गरियो ।

    अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट थाहा भयो, उनीहरूले गाँजामा पाइने पदार्थ खाएका थिए । ‘खासमा चकलेट नै लागूऔषधबाट बनाइएको रहेछ’ डिल्लीबजार हुलाककी तत्कालीन प्रमुख कल्पना श्रेष्ठ भन्छिन्, ‘ड्रग्स हो भन्ने थाहा भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई खबर गरेका थियौं ।’

    एनसीबी काठमाडौंले थप अनुसन्धानका लागि कन्साइनमेन्टको ‘कन्ट्रोल डेलिभरी’ थाल्यो । हुलाक ऐन अनुसार यदि पार्सलमा अवैध वस्तु भएको थाहा भए उस्तै देखिने अर्को वस्तु राखेर वा सक्कल सामान नै नियन्त्रित तरिकाले पठाउन मिल्छ । त्यही अनुसार प्रहरी अपरेशन सुरु भएको थियो ।

    डिल्लीबजार हुलाक कार्यालयमा ८ फागुन २०७८ मा आइपुगेको पार्सलभित्र रहेको चकलेट । यसमा गाँजामा पाइने पदार्थ मिसाइएको भेटिएको छ । तस्वीरः अनलाइनखबर

    ‘काठमाडौंमा मुचुल्का गरेर नियन्त्रित तरिकाले हुलाकको च्यानलमार्फत सामान १५ दिनपछि जिल्ला हुलाक कार्यालय पर्सा पुग्यो’ एनसीबी काठमाडौंका एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर केही दिनसम्म पार्सल लिन कोही आएनन् ।’

    झण्डै एकसातापछि पाइन्ट र टिसर्ट लगाएका एकजना लिखुरे युवक जिल्ला हुलाक कार्यालय पर्सा पुगे । उनले आफ्नो नाममा विदेशबाट सामान आएको हुनुपर्ने भन्दै प्रश्न गरे । कर्मचारीले उनले भने अनुसारको विवरण खोजी गर्दा सामान उही नियन्त्रित डेलिभरीहुँदै गरेको दुई कार्टुन ‘चकलेट’ थियो ।

    हुलाकका कर्मचारीले तत्काल प्रहरीलाई जानकारी गराए, गाँजा मिसिएको ४.४१ किलो चकलेटसहित कार्यालय बाहिरबाट राजशिखर गुप्ता पक्राउ परे । त्यति नै बेला थाहा भयो, उनको नाममा आएको अर्को पार्सल पनि पर्सास्थित हुलाक कार्यालयमा अलपत्र थियो ।

    एनसीबी काठमाडौंको तथ्यांक अनुसार नेपालमा वार्षिक कम्तीमा ३ हजारको हाराहारीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता हुने गर्छन् । यस्ता घटनामा पक्राउ पर्ने विदेशी नागरिकको संख्या पनि उल्लेख्य हुन्छ ।

    एनसीबी काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार अलपत्र परेको पार्सलमा विश्वकै महँगो मध्येमा गनिने लागूऔषध एम्फेटामाइन (आइस ड्रग) १७० ग्राम थियो । प्रहरीका अनुसार जर्मनीबाट राजशिखरले मगाएको यो ‘आइसड्रग’ नेपालमा चलनचल्तीको मूल्य अनुसार कम्तीमा १७ लाख रुपैयाँ पर्छ ।

    पक्राउ परेपछि प्रहरीसँग दिएको बयानमा राजशिखरले ती लागूऔषध आफ्नो प्रयोगका लागि नल्याएको दाबी गरे । अनुसन्धान अधिकृतहरूका अनुसार सुरुमा त उनले चकलेट नै आफ्नो नभएको बताएका थिए । प्रहरीले उनको नाममा सामान आएको चिर्कटो देखाएपछि बल्ल उनको बोली बन्द भएको अधिकृतहरू बताउँछन् ।

    अनुसन्धान अधिकृतहरूको मनमा प्रश्नका चाङ थिए । उनले लागूऔषध कसरी मगाएका थिए ? ती सबै आफैं प्रयोग गर्थे ? कि उनी लागूऔषध बिक्री गर्ने डिलर नै थिए ? यसअघि पनि उनले यसैगरी लागूऔषध ल्याइसकेका थिए वा थिएनन् ?

