• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला
    Politics

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    गौरव पोखरेलBy गौरव पोखरेलNovember 25, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    संसदीय निर्वाचनमा लगातार दोस्रो पराजयसँगै सिटौलाको राजनीतिक भविष्य जोखिममा परेको छ । पार्टीमा नयाँ पुस्ताको हस्तक्षेप बढिरहेका बेला पाँच वर्षपछिको चुनाव उनका लागि उमेरका कारण पनि सहज देखिँदैन ।

    झापा ३ मा उम्मेदवार बन्दैगर्दा कांग्रेस नेता कृष्ण सिटौलाले भन्ने गरेका थिए, ‘यसपालि मतदाताले राजतन्त्रवादी होइन, गणतन्त्रवादी नै छान्छन् ।’

    गणतान्त्रिक संविधानको कार्यान्वयन गर्ने २०७४ सालको पहिलो चुनावमा तिनै सिटौलाले हार्नुपर्‍यो, राजतन्त्रवादी राजेन्द्र लिङ्देनसँग । उनलाई हराउन एमालेले लिङ्देनलाई साथ दिएको थियो । यसपालि पनि उही नियति दोहोरियो ।

    लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाए । बदलामा उनले झापा ५ मा ओलीलाई सघाए ।

    सिटौला चाहिँ सत्ता गठबन्धनका अरु दलहरुको पनि साथ रहेका बेला एमालेमा रहेको असन्तुष्टिका कारण आफ्नो जित सहज हुने विश्लेषणमा थिए ।

    झापा ३ मा एमालेको एउटा पंक्ति यसपालि पनि लिङ्देनलाई जिताए अर्को चुनावमा पनि सूर्यमा भोट हाल्न नपाउने भन्दै रुष्ट थियो ।

    अझ यही क्षेत्रमा एमालेबाट टिकट पाउने आकांक्षा राखेर तयारी गरिरहेका दुर्गा प्रसाईंले अन्तिम समयमा टिकट नपाउँदा पनि एमालेको केही भोट आफूहरुतिर आउने कांग्रेस नेताहरुको विश्लेषण थियो । चुनावअघि सिटौला र प्रसाईंको तस्वीर सार्वजनिक गरेर झापा कांग्रेसका नेताहरुले त्यो सन्देश दिने प्रयास पनि गरेका थिए ।

    तर, चुनावी परिणाम सिटौलाले सोचे अनुरुप भएन । पाँच वर्षको अवधिमा उनका प्रतिस्पर्धी लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बनिसकेका थिए । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिएका कारण जनतामाझ लोकप्रिय बनेका थिए । जसका कारण लिङ्देनले दोस्रो पटक पनि सिटौलालाई झापामा हराए ।

    बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार २७२ मत ल्याए ।

    जोखिममा राजनीतिक भविष्य

    संसदीय निर्वाचनमा लगातार दोस्रो पराजयसँगै सिटौलाको राजनीतिक भविष्य पनि जोखिममा परेको छ ।

    ‘पार्टीमा नयाँ पुस्ताको हस्तक्षेप बढिरहेका बेला पाँच वर्षपछिको चुनाव पनि उनका लागि अनुकुल हुँदैन’, कांग्रेस नेता लोकेश ढकाल भन्छन्, ‘उमेरका लागि कारण पनि उहाँको लागि अर्को चुनाव प्रतिकुल हुनसक्छ ।’

    त्यसो त पार्टी राजनीतिमा उनी १३ औं महाधिवेशनपछि नै पृष्ठभागतिर धकेलिन थालेका हुन् ।

    त्यसबेला सभापतिमा उम्मेदवारी दिँदा उनलाई कोइराला पक्षले संस्थापनलाई हराउन उठेको आरोप लगायो । सभापतिको निर्वाचनमा तेस्रो स्थानमा रहेपछि अन्तिममा उनले देउवालाई साथ दिए ।

    १४ औं महाधिवेशनमा सिटौलाले उम्मेदवारी नै दिएनन् । प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेर अरु केही पदहरुमा सम्झौता गरे । पछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे ।

    कांग्रेसमा हालका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित अधिकांश नेताहरु विद्यार्थी राजनीतिमा आएका हुन् । तर, सिटौला चाहिँ जिल्ला सभापति हुँदै सिधै केन्द्रीय राजनीतिमा आएका नेता हुन् ।

    ‘त्यसबेला गिरिजाप्रसाद कोइरालाले लिफ्ट दिएपछि अन्य थुप्रै सिनियर नेताहरुलाई पाखा लगाएर उहाँ अगाडि आउनु भएको हो’, कांग्रेस नेता ढकाल भन्छन् ।

    २०३३ सालदेखि नै झापाबाट कांग्रेस राजनीतिमा सक्रिय भएपनि सिटौलाले सुरुमा कानुन व्यवसायलाई पनि साथमै अघि बढाइराखे । राजनीति प्रतिस्पर्धामा दुई धारतिर भएपछि तिक्तता देखिएपनि उनले एकपटक राजेन्द्र लिङ्देनकै मुद्दा पनि लडेका थिए ।

