• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्
    Features

    काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्

    गौरव पोखरेलBy गौरव पोखरेलNovember 24, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं क्षेत्र नं. ६ मा पर्ने बानियाँटार क्षेत्रका करिब ७ सय घरधुरी खानेपानीको समस्याले व्याकुल छन् । स्थानीय नरेन्द्रराज पाठकका अनुसार नजिकै रहेको साङ्ले खोला डिप बोरिङको पानी बालाजुसम्म पुग्छ, छेवैको टोलमा आउँदैन । हरेक चुनावमा स्थानीयवासी उम्मेदवारबाट आश्वसन पाउँछन्, पानी पाउँदैनन् ।

    रामेछापकी सुन्दरी खड्का टोखा नगरपालिका–८, बानियाँटारमा बस्न थालेको ८ वर्ष भयो । उनले यो अवधिमा बिरलै मात्र धारामा पानी थाप्न पाएकी छन् ।

    ‘पानी आएको खासै याद छैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘लुगा र भाडाकुँडा धुन बोरिङको पानी छ, खानलाई त किनेरै ल्याउने हो ।’ उनका अनुसार बोरिङको पानी पनि हिउँदमा सुक्छ । बर्खायाममा पानी त आउँछ । तर धमिलो हुन्छ ।

    ‘सुख्खा हुँदा त झन् गाह्रो हुन्छ, धेरै किफायती गरेर चलाउनुपर्छ’, उनी भन्छिन्, ‘लुगा धुनलाई त आकाशको पानी थापेर पनि काम चलाउँछौं ।’ पानी थाप्नका लागि उनले आधा दर्जनजति जर्किन राखेकी छन् ।

    ‘किफायती भएर चलाएन भने गाह्रो परिहाल्छ’, पानी अभावका कारण पाएको दुःखबारे बेलिविस्तार लगाउँदै खड्का भन्छिन्, ‘कहिलेकाहीँ नुहाउन पनि पानी किन्नुपर्छ ।’

    उनको अनुभवमा बोरिङबाट निकालेको पानीले धुँदा लुगासमेत छिट्टै बिग्रिन्छ । ‘भाँडामा पानी राख्दा रातै हुन्छ’, पसल अगाडि राखेको पानी ट्यांकी देखाउँदै खड्काले भनिन्, ‘ऊ त्यो नै हेर्नु न कस्तो भइसकेको छ !’

    खड्काका अनुसार इन्द्रेणी र जाल्पाचोक आसपासका घरपरिवारले पानीको भरपर्दो विकल्प नभएपछि बोरिङ खनेका छन् । यद्यपि, त्यसबाट पनि बाह्रै मास पानी आउँदैन ।

    खड्काको घरबाट केही तल ‘ठूलो इनार चोक’ नै छ । ‘धारामा पानी आउँदैन, इरानमा लुगा धुने हो’, चोकमा रहेको इनारमा भेटिएकी शान्तिदेवी महर्जन भन्छिन्, ‘कहिलेकाहीँ भाँडाकुँडा धुन र नुहाउन पनि इरानकै पानी घर लैजान्छु ।’

    ठूलो इनार चोकस्थित इनार । तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

    इनारले आसपासका वासिन्दालाई केही सहज त भएको छ । तर, राजधानीमा बसेर पनि गाग्रीमा पानी बोक्नुको दुःख सुनाउन उनीहरुलाई असहज लाग्छ ।

    त्यही कारण होला, काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भीमसेनदास प्रधान आइतबार घरदैलो अभियानमा यो क्षेत्र पुग्दा एक स्थानीय युवक आक्रोशित बने ।

    ‘पानी एउटा थोपो हुँदैन, भोट मात्र मागेर हुन्छ !’, घरदैलो टोलीसँग भेट हुनेवित्तिकै मोटरसाइकल रोकेर उनी झोँक्किए ।

    क्यामराको नजरमा परिरहेको बुझेका प्रधानले उनको कानमा खुसुक्क ‘अब गर्ने’ भन्दै सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका विष्णुभक्त तिमिल्सिनातिर संकेत गरे ।

    तिम्सिल्सिनाले ‘आफूलाई भोट दिन’ आग्रह गर्दै पानीको समस्या समाधान गर्ने आश्वासन दिए । अलि परतिर भेटिएका अर्का एक पुरुषले पनि ‘पानी खुवाउनुपर्‍यो’ भन्दै गुनासो राखे ।

    ‘कति चोटी भइसक्यो तपाईंलाई भनेको’, उनी आजित सुनिन्थे । स्थानीय अरुण विष्टका अनुसार नेताहरुले चुनावमा मात्रै पानीको समस्या समाधान गर्ने आश्वासन दिन्छन् ।

    उम्मेदवारसँग खानेपानीको समस्याबारे गुनासो गर्दै स्थानीय ।

    ‘अस्ति स्थानीय चुनावमा पनि पानी आउँछ भनेर भोट मागे, तर केही गरेका छैनन्’, विष्टले अनलाइनखबरसँग भने, ‘अहिले प्रतिनिधिसभामा भोट माग्न आउनेले पनि दुईपटक पानी ल्याउँछु भनिसके, तर माखो मारेनन् ।’

    स्थानीयले पानीको समस्या समाधानका लागि पटकपटक आवाज उठाए पनि कसैले नसुनेको विष्ट बताउँछन् ।

    ‘कहिलेकाहीँ भाडा धुन र नुहाउन किनेको पानी प्रयोग गर्नुपर्छ’, विष्टले थपे, ‘म यहाँ २०७२ सालदेखि बसेको छु, त्यतिबेलादेखि नै पानी आएको छैन ।’

