• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष
    Don't miss it!

    ‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020Updated:June 4, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ४ माघ, काठमाडौं । जघन्य प्रकृतिका अपराध अनुसन्धानको सुरुवातमा ‘क्राइम सिन फोटोग्राफर’ खटिन्छन् । घटनास्थललाई टेपले घेरा हालेपछि उनीहरु अनेक कोणबाट तस्वीर/भिडियो खिचेर घटनास्थललाई वर्षौंसम्मका लागि सुरक्षित पार्छन् ।

    विश्वभरका देशका सुरक्षा अंगले अपराध भएको ठाउँको फोटो खिच्न अलग जनशक्ति तयार गरेका हुन्छन् । हाल नेपालमा सिन अफ क्राइम अफिसर (सोको) ले त्यस्तो तस्वीर खिच्ने गरेका छन् । नेपाल प्रहरीको इतिहासमा एक जना यस्ता अधिकृत पनि थिए, जसले जागिरे जीवनभर ‘क्राइम सिन फोटोग्राफी’ मात्रै गरे । उनी हुन्– पूर्वएसपी शेरबहादुर कार्की । उनलाई संगठनले क्राइम सिन फोटोग्राफरकै रुपमा प्रशिक्षित गराएको थियो ।

    २०३० सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका उनी तीन वर्षपछि प्राविधिक समूहतिर लागे । भारतको ‘नेश्नल इन्स्टिच्यूट अफ क्रिमिनलोजी एन्ड फरेन्सिक साइन्स’ मा तालिम लिने मौका पाएका उनले त्यसपछिको २९ वर्ष अपराधस्थलको फोटो खिचेरै बिताए । उनी ०५८ सालमा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको प्रमुख समेत बने ।

    जब आईजीपीसमक्ष नाम पुग्यो…

    बैतडी स्थायी घर भएका कार्की २१ वर्षको हुँदा प्रहरी सेवामा प्रवेश गरेका थिए । सुरुवाती तलब ११९ रुपैयाँ बुझेका उनले कुनै दिन ‘क्राइम सिन फोटोग्राफी’ मा लाग्छु भनेर सोचका थिएनन् । ‘लाइसेन्स शाखामा भएको पहिलो पोष्टिङमा देखाएको इमान्दारिता र लगनशीलताका कारण त्यो आकर्षक ‘गिफ्ट’ पाएँ’, उनी भन्छन् ।

    आफ्नो कामबाट खुशी भएका लाइसेन्स शाखाका हाकिम डीएसपी हानसिंह चेम्जोङले ‘क्राइम सिन फोटोग्राफी’ तालिमका लागि सिधै प्रहरी महानिरीक्षक खड्गजीत बरालसमक्ष सिफारिस गरिदिएको कार्की सम्झन्छन् । त्यही सिफारिस कार्कीको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

    सुरक्षा निकायमा ‘चलखेलमा सक्षम’ अधिकृतहरु तालिमलाई विदेश घुम्ने र पैसा कमाउने अवसरको रुपमा लिन्छन् । उनीहरु जुन तालिमका लागि विदेश जान्छन्, फर्केर आएपछि त्यो सिप प्रयोग गर्दैनन् । मालदार विभागहरुमा सरुवा मिलाउँदा मिलाउँदै उनीहरुको सेवा अवधि सकिन्छ । कार्की भने अपवाद ठहरिए ।

    भारतमा तालिम लिएर आएपछि उनले फोटोग्राफी सम्बन्धी म्यागजिन, इन्साइक्लोपेडिया लगायतको अध्ययन गरेर आफ्नो सिपलाई तिखार्दै लगे ।

    ०५७ सालको एउटा घट्नाले उनलाई डेनमार्कमा पनि तालिम लिने अवसर जुराइ दियो । त्यसबेला मानवअधिकारको विषयमा नेपाल प्रहरीलाई सहयोग गर्न डीएफआईडीको टोली आएको थियो । उनीहरुलाई विदाइ गर्न तत्कालीन प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबरा विमानस्थल पुगेका थिए । कार्कीले त्यो विदाइको फोटो खिचेर आधा घन्टामै प्रिन्ट गरिदिए ।

