• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»OBITUARTY: लिजेण्ड प्रहरी प्रमुखको महाप्रस्थान
    Nepal Police

    OBITUARTY: लिजेण्ड प्रहरी प्रमुखको महाप्रस्थान

    गौरव पोखरेलBy गौरव पोखरेलMay 21, 2021Updated:June 8, 2021No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अहिलेको पुस्ताका धेरै प्रहरीलाई थाहा नहुन सक्छ, नेपाल प्रहरीको इतिहासमा खड्गजित बराल यस्ता व्यक्ति हुन्, जो १४ वर्ष सेवा अवधिमै फौजको सर्वोच्च पदमा पुगे । पेन्सनका लागि चाहिने २० वर्ष जागिर अवधि पुग्नु अगावै प्रहरी महानिरीक्षक (आईजीपी) को चार वर्षे कार्यकाल पनि पुरा गरे ।

    आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको कार्यकाल दुई वर्ष थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए । त्यसो त उनलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिष्पर्धाको पहिलो ब्याचबाट महानिरीक्षक बन्ने पहिलो अधिकृतका रुपमा पनि चिनिन्छ ।

    २००७ सालपछि एकतन्त्रीय राणा शासनविरुद्ध लडेका मुक्ति सेनाका सिपाहीमध्येबाट नेपाल प्रहरी बनाइएको थियो । त्यसैले त्यतिबेलाका प्रहरी प्रमुख मुक्ति सेनाबाट आउनेहरू नै हुन्थे । बराल वि.सं. २०१३ सालमा पहिलोपटक इन्स्पेक्टरका लागि भएको खुला प्रतिष्पर्धाबाट प्रहरी सेवामा नियुक्त भएका अधिकृत थिए ।

    जानकारहरूका अनुसार त्यतिवेला प्रहरी अधिकृतहरू खासै पढेका हुँदैनथे । बराल भने अपवाद थिए । प्रहरीमा स्नातकोत्तर उत्तीर्ण पहिलो महानिरीक्षकको रेकर्ड पनि उनैले बनाए ।

    प्रहरी पाटीपौवामा बस्ने गर्थें । छाना नभएका प्रहरीका लागि भौतिक संरचना बनाउने अभियानको सुरुवात बरालले नै गर्नुभएको हो

    मोतिलाल बोहोरा, पूर्वप्रहरी महानिरीक्षक

    भारतको गोरखपुरमा बसेर उनले एमए तहसम्म अध्ययन गरेका थिए । २००७ सालको क्रान्तिमा मुक्ति सेनाका रुपमा उनी केही समय होमिएका थिए ।

    तर मुक्ति सेनाको सिपाही बनेको छोटो समयमै नेपालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भयो । नेपाली कांग्रेस, राजा र राणाबीच प्रजातन्त्र स्थापनाको सहमति भयो । बराल चाहिँ सहमतिप्रति असन्तुष्ट पक्षसँग उभिए र विरोधी खेमामा लागे ।

    असन्तुष्ट पक्षले भैरहवामा आक्रमणको प्रयास गरे, बरालहरू समातिए । पछि हिंसात्मक गतिविधि नगर्ने सर्तमा छुटेपछि उनी प्रहरी बन्ने प्रतिष्पर्धामा होमिए ।

    प्रहरीमा आधुनिकीकरण गरेको श्रेय

    बराल आईजीपी हुँदाताका राजा वीरेन्द्रको निजी सुरक्षा अधिकृत (एडीसी) बसेका तत्कालीन इन्स्पेक्टर मोतिलाल बोहोराका अनुसार बराललाई आधुनिक प्रहरी निर्माणको श्रेय पनि दिने गरिन्छ । उनी आईजीपी हुनुअघिसम्म प्रहरी पाटीपौवामा बस्ने गर्थें ।

    ‘छाना नभएका प्रहरीका लागि भौतिक संरचना बनाउने अभियानको सुरुवात बरालले नै गर्नुभएको हो’, पूर्वप्रहरी महानिरीक्षक समेत रहेका बोहोरा सम्झन्छन्, ‘प्रहरीलाई घर बनाउन निश्चित बजेटको व्यवस्था गरेर स्थानीयसमेतको जनसहभागितामा उहाँले ब्यारेक र भवन बनाउने कार्यको सुरुवात गर्नुभएको थियो ।’

    पूर्वसचिव खेमराज नेपालको पुस्तक ‘समाज, संस्कार तथा शासन’मा पनि बरालले १९ हजार रुपैयाँ दिएर जिल्ला प्रहरी कार्यालय, संखुवासभाको भवन बनाउन अह्राएको उल्लेख छ ।

    तत्कालीन प्रमुख जिल्ला अधिकारी नेपालले पैसा नलिइ फर्किएपछि जिल्लाका इन्स्पेक्टरलाई त्यो रकम दिएर स्थानीय स्रोत र जनसहभागिता जुटाएर ९५ हजार रुपैयाँमा कार्यालय भवन बनाइएको नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

    पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका अनुसार बरालको पालासम्ममा प्रहरीलाई रासनको सुविधा थिएन । थोरै तलबबाट लत्ता, कपडा र खानेकुराको व्यवस्था गर्नुपथ्र्यो । ‘बराल सा’बले नै सरकारसँग पौठेजुहारी खेलेर रासन भत्ताको व्यवस्था मिलाउनु भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यतिवेला निकै जुनियर भए पनि उहाँका धेरै कुराहरू मेरा स्मरणमा ताजा छन् ।’

    तत्कालीन सरकारका एडीसी बोहोरा २०३०/०३१ सालतिर राजालाई बरालले लामो जाहेरी गरेर रासन भत्ता दिने विषयमा राजी गराएको मनमा अझै ताजै रहेको सुनाउँछन् ।

    ‘म बाहिर थिए, उहाँ निकैबेर भित्र बस्नुभयो,’ बोहोराले सुनाए, ‘राजाको कोठाबाट निस्किएपछि बुझिस् बोहोरा, हामीले रासन पनि पाउने भयौं भनेर सुनाउनु भएको थियो ।’

    राजासँग सहमति प्राप्त हुने वित्तिकै गृह मन्त्रालयसम्म रासनसम्बन्धी प्रस्ताव पुग्यो र सबै प्रहरीले रासन पाउन थाले । बोहोराका अनुसार बरालले भारतको माउन्ट आबु स्कुलबाट इण्डियन पुलिस सर्भिस (आईपीएस) को आधारभूत तालिम गरेका थिए । त्यसैले उनलाई भारतको प्रहरी सेवाबारे राम्रो जानकारी थियो ।

    आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको दुई वर्ष कार्यकाल थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए

    जापानको टोकियो इम्पिरियल पुलिस कलेज, बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र अमेरिकामा समेत फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) तालिम गरेका कारण विभिन्न मुलुकका प्रहरी कसरी चलेका छन् भन्नेबारे बराललाई राम्रो ज्ञान थियो । त्यसैले प्रहरीको आधुनिकीकरणमा उनको भूमिका उल्लेखनीय मानिन्छ ।

    ‘प्रहरीको ऐन, कानून निर्माण र परिवर्तन गर्ने विषयमा सरकारलाई महत्वपूर्ण सुझावहरू उहाँ दिनुहुन्थ्यो, खासमा प्रहरीलाई आधुनिक बनाउने विषयमा उहाँको ठूलो देन छ,’ बोहोरा सम्झन्छन् ।

    सीमा सुरक्षाको जग बसाउने श्रेय पनि बराललाई नै जाने प्रहरी अधिकृतहरू स्मरण गर्छन् । बराल प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा २०२५/२७ सालतिर पहिलो पटक सीमा सुरक्षा चौकीहरू स्थापना भएका थिए ।

    आईजीपी बनेपछि बरालले सीमा सुरक्षा चौकी स्थापना सम्बन्धी विस्तृत कार्ययोजना नै अघि सारे । त्यसअनुसार २०३५ सालसम्ममा ओलाङ्गचुङगोला, किमाथाङ्का, थ्याङ्गबोचे, छेकम्पाड, हुम्दे, लोमन्थाङ, मुचू, तिन्जे, मुगु, तिङकर र यारीमा चौकी स्थापना भयो । नेपाल–भारत सीमातिर दत्तु, साँगडी, कट्टी कटैया, संग्रामपुर, पशुपतिनगर, कृष्णनगर, मानेभञ्ज्याङ, बेलहिया, काँकडभिट्टासहित २० वटा सीमा प्रहरी चौकी स्थापना भए ।

    अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेपाल प्रहरीलाई सदस्यता दिलाउन पनि बरालको भूमिका महत्वपूर्ण छ । ‘त्यतिवेला उहाँ आईजीपी त हुनुहुन्न थियो तर उहाँको जुन अन्तर्राष्ट्रिय सम्बन्ध थियो, त्यसले नेपाल प्रहरीलाई इन्टरपोलको सदस्यता दिलाउन सहयोग गर्‍यो’ बोहोरा भन्छन् ।

    यो पनि पढ्नुहोस पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

    सफल कुटनीतिज्ञ

    उमेर छँदै महानिरीक्षकबाट अवकाश पाए पनि राजपरिवारको नजरमा परेका कारण उनले उर्जाशील समय खेर फाल्नुपरेन । तत्कालीन राजाले मन पराएका कारण बरालले म्यानमारका लागि नेपाली राजदूत बन्ने अवसर पाए ।

    बर्मामा उनले नेपाली भाषीका छोराछोरीका लागि शिक्षाको व्यवस्था गर्न महत्वपूर्ण योगदान गरे । त्यहाँ बस्ने भूतपूर्व नेपाली सैनिकका सन्तानका लागि उनले नेपाली भाषा अध्यापनका लागि शिक्षकको व्यवस्था गरिदिए । बर्मामा बसेका नेपाली नागरिकलाई त्यहाँको नेशनल रजिस्ट्रेसन सर्टिफिकेट (एनआरसी) नागरिकता दिलाउने विषयमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो ।

