• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»विशेष रिपोर्टः सामूहिक हत्या अनि आत्महत्या श्रृंखलाको रहस्य
    Nepal Police

    विशेष रिपोर्टः सामूहिक हत्या अनि आत्महत्या श्रृंखलाको रहस्य

    गौरव पोखरेलBy गौरव पोखरेलJanuary 27, 2021Updated:February 21, 2021No Comments9 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ललितपुरको लुभुमा डेरा गरी बस्ने सप्तरीका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला अघिल्लो साताको सोमबार मृत भेटिए । बन्द कोठाभित्र लडिरहेको शव नजिकै ‘सल्फस’ विषादीको बट्टा बरामद भयो । दुवैजनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    महानगरीय प्रहरी परिसर, ललितपुरले घटनामा सागर र निर्मलाको मृत्युबीच फरक परेको समयलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । पछिल्लो समय परिवारभित्रै देखिएको श्रृंखलाबद्ध हत्या र त्यसपछि आत्महत्याको श्रृंखलालाई ध्यानमा राखेर मृत्युको समयलाई महत्व दिइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

    यो घटना भएको ११ दिनअघि काठमाडौंको टोखामा सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आत्महत्या गरेकी थिइन् । त्यसैले लुभुको घटनामा पनि दुईमध्ये एकले विष खुवाएर आफूले पनि खाएको हो कि भन्ने आशंका अनुसन्धान अधिकृतहरुको थियो । तर, लगभग एकै समयमा दुई मृत्यु भएको खुलिसकेको छ । पोष्टमार्टमको लिखित रिपोर्ट भने तयार भइसकेको छैन ।

    टोखा घटनामा सुदिक्षाले सुतिरहेका उमेशको टाउकामा सिलौटाले प्रहार गरेर आफूले पनि आत्महत्या गरेको अनुसन्धान अधिकृतहरुको आशंका छ ।

    गत २६ भदौमा भक्तपुरमा यस्तै घटनामा तीन जनाको परिवारै सखाप भएको थियो । मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा सुशान्त (१५) को शव घरभित्रै भेटियो । भक्तपुर प्रहरी र अपराध महाशाखाको अनुसन्धानले छोरा र श्रीमतिको हत्यापछि सुदीपले आत्महत्या गरेको देखाएको थियो ।

    उता, पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गत जेठ ७ गते भएको सामूहिक हत्याकाण्डले देशलाई नै स्तब्ध पारेको थियो । खुकुरी प्रयोग गरी भएको सामूहिक हत्यामा दुई परिवारका ९ जनाले ज्यान गुमाए ।

    मृत्यु हुनेमा बमबहादुर फियाक (७४), उनकी श्रीमती पुर्सीमाया (७१), छोरी मनकुमारी (३१) र नातिनी श्रेया (१२) थिए । त्यस्तै, बमबहादुरका ज्वाइँ धनराज शेर्मा (४१), उनकी श्रीमती जस्मिता फियाक (३६), छोरी मनकुमारी फियाक (३१) सहित नातिनी योवना शेर्मा (१३) र मुना शेर्मा (८) थिए ।

    शेर्मा र फियाक परिवारको वंश नाश भएको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला २५ किलोमिटर पर रुखमा झुण्डिरहेको अवस्थामा मानबहादुर माखिमको शव भेटिएको थियो । उनी बमबहादुरका कान्छा ज्वाईं (मनकुमारीका श्रीमान्) हुन् ।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार श्रीमती मनकुमारी साढुभाई धनराजसँग लागेको शंकामा माखिमले पाँचथर हत्याकाण्ड मच्चाएका थिए

    कारण खोज्न प्रहरीलाई सकस

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवर हत्यापछि हुने आत्महत्यामा अपराधको दुवै पक्ष नरहने भएकाले अनुसन्धान प्रक्रिया जटिल हुने बताउँछन् । उनका अनुसार, आफन्तको बयान, घटनास्थलको वस्तुस्थिति, विरलै भेटिने सुसाइड नोट वा मोबाइल फोनको विश्लेषणबाट प्रहरीले हत्याको कारणबारे शंकासम्म गर्ने हो । कतिपय घटनामा त त्यस्तो कुनै संकेत नपाइने उनी बताउँछन् ।

    जस्तै, ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको पिर्का प्रहार गरेर २७ माघ २०७६ मा हत्या भयो । नजिकै कामदार २२ वर्षीय विजय चौधरी झुण्डिएको अवस्थामा भेटिए ।

    चौधरीले नै हत्या गरेको संकेत क्लोज सर्किट (सीसी) क्यामराले देखाएको तत्कालीन ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई बताउँछन् । हत्याको कारण भने खुल्न सकेन ।