    डेनमार्कमा तालिमका क्रममा कार्की ।

    ‘त्यसवेला उनीहरुले मेरो नाम टिपेर लगेका रहेछन्’, कार्कीले अनलाइनखबरलाई सुनाए, ‘पछि ‘क्राइम सिन फोटोग्राफी’मा थप तालिमको लागि बोलाउँदा पो छक्क परेँ ।’

    नेपाल प्रहरीमा ‘क्राइम सिन फोटोग्राफी’का लागि तालिम पाएका र त्यही काम गरेका एक मात्र अधिकृत बने, उनी ।

    हिरासतमा विपीको फोटो

    ०३४ सालमा नेपाली कांग्रेसका नेता विपी कोइराला सुन्दरीजल जेलमा बिरामी परेपछि तत्काली सरकारले प्रहरी तालिम केन्द्रमा ल्याएर राखेको थियो । उपचारका लागि उनलाई विदेश लानु पर्ने भयो, तर पासपोर्ट थिएन ।

    पासपोर्टको लागि फोटो खिच्नु पर्ने भयो । विपीलाई बाहिर फोटो स्टुडियोमा लैजाने कि भनेर छलफल हुन थाल्दा तत्कालिन आईजीपी खड्गजीत बरालले नेपाल प्रहरीकै फोटोग्राफी विभागमा रहेका कार्कीलाई सम्झेछन् । उनलाई तालिम केन्द्रमा बोलाइयो ।

    त्यसबेला विपीसँग बरालले ‘यो केटो फोटोमा नेपालकै एक्सपर्ट हो, दिल्लीमा तालिम लिएर आएको छ’ भनेको कार्की सम्झन्छन् । ‘चिफ सा’बले त्यसो भनिरहँदा विपी ए.. हो भन्दै मुस्कुराए मात्रै’, कार्की भन्छन्, ‘चिफ सा’बले तारिफ त गरिदिनुभयो, तर त्यो खालको फोटोग्राफीमा मसँग खासै अनुभव थिएन ।’

    दरबार हत्याकाण्डपछिको तस्वीर लिँदा

    कार्की तालिम लिएर डेनमार्कबाट फर्केको केही समयमै नारायणहिटी दरबारमा राजा वीरेन्द्रको वंशनाश हुने गरी १० जनाको हत्या भयो । सरकारले अनुसन्धानका लागि तत्कालिन प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटको नेतृत्वमा छानबिन समिति गठन गर्‍यो । उक्त समितिमा विज्ञको रुपमा डीएसपी कार्की पनि सदस्य थिए ।

    घटना भएकै रात दरबारबाट शवहरु निकालिसकिएको थियो । घट्नास्थलको वस्तुस्थिति भने जस्ताको तस्तै थिए ।

    तेस्रो दिन सरकारी अधिकारीहरुले घट्नास्थलमा प्रवेश गर्नु अघि कार्कीले कुनाकुना पुगेर फोटो खिचे । ‘तेस्रो दिन पनि खाने–पिउने चिज र रगतका टाटाहरु जस्ताको तस्तै थिए’, उनी सम्झन्छन्, ‘मैले फोटो खिचेको अपराधस्थलमध्ये त्यो सबभन्दा विभत्स थियो ।’

    उनका अनुसार, गोली चलेको अरु घटनास्थलमा दुई/चार वटा खोकाहरु मात्र भेटिन्थे, तर त्यहाँ खोकाको बिस्कुन थियो । कार्कीले त्यहाँ ६ रोल तस्वीर लिएर त्यहीँ बुझाएँ ।