    तर यस्ता कुनै प्रश्नको जवाफ अनुसन्धान अधिकृतहरूले गुप्ताबाट पाउन सकेनन् । अनुसन्धानलाई असहयोग गरेपछि प्रहरी अधिकृतहरूले उनको मोबाइल विश्लेषणबाट नयाँ कुरा प्राप्त हुने अपेक्षा गरेका थिए ।

    भारतीय सीम कार्ड प्रयोग गरेका गुप्ताको न सम्पर्क विवरण नै प्रहरीले पायो, न त उनको मोबाइलमा नै पहुँच पुर्‍याउन सक्यो । प्रहरीलाई दिएको बयान अनुसार उनी पढाइका सिलसिलामा भारतको नयाँदिल्लीमा रहेको मामाघरमा बस्ने गर्थे, त्यहींका एकजना साथीले सामान ल्याउन भनेको उनको दाबी छ ।

    दिल्लीमा बस्ने भएकाले नै उनको मोबाइलमा नेपाली सीम कार्ड थिएन, भारतीय सीमको विवरण प्रहरीले पाउन सकेन ।

    एनसीबी काठमाडौंका एक अधिकृतका अनुसार उनको मोबाइलमा लगाइएको ‘लक’ खोल्न खोज्दा गुप्ताले पासवर्ड भनेनन्, बरु तीनपटकसम्म गलत पासवर्ड हानिदिए । त्यसपछि उनको ‘आइफोन’मा आफैं लक लाग्यो, प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाए पनि ‘क्रयाक’ भएन ।

    गुप्ता अहिले जिल्ला कारागार पर्सामा पुर्पक्षका लागि थुनामा छन् ।

    ०००

    हुलाकबाट लागूऔषध आउन थालेको थाहा पाएपछि एनसीबी काठमाडौंले ‘केही प्रहरी’लाई डिल्लीबजारमा खटाउन थाल्यो ।

    नभन्दै निगरानी बढाइरहेका बेला गोश्वारा हुलाक कार्यालय डिल्लीबजारकै कर्मचारीलाई २ जेठ २०७९ मा आएको दुईवटा चिठी पनि शंकास्पद लाग्यो । क्यानडाबाट आएको चिठी छाम्दा अरू कागजजस्तो थिएन, मोटाइ र दुवै अन्यभन्दा बढी थियो । खोलेर हेर्न खोज्दा खामका पत्र नै तीन/चारवटा थिए ।

    भित्र हेर्दा गाँजा जस्तो देखिने वस्तु भेटियो । लगत्तै एनसीबी काठमाडौंका अधिकृतले जाँच सुरु गरे । त्यसक्रममा एउटा पत्रमा १४ ग्राम गाँजा र अर्कोमा ७.५ ग्राम गाँजा र १.५ ग्राम चरेस रहेको पुष्टि भयो । त्यसपछि ब्यूरोले विशेष अपरेशन सुरु गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईं बताउँछन् ।

    उनका अनुसार प्रहरी टोली क्यानडाबाट सामान मगाउने हिमाल योगीको पर्खाइमा बस्यो । दुई दिनपछि उनी चिठी लिन भन्दै हुलाक कार्यालय पुगे, कर्मचारीले प्रहरीलाई जानकारी गराए । योगी बाहिर निस्किने वित्तिकै पक्राउ परे ।