    टोखा घटनाको कारण के हो ? उपत्यकाभित्र हुने जघन्य अपराध अनुसन्धान गर्ने विशिष्टकृत इकाइ अपराध महाशाखाका प्रमुख दिपक थापासँग यसको जवाफ छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि यो प्रकरणमा संलग्न दुवै पक्षको मृत्युसँगै कारण पनि रहस्यमै रहेको बताउँछन् ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा भइरहेको मोबाइल फोन परीक्षणले केही रहस्य खोल्न सक्ने प्रहरीको आशा छ । यद्यपि, हालसम्म मोबाइलको लकसमेत खुलेको छैन ।

    अनौपचारिक कुराकानीमा आउने अनुसन्धान अधिकृतहरु भने उमेश र सुदिक्षाबीच बच्चा नभएको विषयमा विवाद रहेकै कारण अपराध भएको अनुमान गर्छन् । ‘सुदिक्षाको पेटमा एक महिनाको बच्चा रहेको पोष्टमार्टमले देखाउँछ । उमेशले पनि बच्चा नभएको विषयमा जचाएको देखिन्छ’, ती अधिकृतले अनलाइनखबरसँग भने, ‘गर्भ रहेको थाहा पाएपछि विवाद भएको हुनसक्छ ।’

    समाजशास्त्रीहरुका अनुसार श्रीमान–श्रीमती जोडिएको सामूहिक हत्या र आत्महत्याको घटनामा मुख्यतः विवाहेत्तर सम्बन्ध, आर्थिक अभाव र अन्य पारिवारिक झगडा कारण हुने गरेका छन् ।

    पाँचथर प्रकरणमा पनि हत्या आरोपी माखिमको श्रीमती मनकुमारीसँग राम्रो सम्बन्ध नभएको खुलेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मनकुमारी पटकपटक माइतीमा आएर बसेको उनलाई मन परेका थिएन । सम्बन्ध बिच्छेद गर्ने कुरा चलिरहेका वेला मोखिमले श्रीमती साढुभाई धनराजसँग लागेको शंका गर्ने गरेको छिमेकीहरुले प्रहरीलाई दिएको बयानबाट खुलेको छ ।

    ‘श्रीमतीसँग सम्बन्ध विग्रिएपछि तनावमा रहेका उनले मानसिक समस्या सम्बन्धी औषधि समेत खाइरहेको खुलेको थियो’, त्यसवेला अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘घटनाको डेढ वर्ष पहिले श्रीमतीले उनीविरुद्ध चोरीको आरोप समेत लगाएको पाइएको थियो ।’

    भक्तपुरमा भएको अधिकारी परिवारको हत्यामा भने आर्थिक कारण जोडिएको प्रहरी बताउँछ । सुदीप अधिकारीले आर्थिक समस्याका कारण श्रीमती सम्झना र छोरा सुशान्तको हत्यापछि आत्महत्या गरेको पाइएको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

    ‘उहाँले आफन्त र बैंकबाट ऋण लिनु भएको रहेछ, तिर्न समस्या भइरहेको देखिएको थियो’, थापाले भनिन्, ‘फेरि जाँडरक्सी खाने र जुवातासको पनि लत लागेकाले सम्झना र सुशान्तसँग प्रायःजसो झगडा भइरहँदो रहेछ ।’

    प्रवक्ता कुँवरका अनुसार अभियुक्तले नै आत्महत्या गरिसकेको घटनामा प्रहरीले कानुनी प्रक्रिया भवितव्य कसूर अन्तरगत अघि बढाउने गरेको छ । ‘अपराधी नै मरेपछि भवितव्य ज्यान अन्तरगत मुद्दा चलाएर दुई वर्षपछि अदालतमा पठाउँछौं’, एसएसपी कुँवर भन्छन् ।

    सनककै भरमा हत्या

    कतिपय घटनामा सनककै भरमा सामूहिक हत्या भएको पनि देखिन्छ ।

    –रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकै गंगादेवी पशुफार्ममा ५ जना मारिए, २७ जेठमा ।

    फार्ममा कार्यरत ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीय जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करन चौधरी र १६ वर्षको आशिष चौधरी मृत अवस्थामा भेटिए । नजिकै रहेको भुसको गोदाममा लुकेको अवस्थामा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई स्थानीयवासीले घेरा हाले ।

    हतास मनस्थितिमा रहेका उनी स्थानीयले प्रहरीकहाँ बुझाएपछि बेहोस भए, अस्पतालै भर्ना गर्नुप¥यो । सोधपुछका क्रममा उनले आफ्नो चरित्र हत्या गर्ने र राम्रोसँग काम नगरेको बताउँदै गिज्याउने गरेकाले रिस फेर्न हत्या गरेको बयान दिएको तत्कालीन प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्रबहादुर धानुक बताउँछन् ।