    चार्ल्स शोभराज समातिने प्रमाण

    ‘विकिनी किलर’को नामले कुख्यात अपराधी चार्ल्स शोभराज अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । भक्तपुरमा ६ पुस ०३२ र त्यसको दुई दिनपछि बानेश्वरमा एक महिलाको हत्या गरेका उनी २ असोज २०६० मा नेपाल प्रहरीको फन्दामा परेका थिए ।

    उनी समातिनुभन्दा दुई दशक अघि बानेश्वरमा विभत्स अवस्थामा एक महिलाको शव भेटियो । हाल महानगरीय प्रहरी वृत्त रहेको ठाउँ छेवैमा बागमती किनारमा भेटिएको शवको सनाखत गर्न प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

    सई कार्कीले शवको फोटाहरु खिचेका थिए । त्यस्तो बेला अनुसन्धानमा कुन चिज महत्वपूर्ण होला भनेर बुद्धि पुर्‍याउनुपर्छ । शरीर चिनिने अवस्थामा नहुँदा पहिचानका लागि कपडा, ट्याटु (यदी भए) र अन्य चिज खिच्नुपर्ने हुन्छ । उनले त्यसै गरे ।

    ‘त्यो बेला मैले खिचेको कपडाको टुक्राहरुको फोटो हेरेर परिवारले शव सनाखत गरे’, कार्की भन्छन्, ‘पछि अनुसन्धानका क्रममा त्यो घटनामा शोभराजको संलग्नता खुल्यो ।’

    जीवनभर निकोन

    कार्कीको जागिरकालमा डीएसएलआर क्यामरा कल्पना बाहिरको जिनिस् थियो । उसबेला हनुमानढोकामा प्रहरीको फोटोग्राफी शाखा थियो । त्यहीँ बसेर कार्कीले निकोन क्यामराका विभिन्न सिरिज चलाए । पेपर साइज अनुसार इन्लार्ज गरेर प्रोजेक्सन विधिबाट फोटो प्रिन्ट हुन्यो ।

    उनले पहिला देशको जुनसुकै ठाउँमा अपराध हुँदा पनि काठमाडौंबाट फोटो खिच्न पुग्नुपर्ने बाध्यता रहेको र माओवादी द्वन्द्वकालमा क्यामरा बोकेर सिभिल ड्रेसमा विभिन्न ठाउँमा गएको पनि सम्झे ।

    अहिले त डीएसएलआर क्यामराले खिचेको फोटो घटनास्थलमै प्रिन्ट गर्न सकिन्छ, त्यो पनि रंगिन । ‘अहिले त प्रहरीको फोटोग्राफी ‘सेरोमनियल’ जस्तो भएको छ, आईजीपी जहाँ जान्छन्, त्यहाँ गएर खिच्ने’, कार्की भन्छन्, ‘कार्यक्रमहरुको तस्वीरले प्राथमिकता पाएको देखिन्छ ।’

    त्यसो त अहिले पनि अपराधस्थलको फोटो प्रायः सोको अफिसरले नै लिन्छन् । कुनै पनि घटना भएलगत्तै सबुत संकलनका लागि तयार पारिएका अधिकारीहरु हुन्, सोको अफिसर ।

    कतिपय घटनामा अनुसन्धान अधिकारीले मोबाइल फोनबाटै फोटो/भिडियो खिच्छन् । कार्यक्रमहरुमा गएर फोटो खिच्ने काम प्रहरी मुख्यालयमा रहेको फोटोग्राफी विभागले गर्छ । वर्षेनि निस्कने ‘पुलिस मिरर’ पत्रिकामा छाप्नका लागि पनि कार्यक्रमहरु छुटाउँदैनन्, उनीहरु ।

    महत्व दिनुपर्ने कुरा

    फरेन्सिक फोटोग्राफी पनि भनिने क्राइम सिन फोटोग्राफी भनेको अपराध अनुसन्धानको प्रारम्भिक वस्तुस्थितिको स्थायी रेकर्ड राख्ने काम हो । यसले अनुसन्धान अधिकारीहरुदेखि अदालतसम्मलाई फाइदा पुर्‍याउँछ ।

