• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»सावधान ! दसैंमा घर जाँदै हुनुहुन्छ ?
    Features

    सावधान ! दसैंमा घर जाँदै हुनुहुन्छ ?

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 14, 2020Updated:November 10, 2020No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    महामारी नियन्त्रणका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परे । लुकिछिपी अधिकांश नागरिक स्वदेश भित्रिएपछि कोरोना गाउँ–गाउँसम्म पुग्यो ।

    गाउँमा संक्रमण देखिन थालेपछि बल्ल सरकारले १२ जेठमा २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय गर्‍यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित भइसकेका थिए, घर फर्किएपछि क्वारेन्टिनको समेत राम्रो व्यवस्थापन नहुँदा संक्रमणले थप फैलिने मौका पायो ।

    त्यतिञ्जेल काठमाडौं उपत्यकामा संक्रमितको संख्या नगन्य थियो । तर, जब ६ साउनमा सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्‍यो, त्यसयता काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

    शुक्रबार उपत्यकामा मात्रै एक हजार ६३८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक हजार २८० जना काठमाडौं, एक सय ९६ जना भक्तपुर र एक सय ६३ जना ललितपुरका छन् ।

    यही अवस्थाका बीच नेपालीको महान् चाड दसैं नजिकिँदै गर्दा उपत्यका छाडेर गाउँ जानेको संख्या पनि बढ्न थालेको छ । यसरी उपत्यकाका छाड्ने अधिकांश व्यक्तिको पीसीआर परीक्षण भएको छैन । सरकारले आधा संख्यामा मात्र यात्रु बोक्नु भए पनि पूर्णरुपमा कार्यान्वय भएको छैन ।

    यसले पहिलो चरणमा भारतबाट सीमावर्ती जिल्ला, दोस्रो चरणमा जिल्लाबाट उपत्यकामा फैलिएको संक्रमण तेस्रो चरणमा पुनः राजधानीबाट गाउँतिर फैलिन सक्ने देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनि दसैंमा गाउँमा संक्रमण फैलिने जोखिम रहेको बताउँछन् ।

    अहिले सरकारले लक्षण नदेखिएका व्यक्तिको पिसीआर परीक्षण समेत नगर्ने नीति लिएको छ ।

    ‘हाल उपत्यकाका संक्रमितमध्ये ५० प्रतिशत लक्षणविहीन छन्, त्यसैले उनीहरु अब गाउँगाउँ पुगेर संक्रमण फैलिने जोखिमलाई नकार्न सकिन्न’, संक्रामक रोग विशेषज्ञ पुनले अनलाइनखबरसँग भने, ‘एक किसिमले हामीले अहिले संकटलाई निम्तो दिइरहेका छौं भन्ने बुझ्दा हुन्छ ।’

    क्वारेन्टिनमा राख्ने व्यवस्था छैन

    गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा जिल्ला जाने व्यक्तिको हकमा पिसीआर जाँच वा क्वारेन्टिनमा राख्ने कुरालाई अनिवार्य नगरिएको बताउँछन् ।

    ‘अहिले लक्षण नभएकालाई जाँच नगर्ने भन्ने निर्णय छ, इच्छा लागेको व्यक्तिले आफैं पनि जाँच्न सक्छन्’, सह–सचिव समेत रहेका बुढाले अनलाइनखबरसँग भने, ‘मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयलाई बाहिरबाट आउनेलाई धेरै ओहरदोहर गर्न नदिन, गाउँमा भेटघाट र भिडभाड नगर्न सचेत गराउन भन्दै पत्राचार गरिसकेको छ ।’

    उनका अनुसार बाहिरबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न आग्रह गर्न पनि परिपत्र गरिएको छ । तर, झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी भने मुलुकभित्रबाट आउने व्यक्तिको हकमा पीसीआर जाँच वा क्वारेन्टिनमा राख्न साध्ये नै नहुने बताउँछन् ।

    ‘बिर्तामोडमा पूर्वी पहाड, भारतको सिक्किम, दार्जिलिङ र उपत्यकासहित देशका विभिन्न भागबाट दसैं मनाउनलाई नागरिकहरु आउनु हुन्छ’, सिवाकोटीले अनलाइनखबरसँग भने, ‘जिल्लामा आउने व्यक्ति धेरै हुनुहुने हुँदा क्वारेन्टिनमा राखेर साध्ये हुँदैन, टुलुटुलु हेरेर बस्नुको विकल्प छैन ।’