    हेमकर हत्याकाण्डका दोषीलाई सार्वजनिक गर्दै प्रहरी ।

    –नेपालगञ्जमा २३ फागुन २०६२ मा भएको सुनचाँदी व्यवसायी दीपक हेमकरसहित उनका परिवारका ६ जनाको सामूहिक हत्या भएको प्रकरण पनि चर्चित घटना हो । एक दशकभन्दा लामो समयसम्म रहस्यमै रहेको यो घटनाको कारण दीपकको नाममा रहेको सम्पत्ति भएको हालै खुलेको छ । त्यसवेला घटनालगत्तै २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना पनि लुटिएको थियो ।

    –भोजपुरको अरुण गाउपालिका–१, प्याउलीमा २०७४ असारमा तीन जना बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव भेटिएको थियो । तर, हालसम्म न त हत्यामा संलग्न अभियुक्त समातिएका छन् न त घटनाको कारण नै पहिचान भएको छ ।

    –ललितपुरको लेलेमा २०६० सालमा दशैंको टीकाको दिनमा भएको बडिखेल हत्याकाण्ड पनि चर्चित छ । चाडपर्वको रमझममा मासुभात खाएर सुतेका भानु नगरकोटी, उनकी श्रीमती धनकुमारी, छोरा रविन्द्र, छोरी लुरी र भगवतीको घाँटी रेटेर हत्या भएको थियो ।

    घटनाको १२ वर्षपछि २ भदौ २०७२ मा अपराध महाशाखाले भानुका जेठान चन्द्रबहादुर पहारीलाई पक्राउ गरेर बडीखेल प्रकरणको पटाक्षेप गरेको थियो । घटनालगत्तै अनुसन्धानका लागि उनी पक्राउ परेपनि संलग्नता पुष्टि हुन नसकेपछि छुटेका थिए ।

    तर, दोस्रो पटक पक्राउ पर्दा उनले श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको शंका लागेर हत्या गरेको स्वीकार गरे ।

    अभियुक्तले आत्महत्या गर्नुको कारण

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार आवेशमा आएका वेला सामूहिक हत्या गरिसकेपछि हुने आत्महत्याको कारण तनाव, इज्जत र समाजको डर हो ।

    ‘परिवारका सदस्य एकअर्कामा निर्भर भएका वेला कसैको हत्या भइसकेपछि भविष्यको बाटो नदेख्दा पनि यस्ता खाले घटना हुन्छन्’, उनले भने ।

    यस किसिमको घटना आवेगप्रेरित हुने भएकाले अपराध गरिसकेपछि कुनै योजना नहुने हुँदा पछुताएर आत्महत्या गर्ने गरेको देखिन्छ

    गोपाल ढकाल, मनोविद्

    मनोविद् गोपाल ढकाल भने यस किसिमको घटना आवेगप्रेरित हुने भएकाले अपराध गरिसकेपछि कुनै योजना नहुने हुँदा पछुताएर आत्महत्या गर्ने गरेको देखिएको बताउँछन् । उनी भन्छन्, ‘हत्या गरिसकेपछि अभियुक्तले आफूलाई सन्तुलनमा राख्न सक्दैन र आत्महत्या गर्छ ।’

    अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापा पछिल्लो समय भएका सामूहिक हत्यामा पारिवारिक वैमनश्यता, व्यक्तिगत अहम्, सामाजिक सञ्जालप्रति बढ्दो आशक्ति जस्ता कारण देखिएको बताउँछन् ।

    ‘अहिले समाज यति अल्छी भइसकेको छ कि श्रीमान्–श्रीमतीबीच पनि फेसबुक र इन्स्टाग्राममा मात्रै कुरा हुन्छ, समस्याबारे छलफल हुन पाउँदैन’, एसएसपी थापा भन्छन्, ‘परिणामतः अहिले परिवारभित्रै हुने अपराध दिनप्रतिदिन बढिरहेको छ ।’

    पतिपत्नीबीच संवादहीनता रहेकै कारण एकअर्काको मोबाइलमा फोन गर्दा समेत शंका–उपशंका गर्ने र सामान्य झगडाले नै विकरालरुप लिने गरेको देखिएको थापा बताउँछन् । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य पनि एसएसपी थापाको भनाइसँग सहमत छिन् । भन्छिन्, ‘भर्चुअल डिपेन्डेन्सीले परिवारमा ल्याइरहेको विग्रहले अपराध बढाएको देखिन्छ ।’

    एसएसपी थापा खर्चिलो जीवनशैलीले पनि अप्रिय घटनालाई निम्तो दिइरहेको देख्छन् । ‘युवा पिँडीलाई महँगा मोबाइल नभइ हुँदैन, आज प्रेम गरेर विवाह गर्छन्, भोलिपल्टै समस्या देखिइहाल्छ’, थापा थप्छन्, ‘इगो बढ्दै जाँदा छेऊमा सिलौटा, लोहोरो, फलाम जे भेट्यो त्यसैले हान्ने गरेको पाइएको छ ।’