    पूर्वआईजीपी बोहोराको सम्झना अनुसार बर्माका नेपालीका लागि बरालले पशुपतिनाथको मन्दिरसमेत त्यहीँ बनाइदिएका थिए । बर्माको मेम्योमा २२ वैशाख २०४१ सालमा नेपालबाट मूर्ति लगेर मन्दिर स्थापना गरिएको उनी सम्झन्छन् ।

    सन् १९८० मा बर्मा (मयानमार) स्थित नेपाली दूतावासमा तत्कालीन राजदूत खड्गजीत बराल (बायाँ) स्वर्गीय राजा वीरेन्द्रका साथ ।

    तत्कालीन राजा वीरेन्द्र बर्मा भ्रमणमा गएका वेला बरालको काम देखेर खुशी भए । उनलाई पदवि दिए, बर्माबाट फर्किएपछि राष्ट्रिय पञ्चायतको सदस्यसमेत बनाए । ‘त्यसबेला राजासँग १० वटा जस्तो लाग्छ, मनोनित गर्न मिल्ने कोटा हुन्थ्यो,’ बोहोराले सुनाए, ‘त्यसबाट उहाँ सांसद पनि बन्नुभयो ।’

    सुरक्षा र कुटनीतिक क्षेत्रमा मात्र नभइ बराललाई खेलकुद क्षेत्रमा पनि स्मरण गर्ने गरिन्छ । जापानमा तालिमका लागि गएका वेला जुडो खेलेको देखेपछि उनले फर्किएर नेपालमा पनि त्यसलाई भित्र्याएको इतिहास छ । जापानबाट प्रशिक्षक ल्याएर उनले नेपालमा जुडो खेल्न सिकाएको जानकारहरू बताउँछन् । पाकिस्तानबाट प्रशिक्षक बोलाएर उनले हकीको तालिम पनि नेपालमा दिलाएका थिए ।

    प्रहरीको इतिहास

    इतिहास सम्झने पछिल्लो समयका प्रहरी अधिकृतहरू बराललाई ‘लिजेन्ड’ मान्छन् । अहिलेको पुस्ताका प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईं, प्रहरी निरीक्षक एजिला गिरीहरूका फेसबुक टाइमलाइनमा बराललाई भेटेर आर्शिवाद लिएको फोटो भेटिन्छन् ।

    नेपाल प्रहरीका २८ औं आईजीपी ठाकुर ज्ञवाली पनि प्रहरीको सर्वोच्च पदमा पुग्ने बित्तिकै बरालबाट आर्शिवाद लिन महाराजगञ्जस्थित उनको निवासमा पुगे ।

    ‘उहाँसँग प्रत्यक्ष संगत गरेर काम गर्न त पाइएन, तर उहाँको गर्विलो इतिहास पढेको र सुनेको हो,’ ज्ञवालीले अनलाइनखबरसँग सम्झिए, ‘प्रहरीमा आमूल सुधार र प्रहरीलाई प्रहरी जस्तो बनाउन उहाँले गर्नुभएको योगदानका कारण आईजीपी बन्ने वित्तिकै आर्शिवाद लिन गएको थिएँ ।’

    पूर्वआईजीपी ठाकुर ज्ञवाली खड्गजीत बरालसँग ।

    ज्ञवालीका अनुसार वृद्ध उमेरमा पनि प्रहरीप्रति बरालको अगाध श्रद्धा र माया थियो । ‘प्रहरीले अलिकति केही खराब गरेको देख्ने वित्तिकै उहाँले सिधै आईजीपीलाई फोन गरेर भनिहाल्नु हुन्थ्यो,’ ज्ञवालीले भने, ‘त्यसले प्रहरीलाई सुधार्न निकै सहयोग पुग्थ्यो ।’ प्रहरीले राम्रो गरेको देख्दा पनि बराल फोन गरेर मुक्तकण्ठले प्रशंसा गरिहाल्थे ।

    २०७२ सालमा भूकम्प गएका वेला ज्ञवाली महानिरीक्षकको सचिवालयमा थिए । ‘त्यतिवेला उहाँले फोन गरेर मौसम विभागसँग समन्वय गरिरहेका छौं/छैनौं भनेर सोध्नुहुन्थ्यो,’ उनले सम्झिए, ‘देशभरको अवस्थाबारे उहाँले जानकारी लिइरहनु हुन्थ्यो ।’

    उमेरले नौं दशक काटिसक्दा पनि उनी बहालवाला झैं सक्रिय र फूर्तिला रहेको ज्ञवालीको भनाइबाट बुझ्न सकिन्छ ।

    ‘संगठनलाई हाँक्ने क्षमता, नैतिकता र शाहस हाकिममा भएन भने फौजले राम्रो काम गर्न सक्दैन, उहाँमा कमाण्ड, परिचालन र अब्बल प्रहरी अधिकृतमा हुनुपर्ने सबै गुण थियो,’ पूर्वआईजीपी खरेल भन्छन्, ‘त्यसैले बराल हरेक प्रहरीको स्मरणमा सधैँ रही रहनुहुनेछ ।’

    २०७८ जेठ ५ गते २२:४३ मा प्रकाशित

    खड्गजित बराल नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.