    ०४८ सालको चुनावमा सिटौला झापा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । त्यस बेला उनी नेकपा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए ।

    कोइराला निकट भएर उदाएका नेता

    राजनीतिक यात्राको सुरुवातमा कृष्णप्रसाद भट्टराई निकट उनी दुई वर्षपछि सांसद आचार्यको निधन हुँदा भएको उपनिर्वाचनमा पनि उम्मेदवार बने । २०५० सालमा भएको मध्यावधि चुनावमा उनले नेकपा एमालेका उम्मेदवार वरिष्ठ अधिवक्ता लीला उदासी खनाललाई हराउँदै सांसद बने ।

    त्यतिञ्जेल कोइराला परिवारबाट टाढै रहेका सिटौला मध्यावधि निर्वाचनबाट सांसद् बनेपछि चाहिँ केशवप्रसाद कोइराला पत्नी नोना कोइरालामार्फत कोइराला परिवार नजिक पुगेका थिए । चुनावपछि कांग्रेस सांसदहरु विभाजित हुँदा उनी कोइराला पक्षको ७४ को समूहमा लागिका थिए ।

    माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा चाहिँ माओवादीबाटै पराजित भए । दोस्रोमा उनी चुनाव जितेर संसद आए

    २०५७ माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हेरफेर हुँदा उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री पनि बने । लगत्तै कांग्रेसमा विभाजन आयो, तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरे ।

    तत्कालीन सह–महामन्त्री गोविन्दराज जोशीविरुद्ध भ्रष्ट्राचारको मुद्दा लागेर उनी पार्टीमा कमजोर बन्दै जाँदा सिटौला कोइरालाको झन् नजिक पुगे । त्यहीबेला गिरिजाप्रसाद कोइरालाको विश्वास जित्न सक्नु नै उनका लागि राजनीतिमा फड्को मार्ने अवसर बन्यो ।

    २०६२/०६३ को आन्दोलनमा उनले माओवादीसँग वार्ताका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेपछि उनी राजनीतिको थप केन्द्रतिर आए । गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा उनले कांग्रेसको आधिकारिक प्रतिनिधि बनेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेले ।

    त्यसबेला भारतको मेघालय, सिलोङमा ससुराली हुनु उनका लागि फाइदाजनक बन्यो । उनका ससुरा ध्रुवनाथ जोही सिलोङबाट लामो समय कंग्रेस आई विधानसभा सदस्य थिए । मेघालयका श्रमराज्यमन्त्री पनि भएका ससुराका कारण उनीसँग भारतमा सम्बन्ध विस्तार गर्न सहज भयो ।

    त्यसक्रममा सिटौलाले माओवादी नेताहरु कृष्णबहादुर महरा, बामदेव क्षत्री हुँदै बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध स्थापित गराए । २०६३ को असारमा उनले नै प्रचण्ड र बाबुरामलाई काठमाडौं भित्र्याए । त्यतिबेलै गिरिजाप्रसाद कोइरालाले उनलाई गृहमन्त्री पनि बनाए ।

    गिरिजाको निधनपछि कांग्रेसभित्र सिटौलाको राजनीति सकिएको टिप्पणी हुन थालेको थियो । तर, १२ औं महाधिवेशनमा सुशील कोइरालालाई सभापति बनाउन उनले भूमिका खेले । बदलामा उनलाई कोइरालाले महामन्त्री मनोनित गरे ।

    संसदीय चुनावमा सिटौलाले ३ वटा चुनावमा मात्रै जित हात पारेका छन् । उनले २०४८, २०५६ र २०७० सालको चुनावमा जित हासिल गरेका छन् । २०५१ सालको मध्यावधि चुनावमा उनी एमालेका पुष्पराज पोखरेलसँग पराजित भए ।

    २०५६ मा एमालेकै नारायण राजवंशीले हराए । तर, यो चुनावमा एमालेकै झापा ४ का उम्मेदवार युक्त भेटवालले केपी ओली र सिटौलाले साँठगाँठ गरेर आफूलाई हराएको आरोप लगाए । झापा ५ मा भेटवाल चक्रप्रसाद बाँस्तोलासँग २६ भोटले हारेका थिए ।

    भेटवाल यसपालि पनि झापा ४ मा हाम्रो नेपाली पार्टीको लौरो चिह्न लिएर चुनाव लडेका थिए । तर, राम्रो मत ल्याएनन् ।

    माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा चाहिँ माओवादीबाटै पराजित भए । दोस्रोमा उनी चुनाव जितेर संसद आए । त्यसबेला उनी संविधान मस्यौदा समितिमा सभापति भएका थिए ।

     २०७९ मंसिर ८ गते २३:०३ बजे अनलाइनखबर डटकममा प्रकाशित

    जस्ट इन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    गणतन्त्रका युवराजहरू

    April 25, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.