    पक्राउ परेपछि आफू सोह्रखुट्टेस्थित एक रेस्टुरेन्टमा काम गर्ने कर्मचारी भएको र खाममा के छ भन्ने थाहा नभएको बयान दिए । प्रहरीले उनको बयानमा विश्वास गर्ने केही आधार देख्यो, त्यहीपछि योगीलाई छाडिदिए झैं गरेर ‘कोभर्ट अपरेशन’ थाल्यो । त्यसपछि योगी अघिअघि प्रहरी टोली पछिपछि ।

    त्यसक्रममा रेस्टुरेन्टका मालिक ३७ वर्षीय निगेन्द्रकृष्ण मल्ल काठमाडौं–२६, गोल्कुपाखाबाट समातिए । प्रहरीले उनको डेरा कोठामा तत्कालै छापा मार्‍यो, थप चार ग्राम कोकिन, ५ ग्राम चरेस र २.५ ग्राम ‘म्याजिक मसरुम’ बरामद भयो ।

    पक्राउ परेपछि बयान दिने क्रममा मल्ल अध्ययनको सिलसिलामा चार वर्ष क्यानडा बसेर फर्किएको खुल्यो । ‘विदेशमा भएको बेला अनलाइनबाट मगाएर खाने गरेको थिएँ’ प्रहरीसँग उनले भनेका छन्, ‘नेपाल फर्किएपछि पनि तलतल लागिरहन्थ्यो, खोज्नलाई कहाँ जानु भनेर अनलाइनबाट मगाएको हुँ ।’

    उनले लागूऔषध मगाउन प्रयोग गरेको एक वेबसाइटको विवरण पनि प्रहरीलाई टिपाएका छन् । अनुसन्धान अधिकृतले भेरिफाइ गर्न त्यस वेबसाइटको जाँच गर्दा त्यहाँ अन्य अवैध सामान पनि बिक्रीका लागि राखिएको खुल्यो ।

    मल्लले प्रहरीसँग दिएको बयानमा कोठामा बरामद लागूऔषध चाहिं आफूले प्रयोग नगर्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘ती सामान यहाँ आउने साथीहरूको हो ।’

    ०००

    गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा १९ चैत २०७७ मा टोपबहादुर विष्टको नाममा आएको खाम पनि शंकास्पद लागेर खोल्दा लागूऔषध भेटियो । एनसीबी काठमाडौंको टोली विष्ट कहिले आउलान् र पक्राउ गरौं भनेर च्याखे थापेर बस्यो ।

    तर प्रहरी अपरेशन त्यतिबेला अलिकति चिप्लियो, जब हुलाकका कर्मचारीले विष्टलाई शंका लाग्ने गतिविधि गरिदिए । विष्टको नाममा आएको खाम टेबुलमा राखेर हेर्दै भित्र छिरेर फोन गर्न थालेको चाल पाएपछि उनी ‘हतारमा छु, पछि आउँछु’ भन्दै लुसुक्क हिंडे ।

    धन्न, उनको नागरिकताको प्रतिलिपि चाहिं हुलाकका कर्मचारीले लिन भ्याइसकेका थिए, नत्र उनलाई भेट्न अझ मुश्किल पथ्र्यो । नागरिकतामा भएको ठेगानाको आधारमा खोजतलास गर्दा २० चैतमा उनी सिनामंगलबाट समातिए, तर चिठी आफ्नो नभएको दाबी गरे ।

    एनसीबी काठमाडौंको टोली उनलाई चिठी थमाएर पछ्याउँदै दोधारा चाँदनी नगरपालिका–७, कञ्चनपुरसम्म पुग्यो । त्यहाँ उनले आफूलाई सामान लिन पठाउने डम्मरबहादुर गुरुङलाई देखाइदिए । गुरुङले पक्राउ परेपछि चिठी आफूले पाउनुपर्ने स्वीकारे पनि अर्कै व्यक्तिको सामान भएको बताए ।