    कार्कीका अनुसार घटनालगत्तै लिइएको फोटोले आरोपीलाई घटनासँग जोड्न मद्दत गर्छ । यसमा कमर्सियल फोटोग्राफीमा जस्तो कालोलाई गोरो, गोरोलाई कालो, मोटोलाई पातलो, पातलोलाई मोटो बनाउन विल्कुलै नमिल्ने उनी बताउँछन् ।

    ‘फोटोमा एक–एक सुराक स्पष्टसँग देखिनुपर्छ’, उनी भन्छन्, ‘प्यानारामिक भ्यूमा खिचिएको तस्वीर हेर्दा न्यायाधीशलाई पनि आफैं घटनास्थल पुगे जस्तो अनुभव हुनुपर्छ ।’

    घटनास्थलको तस्वीर खिच्दा के–के कुरामा ध्यान दिनु पर्छ त ?

    फोटोको क्वालिटी हेरेर पनि सक्कली/सक्कली नोट छुट्टयाइन्छ । दायाँ नक्कली, बायाँ सक्कली ।

    ‘पहिलो त अनुसन्धानमा के–के चिजले महत्व राख्छ भन्ने छुट्टयाउन सक्नु पर्छ’, कार्की भन्छन्, ‘मेरो फोटोले अनुसन्धानमा सहयोग गरोस् भन्ने सोचेर खिच्नुपर्छ ।’

    कतिपय सबुतको ‘क्लोज अप’ फोटो महत्वपूर्ण हुने उनले सुनाए । ‘तस्वीर खिचिसकेपछि स्थानीयको हस्ताक्षरसहितको ‘लग सिट’ राख्नुपर्छ’, कार्कीले बताए, ‘जसले गर्दा पछि फोटोमाथि प्रश्न नउठोस् ।’

    उनले निर्मला पन्त हत्या प्रकरणको उदाहरण दिँदै यस्तै स–साना लापरबाहीले नेपाल प्रहरीको साख गिर्दै गएकोमा चिन्ता व्यक्त गरे ।

    ‘बलात्कार मात्र भएको छ भने त सबैकुरा पीडितबाटै आउने भयो’, कार्कीले भने, ‘हत्या समेत भएको छ भने एकदमै संवेदनशील हुनुपर्थ्यो । जबरजस्ती करणीका क्रममा पीडितले गरेको संघर्ष, पीडकले छोडेका सबुत आदिलाई ध्यानमा राखेर फोटो खिच्नुपर्थ्यो, अनुसन्धान हुनुपर्थ्यो ।’

    पूर्वएसपी कार्की अहिले प्राविधिकतर्फका प्रहरीहरुले कम महत्व पाएको देख्छन् । ‘पहिले प्राविधिकहरुलाई प्राथमिकता दिइन्थ्यो’, उनले भने, ‘अहिले अनुसन्धानमा प्रविधि मुख्य पाटो त बन्यो तर, प्राविधिकहरु प्राथमिकतामा परेको देखिन्न ।’

    घटनास्थलको फोटो खिच्ने छुट्टै जनशक्ति विकास गर्दा अपराध अनुसन्धान प्रभावकारी हुने कार्की बताउँछन् । ‘क्राइम सिन फोटोग्राफी अपराध अनुसन्धानको एउटा मुख्य पाटो भएकोले प्रहरी नेतृत्वले प्राथमिकता दिएर जनशक्ति बिकास गर्नुपर्छ’, उनी भन्छन्, ‘यस्ता कुरामा समयमै ध्यान दिएको भए निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा प्रहरी चुक्ने थिएन ।’

    तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर 

    क्राइम सिन फोटोग्राफी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202553 Views

    Politics Behind The Bar

    August 17, 202253 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202537 Views

    Type above and press Enter to search. Press Esc to cancel.