    दसैंमा सम्हाल्न सक्ने स्थिति नरहेको बताउँदै उनले भने, ‘भारत वा अन्य तेस्रो मुलकबाट आएकाको हकमा भने रोकेर क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका छौं ।’

    जिल्ला प्रशासन कार्यालय, सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुर पनि दसैंका बेला ठूलो संख्यामा नागरिक घर फर्किने हुँदा क्वारेन्टिनमा राख्नु चुनौतिपूर्ण हुने बताउँछन् । ‘लकडाउनको बेला पनि व्यवस्थापन गरिएको हो, भारतबाट धेरै मानिस आएका थिए’, ठाकुर भन्छन्, ‘अहिलेचाहिँ मुलुकभित्रैबाट आउने व्यक्ति छोटो विदा लिएर आएका हुन्छन्, त्यसैले पनि समस्या छ ।’डा. शेरबहादुर पुन भन्छन्- लामो समयमा आफन्तसँग भेट हुने हुँदा एकछिन भेला भएर के हुन्छ भन्ने सोचाइ पनि राखिन्छ तर त्यो एकछिनको बसाइ घातक नहोस् भन्नेतिर सचेत हुनुपर्छ

    क्वारेन्टिनमा राख्दा पनि निगरानी गर्न समस्या हुने र समाजमा घुलमिल हुने डर रहने बताउँदै उनी भन्छन्, ‘सरकारको पनि होम क्वारेन्टिनलाई प्राथमिकता दिने नीति छ । त्यसैले अब के गर्ने भन्ने विषयमा पालिकाहरुसँग छलफल गर्छौं ।’

    कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद नगरपालिकामा अझै पनि लुकिछिपी नागरिक आउने क्रम रहेको बताउँदै व्यवस्थापनमा कठिनाइ रहेको सुनाउँछन् । ‘सकभर नागरिक आफैं सचेत हुनुपर्ने हो, होम क्वारेन्टिनलाई जोड दिएको अवस्थामा उहाँहरु आफैं पनि १४ दिनसम्म घरमै बस्नुपर्छ’, साउनले अनलाइनखबरसँग भने ।

    तीन लाख मानिसले उपत्यका छाड्ने अनुमान

    गृह मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्षको दसैंमा ३० लाख एक हजार १५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १८ लाख ३५ हजार ५ सय ६ जना उपत्यका भित्रिएका थिए । यसरी हेर्दा दसैंको समयमा १२ लाख बढी मानिस उपत्यकाबाट बाहिरिएको देखिन्छ ।

    आर्थिक वर्ष ०७५/०७६ को दसैंमा २८ लाख ९१ हजार २ सय ४३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने २१ लाख ८३ हजार ८ सय ९ जना उपत्यका प्रवेश गरेका थिए । यस आधारमा यो वर्ष उपत्यकाबाट ७ लाख मानिस बाहिरिएको देखिन्छ ।

    गृह मन्त्रालयद्वारा उपलब्ध विगत ५ वर्षको तथ्यांक केलाउने हो भने दसैंमा उपत्यकाबाट सरदर ११ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको देखिन्छ । त्यसआधारमा गृहले गरेको विश्लेषण अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि, ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ ।

    लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै रहेको तथ्यांकले देखाउँछ । दसैं आउन तीन हप्ता बाँकी रहेका वेला उपत्यका छाड्ने क्रम भने सुरु भइसकेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको तथ्यांक अनुसार उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो क्रममा छ । अनलाइनखबरलाई प्राप्त सूची अनुसार बिहीबार २० हजार ४ सय ९७, बुधबार २० हजार ९ सय १४, मंगलबार १९ हजार ७ सय ४ र सोमबार १९ हजार ९९ जना उपत्यका छाडेका थिए ।

    महाशाखाका एसएसपी भीमप्रसाद ढकाल सामाजिक दूरी, स्वास्थ्य सावधानी र ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने विषय कार्यान्वयन भए, नभएको विषयमा जाँच गर्न ठाउँ-ठाउँमा चेकपोइन्ट राखिएको बताउँछन् ।