    समाजशास्त्री काशिनाथ प्याकुरेल पछिल्लो समय समाज उदण्ड बन्दै गएको देख्छन् । ‘जनसंख्या वृद्धि, आधुनिकीकरण र शहरीकरणसँगै मानिसले सामाजिक मूल्य–मान्यता भुल्दै गएको देखिन्छ’, उनी भन्छन्, ‘जीवनशैलीमा परिवर्तन आएको छ, लाज र डर हराउँदै गएको छ । फलतः समाजमा अनुशासनहीनता र अपराध बढिरहेको छ ।’

    ‘अपराधपछि पछुताउँछन्, सन्तुलित बन्न नसक्दा आत्महत्या गर्छन्’

    गोपाल ढकाल, मनोविद्

    पछिल्लो समय पारिवारिक अपराधका घटना बढेर गएका छन् । प्रहरीको तथ्यांक र अनुसन्धानले त्यही भनिरहेको छ । अपराधका प्रकृति पनि फरक भएका छन् । पहिले टाढाका मान्छे अपराधमा संलग्न हुन्थे, अहिले घरपरिवारभित्रकै व्यक्तिबाट अपराध भइरहेको छ ।

    धेरै जस्तो घटना आवेशजन्य छन् । त्यसमा मनसाय हुँदैन । मतलब, उसले मार्छु, यसो गर्छु भन्ने सोचेर अपराध गरेको हुँदैन । जे गरेको हुन्छ, आवेशमै अपराध गरेको हुन्छ । आवेशमै कसैको हत्या गरिसकेपछि आफू पनि आवेशमै आत्महत्या गर्छ ।

    यस्ता घटना मानिसक स्वास्थ्यसँग पनि जोडिएका छन् । कतिपय अवस्थामा मानसिक समस्या भइसकेपछि मानिसले आफ्नो आवेगलाई सन्तुलनमा राख्न सक्दैन । मानिसक समस्यामा परेका व्यक्तिको एउटा लक्षण अथवा कमजोर भनेको त्यो पनि हो ।

    मनलाई नियन्त्रणमा राख्न नसक्नुका धेरै कारण हुन्छन् । एउटा व्यक्तिगत कमिकमजोरी भयो, जसलाई हामी ‘पर्सनालिटी डिसअर्डर’ भन्छौं । यो समस्या भएको व्यक्ति चाँडै उत्तेजनामा आउँछ ।

    अर्को जाँच, रक्सी र लागूपदार्थ खाएका वेला पनि मान्छेले आफ्नो आवेगलाई सन्तुलित राख्न सक्दैन । अर्को ‘साइकोप्याथ’ भएका व्यक्तिले घरपरिवार, माया, प्रेम, सम्मान केही पनि बुझ्दैन ।

    अर्को ‘मुड (आवेग) डिसअर्डर’ भन्ने हुन्छ । यो चाहिँ चाडो रिसाउँने, उत्तेजनामा आउँने हो । अर्को विभिन्न रोग पनि हुन्छ, एकदमै रिसाहा हुने । यस्ता रोग लागेको मान्छे दशौं गुणा बढी रिसाउने, रिसको आवेगमा सुद्विवुद्वि हराउने हुन्छ ।

    पछिल्लो समय विभिन्न कारणले गर्दा विश्वभरमै चाँडो आवेगमा आउने, उत्तेजित हुने स्वभाव बढेर गएको छ । त्यो हुनुका पछाडि तनाव, इन्जाइटी, डिप्रेसन लगायत कारण छन् । अहिले सामाजिक सञ्जाल छ, अस्वस्थ प्रतिष्पर्धा छ, निराशा छ । खानपानलगायतका कुराले पनि मान्छेलाई पहिलेभन्दा आक्रामक बनाएको छ ।

    जीवनशैली, महत्वाकांक्षा, प्रतिस्पर्धा, असफलता, कुण्ठा लगायत कारणले पारेको मानिसक असर अनियन्त्रित भएर एकैपटक बाहिर निस्किँदा जघन्य अपराध भइरहेका छन् ।

    घटनाको प्रकृति हेरेर कुन मनसाय राखेर वा बेहोसीमा गरेको भन्ने थाहा पाईन्छ । पछिल्लो समय देखिएका घटनाहरुमा योजना देखिन्न । अपराध गरिसकेपछि क्षणमै पछुताएर आफूलाई सन्तुलनमा राख्न नसकेर आत्महत्या गरेको देखिन्छ ।

    २०७७ माघ १३ गते २१:१० मा प्रकाशित

    अपराध नेपाल प्रहरी सामूहिक हत्याकाण्ड
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.