    ‘भारतमा गएर रोजगारी गर्ने बेला चिनजान भएका एकजनाले उनलाई काठमाडौं हुलाकबाट सामान ल्याइदिए २० हजार रुपैयाँ दिने भनेका रहेछन्’ अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षक भन्छन्, ‘पक्राउ परेपछि उनले भारतीय नागरिकसँग ह्वाट्स एपमा भएको कुराकानी पनि देखाएका थिए ।’

    प्रहरीका अनुसार सामान्य आर्थिक अवस्था भएका उनले अतिरिक्त आम्दानी हुने लोभमा नेपालबाट चिठी लिएर दिल्लीसम्म जाने गरेका थिए । ‘यसअघि पनि एकपटक त्यसरी आफ्नै नाममा पार्सल ल्याएर उनले लगिसकेका रहेछन्’ ती अधिकृत भन्छन्, ‘दोस्रो चोटि पनि आफ्नै नाममा मगाउँदा शंका हुने भएकाले उनले अर्का व्यक्तिका नाममा चिठी मगाएका रहेछन् ।’

    प्रहरीका अनुसार यसमा अमेरिकाबाट सामान मगाउने काम ‘सोनु जैन’ नामक भारतीय नागरिकले नै गरेका थिए । उनको बयान अनुसार गुरुङलाई २०७७ को लकडाउनका बेला काम दिने भन्दै जैनले यो जिम्मेवारी सुम्पिएका थिए ।

    ०००

    नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंको कार्यालय । तस्वीरः अनलाइनखबर

    लागूऔषध विरुद्ध काम गर्ने संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को एक रिपोर्ट अनुसार कोभिड–१९ को महामारीपछि लागूऔषध तस्करहरू नयाँ रुट र शैलीको खोजीमा थिए । त्यहीक्रममा उनीहरूले डार्कनेट र हुलाकको माध्यमबाट ओसारपसार गर्ने जुक्ति निकालेको रिपोर्टमा भनिएको छ ।

    एनसीबी काठमाडौंका प्रमुख एसएसपी विकासराज खनालका अनुसार नेपालमा हुलाकबाट लागूऔषध ओसारिएका घटनाहरू हेर्दा कतिपयले बाहिरको लागूऔषध सामान्यभन्दा थप नशालु हुने भनेर प्रयोग गर्ने गरेका छन् ।

    ‘कतिलाई नेपालमा किन्नु भन्दा अनलाइनबाट मगाउन सहज लाग्दो रहेछ’ खनालले अनलाइनखबरसँग भने, ‘फेरि राम्रो पारिवारिक पृष्ठभूमिका प्रयोगकर्ताका लागि बाहिर गएर मगाउनुभन्दा अनलाइनबाट किन्नु त्यसै पनि सहज हुने भइहाल्यो ।’

    ब्यूरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार नेपालमा विशेषतः औषधिजन्य लागूऔषध, गाँजा, चरेस र अफिमबाट बनेका हेरोइनका प्रयोगकर्ताहरू बढी छन् । पछिल्लो समय हुलाकबाट लागूऔषध मगाउने क्रम छिटपुट भए पनि संख्या बढ्दो रहेको प्रसाईं बताउँछन् ।

    नेपाललाई रुट बनाएर हेरोइन, ब्राउन सुगर लगायत भारत, दुबई, कतार, मलेशिया, हङकङ, थाइल्याण्डसहित युरोपियन मुलुकतिर पठाउने गरेको पनि देखिने उनी बताउँछन् ।

    एनसीबी काठमाडौंको तथ्यांक अनुसार नेपालमा वार्षिक कम्तीमा ३ हजारको हाराहारीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता हुने गर्छन् । यस्ता घटनामा पक्राउ पर्ने विदेशी नागरिकको संख्या पनि उल्लेख्य हुन्छ । नेपालका कारागारमा रहेका कुल कैदी बन्दीमध्ये १८ प्रतिशत लागूऔषध सम्बन्धी कसूरका छन् ।

    २०७९ साउन १२ गते १९:३० मा अनलाइनखबर डटकममा प्रकाशित

    जस्ट इन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202261 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202560 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.