    विज्ञ भन्छन्– संकट गाउँ नजाओस् 

    वर्षमा एक पटक आउने चाड भएकाले दसैंमा घर जानै निषेध गर्न पनि नसकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । तर, आफैंले संकट आइलाग्न सक्ने अवस्थालाई बुझेर स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

    ‘मेरो कारण अरु संक्रमित नहुन् भन्ने कुरामा सचेत रहनुपर्छ, विशेष गरेर ज्येष्ठ नागरिक र जोखिमका समूहबाट टाढा रहन सर्वसाधारण आफैं सतर्क हुनुपर्छ’, दाहालले अनलाइनखबरसँग भने ।

    टेकु अस्पतालका डा. पुन गाउँघरमा पुजापाठ गर्दा सबै जना एकैठाउँ भेला हुने चलन रहेकाले त्यसले पनि जोखिम बढाउने बताउँछन् । ‘सोह्रश्राद पनि हामीले भर्चुअल रुपमा मनायौं, त्यसैले सकेसम्म सामाजिक दूरी कायम हुने तरिकाले चाडपर्व मनाउनुपर्छ’, पुनले अनलाइनखबरसँग भने, ‘लामो समयमा आफन्तसँग भेट हुने हुँदा एकछिन भेला भएर के हुन्छ भन्ने सोचाइ पनि राखिन्छ तर त्यो एकछिनको बसाइ घातक नहोस् भन्नेतिर सचेत हुनुपर्छ ।’

    दसैंमा तास, जुवा खेल्ने चलनलाई पनि फेर्नुपर्ने उनको सुझाव छ । ‘तास खेल्दा औंलामा थुक लगाएर बाँड्ने गरिन्छ, त्यसले थप जोखिम बढाउँछ’, पुनले भने, ‘खेल्दा हो–हल्ला गर्ने चलन पनि हुन्छ, त्यस्तो वेला थुकको छिटा फैलिन्छ र संक्रमण सर्न सक्छ ।’

    तासबाट कोरोना भाइरसको संक्रमण फैलिएको घटना समेत आफूले देखेको बताउँदै उनले भने, ‘यसले भित्रभित्रै महामारीलाई फैलाइरहेको हुनसक्छ ।’

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोभिड–१९ को संक्रमण हराइसकेको ठाउँमा पनि फाट्टफुट्ट संक्रमण देखिन थालेको सुनाउँछन् । ‘दसैंमा घर जाने कुरा एकदमै जोखिमपूर्ण कुरा छ भन्ने यसले देखाइसकेको छ, गाडीमा यात्रा गर्दा सध्ये मान्छेलाई पनि संक्रमण सर्न सक्छ’, उनले अनलाइनखबरसँग भने, ‘व्यक्तगत रुपमा चाडपर्वको वेला घर नजान भन्न पनि सकिन्न । तर, दसैंको वेला लाखौं मानिस घर जाने चलनलाई चाहिँ सकेसम्म आफैंले र सरकारले पनि निरुत्साहित गर्नुपर्छ ।’

    दसैंमा ज्येष्ठ नागरिकबाट टीका लगाएर आर्शिवाद लिने चलन छ । तर, यसपालि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हो भने टीका लगाउनै नजान सुवेदीको सुझाव छ ।

    ‘टीका लगाउने नै भए पनि दुवैजनाले मास्क लगाउने र केटाकेटीलाई धेरैजनाले एकैपटक लगाइदिने चलनलाई पनि रोक्नुपर्छ’, उनले थपे, ‘अनावश्यक रुपमा एकअर्काको छेऊमा जाने, नजिकमा बसेर खाना खाने कुरालाई पनि रोक्नुपर्छ ।’

    साथै, कोही दीर्घ रोगी भए उनीहरुको पनि छेउमै नपर्न सुवेदीको सुझाव छ । त्यसबाहेक सामान्य अवस्थामा पालना गर्दै आएको नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी लगायतका कुरालाई पनि ध्यानमा राख्न उनको आग्रह छ ।

    २०७७ असोज १८ गते २:३० मा प्रकाशित

    कोरोना भाइरस दसैं यात्रा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.