    विगतमा महिना दिन वा १५ दिनमा एकपटक पानी आउने गरेको सुनेको विष्ट बताउँछन् । ‘तर मलाई चाहिँ थाहा छैन, अहिले थोपो पानी झर्दैन’, उनी थप्छन् ।

    भूकम्प गएपछि साङ्ले खोला डिप बोरिङमा २४५ मिटर तलसम्म गाडेको पम्प ३५ मिटरमा भाँचियो, पहिले जसरी पानी आउनै छाड्यो । अरु वोरिङ वा परियोजनासँग कनेक्सन नहुँदा टोल पुरै सुख्खा भयो । – नरेन्द्रराज पाठक, स्थानीय

    काठमाडौंमा खानेपानीको मुख्य स्रोत भनेको सुन्दरीजल र मेलम्ची हो । तर, यो क्षेत्रमा दुवै स्रोतको पानी जोडिएको छैन । स्थानीयवासी मेलम्ची जोडेर भए पनि पानी ल्याइदिन जनप्रतिनिधिहरुसँग माग गरिरहेका छन् ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको परियोजना विकास निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाका अनुसार मेलम्चीको पानी अहिले मण्डिखाटार र कपनबाहेक ‘रिङरोड’भित्र मात्रै छ ।

    क्षेत्रबाट दुईपटक निर्वाचित र हाल पुनः उम्मेदवारी दिएका कांग्रेसका भीमसेनदास प्रधानले दोस्रो चरणमा मेलम्चीको पानी ल्याउन पहल गरिरहेको अनलाइनखबरसँग बताए ।

    तर सापकोटाको भनाइमा दोस्रो चरणमा जोरपाटी, भक्तपुर र कीर्तिपुरमा मात्रै मेलम्चीको पानी विस्तार गर्न अध्ययन भएको छ ।

    ‘दोस्रो चरणका लागि एसियन डेभलपमेन्ट बैंक (एडीबी) सँग ऋण लिने कुरा अघि बढेको छ’, सापकोटाले अनलाइनखबरसँग भने, ‘सम्झौता भयो भने २०२३ को जनवरीदेखि काम हुन्छ । त्यसपछि बल्ल उपत्यकाको अन्य क्षेत्रका लागि अध्ययन हुन्छ ।’

    नरेन्द्रराज पाठक, स्थानीय

    स्थानीय उपभोक्ता समितिका अध्यक्षसमेत रहेका नरेन्द्रराज पाठकका अनुसार झण्डै ७ सय घरधरी अहिले खानेपानीको समस्याले व्याकुल छ । उनको भनाइमा पानी पुर्‍याउन २०६२/६३ सालमा नजिकै रहेको साङ्ले खोलामा डिप बोरिङ गाडिएको थियो ।

    ‘त्योभन्दा अघि वस्ती पनि सानो थियो, माथिबाट आउने एक/डेढ मिटरको पाइपको पानीले नै पुग्थ्यो’, उनले अनलाइनखबरसँग भने, ‘डिप बोरिङ बनाउने बेला चाहिँ खानेपानी आयोजनाले बालाजुसम्म पानी लाने प्रस्ताव गरेको थियो ।’

    तर टोलीका लागि पानी पर्याप्त हुने अवस्थामा मात्र अन्यत्र लैजान दिने सहमति भएको पाठक सम्झन्छन् । हाल बोरिङको सबै पानी बालाजुतिर जान्छ । नजिकै रहेको बस्तीको चाहिँ बिजोग छ ।

    ‘२०७२ सालमा भूकम्प गएपछि यो समस्या बढेको हो’, पाठक भन्छन्, ‘त्यसबेला २४५ मिटरसम्म गाडेको पम्प ३५ मिटरमा भाँचियो, त्यसपछि पहिले जसरी पानी आउनै छाड्यो ।’

    उनका अनुसार भूकम्पअघि ४३ हर्सपावरको मेसिन राखेर पानी निकालिएको थियो । पानीको स्रोत कम हुँदै गएपछि २५ हर्सपावरको मेसिन राखिएको थियो ।

    ‘मेसिन पनि अर्को राखेपछि त पानी पूरै बन्द भयो’, उनले भने, ‘यो क्षेत्रमा आउने पानीको अरु कुनै वोरिङ वा परियोजनासँग कनेक्सन नहुँदा पुरै सुख्खा भयो, गाउँ श्रीलंका टापुजस्तो भयो ।’

    पाठकका अनुसार अहिले यो टोलका वासिन्दाको उम्मेदवारहरुसँग एउटै अपेक्षा छ, जसले जितेपनि खानेपानीको समस्या समाधान गरिदिओस् ।

    पाठक भन्छन्, ‘हामीलाई वैकल्पिक व्यवस्था हुनुपर्छ कि त हिजो खानेपानी आयोजनाले गरेको सहमतिअनुसार बोरिङको पानी बालाजु पठाउन बन्द गर्नुपर्छ ।’

    यो क्षेत्रका वडाध्यक्ष रमेश खत्री चाहिँ विगतको तुलानामा पानी बढी आइरहेको दाबी गर्छन् । ‘अहिले ग्राण्डी भिल्लालगायतका क्षेत्रमा नयाँ पम्प पनि राखेका छौं, तर हालै मेसिन बिग्रिएको छ’, खत्रीले भने, ‘जाल्पा चोकबाट केही परसम्म राम्रो पानी आएको छ ।’

    उनले बोरिङ राखिएको ठाउँमा पानीको सतह घट्दै गएका कारण केही क्षेत्रमा समस्या देखिएको चाहिँ स्वीकारे ।

    ‘खानेपानीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘तपाईंले भनेको क्षेत्रको पानी बालाजु जान्छ भन्ने मैले पनि आयोजनाबाट सुनेको हुँ, हेरेको त छैन ।’

    काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्
    जस्ट इन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.